• मंगलबार-असोज-२२-२०८१

यात्रुसँग बढी भाडा असुल्ने ३१ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा असुल्ने यातायात व्यवसायीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

आज असाेज २२ गते मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  


यस्तै हिजो असाेज २१ गते बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको जानकारी ट्राफिक प्रहरीले दिएकाे छ ।


चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा २ ओटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।


चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजता ट्राफिक प्रहरीद्वारा प्रदान गरिदै आएको छ ।

 

चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना-२०८१ को प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको ट्राफिक प्रहरीले बताएकाे छ ।


यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितता जस्ता विषयमा विशेष केन्द्रित भएको समेत प्रवक्ता कार्कीले जानकारी दिए ।


असाेज १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्री गर्दै गरेको अवस्थामा टिकटको ठेली सहित एक जनालाई नियन्त्रमा लिएर आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोंगबुको पठाइएकाे थियाे ।


यात्राका क्रममा कसैले अनावश्यक दुख: हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिकप्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरिएको छ ।

 

प्रतिकृया दिनुहोस