🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

FAKE RESCUE प्रकरण बारेकाे फेक समाचारप्रति CIB को कडा आपत्ति

काठमाडौं । पर्यटकसँग सम्बन्धित तथाकथित “FAKE RESCUE” प्रकरणबारे प्रकाशित भ्रामक समाचारप्रति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गम्भीर ध्यानाकर्षण जनाएको छ। पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सगरमाथा क्षेत्रमा कार्यरत पथप्रदर्शक (गाईड)हरूले पर्यटकहरूको खानामा विषाक्त पदार्थ मिसाएर बिरामी बनाई जबर्जस्ती उद्धार (FAKE RESCUE) गराएको भन्ने समाचार सार्वजनिक भएपछि CIB ले आधिकारिक धारणा सार्वजनिक गरेको हो।

CIB ले जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्मको अनुसन्धानका क्रममा पर्यटकहरूको खानामा कुनै विषाक्त पदार्थ मिसाइएको पुष्टि हुने तथ्य फेला नपरेको स्पष्ट पारेको छ। उक्त विषय अप्रमाणित र आधारहीन रहेको जनाउँदै ब्यूरोले यस्ता सामग्रीलाई उद्धृत गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नु गैरकानूनी कार्य भएको उल्लेख गरेको छ।

प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा २०८२ चैत २० गते जारी विज्ञप्तिमा सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य प्लेटफर्महरूलाई तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण नगर्न-नगराउन आग्रह गरिएको छ। साथै, अनुसन्धान जारी रहेको र प्रमाणबिनाका सामग्रीले देशको पर्यटन क्षेत्रको छवि समेत प्रभावित पार्न सक्ने भन्दै सचेत रहन अनुरोध गरिएको छ।

CIB का अनुसार “FAKE RESCUE” सम्बन्धी अनुसन्धान भइरहेको भए पनि त्यसलाई अतिरञ्जित र अपुष्ट दाबीका आधारमा फेक समाचार प्रचार गरिँदा जनमानसमा भ्रम सिर्जना हुनुका साथै नेपालको पर्यटन उद्योगमा नकारात्मक असर पर्न सक्ने जोखिम रहेको छ।

प्रहरीले सबै सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिताको मापदण्ड पालन गर्दै प्रमाणमा आधारित सूचना मात्र सार्वजनिक गर्न आग्रह गरेको छ भने यस्ता भ्रामक सामग्रीको प्रकाशन/प्रसारणमा संलग्नमाथि आवश्यक कानुनी कारबाही हुन सक्ने चेतावनी समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *