• बुधबार-कार्तिक-७-२०८१

पूर्ण बहादुरको सारङ्गी’ को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । कात्तिक १५ गते रिलिज हुने नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ । निर्माणपक्षले बुधबार सार्वजनिक गरिएको यो गीत ‘दोहोरी ब्याटल’को रहेको छ ।

 

गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ । नवराज पन्तको शब्द रचना रहेको गीतमा आशिष स्वयंको संगीत छ । भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलगायत छन् ।

 

ब्याटलमार्फत निर्माण पक्षले सिनेमाको गीतमा केही फरकपन दिन खोजेको छ । ब्याटलमा महिला र पुरुषका दुई टिम छन् । ब्याटल महिलाले राखेको सर्तसहित सुरु गरिएको छ । महिला टिमले जिते अन्जना बराइलीको घरमा विजय बराल हली बस्नुपर्ने र पुरुष टिमले जिते विजयसँग अञ्जनाले बिहे गर्नुपर्ने ब्याटलको सुरुमा सर्त छ ।

 

सर्तमा दुवै पक्ष मञ्जुर भएपछि सुरु हुने दोहोरी ब्याटलमा युवायुवतीको प्रेम, विवाह, घरजम, सन्तान, परिवार र सुखजस्ता पारिवारिक पक्ष समेटिएको छ । रोधीको पनि छनक यो ब्याटलमा देखिन्छ । ब्याटलमा महिलापक्षले हारेपछि सर्तमा मञ्जुर भएको गीत र यसको भिडियोमा देखिन्छ । तर, अन्जनाले ब्याटल जानीजानी हारेजस्तो देखिन्छ ।

 

केही दिन अघि सार्वजनक भएको ट्रेलरले आम दर्शक र फिल्मकर्मीको मन जित्न सफल भएको थियो । ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ ।

 

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

 

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् । चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको छ । संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।


चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

 

भिडियो ः


 

प्रतिकृया दिनुहोस