• शनिबार-कार्तिक-३-२०८१

स्थानीय तहले सङ्कलन गरेको करको अधिकतम हिस्सा उपयोग गर्न पाउनुपर्छ : उपसभामुख  रानामगर

 

सिन्धुपाल्चोक, २ कात्तिक : उपसभामुख इन्दिरा रानामगरले स्थानीय सरकारले सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीय तहले नै उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ । 

 

आज सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको पाँचपोखरी महिला ट्रेल रेस प्रतियोगिताको समापन कार्यक्रममा उहाँले स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेको प्राकृतिक स्रोतसाधनको उपभोग र सोबाट सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीयस्तरमै विकास निर्माणलगायत नागरिकको जीवनस्तर उकास्न प्रयोग गर्न पाउनुपर्ने धारणा राख्नुभएको हो । 

 

उपसभामुख रानामगरले ग्रामीण क्षेत्रमा किसानले उत्पादन गर्ने तरकारी, अन्नबालीलगायत खाद्यान्नलाई स्थानीय सरकारको समन्वयमा बजारीकरण गर्नसके किसानले आफ्नो पसिनाको मूल्य र आमउपभोक्ताले पनि स्वस्थ्यकर खाने कुरा  उपभोग गर्न पाउने हुँदा स्थानीय तहले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो । 

 

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले पर्यटकीयस्थल पाँचपोखरीलाई खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यमा प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रतियोगितामार्फत पाँचपोखरीको परिचय देश विदेशमा प्रख्यात हुँदै गएको र अब पर्यटकको आवागमनमा वृद्धि भई स्थानीयको जीवनस्तरमा टेवा पुग्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतियोगितामा चार हजार एक सय मिटर उचाइको पाँचपोखरीदेखि एक हजार सात मिटर उचाइमा रहेको रैथाने पोखरीसम्मको २८ किलोमिटर दौडको उपाधि खोटाङकी निर्मला राईले जित्नुभएको छ । ५० जना महिला सहभागी २८ किलोमिटर लामो उक्त दौड उहाँले दुई घण्टा २८ मिनेट २९ सेकेण्डमा पूरा गर्नुभएको थियो । 

 

यस्तै दुई घण्टा ४९ मिनेटमा दौड पार गर्दै नेपाल पुलिस क्लबमा आबद्ध ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा दोस्रो र दुई घण्टा ५८ मिनेटमा दूरी पार गर्दै सिन्धुपाल्चोक हेलम्बू गाउँपालिकाकी नितु तामाङ तेस्रो हुनुभएको छ । मेलम्ची नगरपालिका–८ कि अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा दौड पूरा गर्दै चौथो र रोल्पाकी आस्मा विकले तीन घण्टा १८ मिनेटमा दौड पूरा गरी पाँचौँ हुन सफल हुनुभयो ।

 

यसअघि सोही रुटमा सम्पन्न पाँचपोखरी हाफ म्याराथन प्रतियोगिताको महिलातर्फ धादिङकी रसिला तामाङले दुई घण्टा ४४ मिनेट ४३ सेकेण्डमा उक्त दूरी पार गर्नुभएको थियो । आज सम्पन्न प्रतियोगितामा प्रथम राईले उक्त रेकर्ड तोड्नुभएको छ । प्रतियोगिताका विजेताले क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

 

महिलाको क्षमता विकाससँगै आत्मनिर्भरतामा जोड दिनका लागि ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाका  संस्थापक अध्यक्ष माया गुरुङले बताउनुभयो । उहाँले प्रतियोगितालाई आगामी वर्षहरूमा थप स्तरवृद्धि गर्दै निरन्तरता दिइने जानकारी दिनुभयो ।
---

 

प्रतिकृया दिनुहोस