काठमाडौं । नेपाली सेनाले जङ्गी अड्डामा आयोजना गरेको दुई दिने “केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक–२०८२” सम्पन्न भएको छ। २०८२ चैत्र २० गते आयोजित समापन कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बैठक समापन गर्नुभएको हो।


सेनाका अनुसार बैठकमा नेपाली सेनाका विभिन्न फर्मेशन तथा युनिटहरूको संस्कृति, परम्परा, रीतिरिवाज र अनुशासनलाई सुदृढ बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। विशेषगरी प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरू, जो युनिटस्तरमा अनुशासन र व्यवस्थापनका प्रमुख आधार मानिन्छन्, उनीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा नीतिगत तथा व्यवहारिक पक्षमा केन्द्रित बहस भएको थियो।
बैठकका क्रममा कार्य सम्पादनका दौरान देखिएका चुनौतीहरू, सैनिक कल्याणसम्बन्धी मुद्दाहरू तथा संगठनभित्र सुधारका लागि आवश्यक सुझावहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले सैनिक जीवनशैली, अनुशासन कायम राख्ने अभ्यास, नेतृत्व विकास तथा तल्लो तहसम्म नीतिगत निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपायबारे आफ्नो अनुभव र धारणा राखेका थिए।
यसअघि २०८२ चैत्र १९ गते बलाध्यक्ष रथी श्री प्रदीप जङ्ग के.सी.ले उक्त बैठकको उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रमा सेनाभित्र समन्वय, अनुशासन र कार्यक्षमता अभिवृद्धि गर्न यस्ता बैठकहरूको महत्त्व औंल्याइएको थियो।
समापन कार्यक्रममा रथीवृन्द, अधिकृतहरू तथा देशभरका विभिन्न युनिटहरूबाट आएका करिब ९० जना प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले यस्ता समन्वयात्मक बैठकहरूले संगठनभित्र अनुभव आदानप्रदान, नीतिगत स्पष्टता तथा कार्यक्षमतामा सुधार ल्याउने विश्वास लिएको जनाएको छ।




