• शुक्रबार-मङ्सिर-१४-२०८१

प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ


इस्लामाबाद, १३ मङ्सिर (रासस/एएफपी) : जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनमा भएको मृत्युको अनुसन्धान गर्ने एक पाकिस्तानी पत्रकारलाई आतङ्ककारी विरोधी कानूनअन्तर्गत पक्राउ गरिएको छ ।

 

यस हप्ता व्यापक सुरक्षा कारबाहीमा निष्कासन हुनुअघि सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै १० हजारभन्दा बढी पदयात्रा गर्नेहरूले इस्लामाबादमा प्रदर्शन गरेका थिए ।

 

सरकारले कम्तीमा पाँच सुरक्षाकर्मी मारिएको बताएको छ भने खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीले सुरक्षाकर्मीद्वारा कम्तीमा १० जनाको गोली हानी हत्या गरेको आरोप लगाएको छ । सरकारका मन्त्रीहरूले ती आरोपहरू अस्वीकार गरेका छन् ।

 

लोकप्रिय युट्युब च्यानलका साथ टिभी च्यानल नियो न्युजका प्रस्तुतकर्ता मतिउल्लाह जान र अर्का एक पत्रकारले इस्लामाबादको पिआइएमएस (पिम्स) अस्पतालमा मृत्यु सङ्ख्याको पुष्टि गर्न खोज्दा उनीहरूलाई बुधबार साँझ पक्राउ गरिएको थियो ।

 

“उनीहरूले मृत्युको कूल सङ्ख्या पत्ता लगाउने प्रयास गरिरहेका थिए”, उनीहरूका वकिल इमान मजारीले भन्नुभयो, “उनीहरूले आफ्नो पत्रकारिताको कर्तव्य पूरा गर्दै थिए ।” उहाँका अनुसार अर्का पत्रकारलाई छोडिएको छ तर जान अझै हिरासतमा हुनुहुन्छ ।

 

इस्लामाबाद प्रहरीले जानमाथि लागु औषध सेवन र एक अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ । “ड्युटीमा रहेका एक प्रहरी कर्मचारी हत्याको प्रयास गरेको आरोपमा आतङ्कवाद विरोधी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ”, प्रतिवेदनमा भनिएको छ ।

 

मजारीले जानलाई बिहीबार दिउँसो इस्लामाबादको आतङ्ककारी विरोधी अदालतमा पेश गरिएको र दुई दिनका लागि हिरासतमा राखिएको बताउनुभयो । “यसको कारण तपाईँ सबैलाई थाहा छ, म शवहरूको काममा संलग्न थिएँ”, जानले अदालतमा प्रवेश गर्दा पत्रकारहरूलाई भन्नुभयो ।

 

असहमति खारेज गर्न व्यापक आतङ्कवाद विरोधी कानून प्रयोग गरेकामा अधिकार पर्यवेक्षकहरूले पछिल्ला पाकिस्तान सरकारहरूको आलोचना गरेका छन् । पाकिस्तान मानवअधिकार आयोगले जानको ‘तत्काल र बिना शर्त रिहाइ’ को माग गरेको छ । “पत्रकारहरूलाई चुप लगाउने यो अधिनायकवादी रणनीति बन्द हुनुपर्छ”, सङ्गठनले सामाजिक सञ्जाल साइट एक्समा एक विज्ञप्तिमा भनेको छ । जानको पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठानलाई आलोचना गर्ने इतिहास छ । यसलाई विश्लेषकहरूले मुलुकका नागरिक नेताहरूको उदय र पतन प्रभावित पार्ने बताउँछन् ।

 

सन् २०२० मा खानको चार वर्षको कार्यकालको बीचमा उहाँलाई सैनिक पोशाकधारीहरूले केही समयका लागि हिरासतमा पनि राखेका थिए । पत्रकार संरक्षण समितिको एसिया कार्यालयले ‘अधिकारीहरूले जानको सुरक्षा र तत्काल रिहाइ सुनिश्चित गर्नुपर्दछ’ भनेको छ । इस्लामावादमा तीन दिनसम्म चलेको अशान्तिका क्रममा एक हजारभन्दा बढी पदयात्रा गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलले भिडमा ‘गैरकानूनी र अत्यधिक बल प्रयोग’ गरेको बताएको छ । तर सूचनामन्त्री अत्ताउल्लाह तरारले बुधबार पत्रकारहरूलाई भन्नुभयो, “मानिसहरूको मृत्यु भएको भन्दै झूट बोलिरहेका छन् ।”

 

प्रदर्शनकारीहरूको मुख्य माग खानको रिहाइ थियो । उहाँ सन् २०२३ अगस्टदेखि जेलमा हुनुहुन्छ र फेब्रुअरीको चुनावमा उहाँको पुनरागमन रोक्नका लागि लगातार कानूनी मुद्दाहरूमा फस्नुभएको छ ।

 

पिटिआईले चुनावमा अन्य कुनै पार्टीभन्दा बढी सीट जितेको थियो तर सैन्य प्रतिष्ठानसँग नजिक मानिने पार्टीहरूको गठबन्धनद्वारा सत्ताबाट बाहिर गरिएको थियो । पार्टीले मतदानमा धाँधली भएको आरोप लगाउँदै नियमित विरोध प्रदर्शन गरेको छ तर यो हप्ता मतदानपछि राजधानीमा सबैभन्दा ठूलो प्रदर्शन भयो ।
–––

 

प्रतिकृया दिनुहोस