• शनिबार-असोज-५-२०८१

चन्द्रागिरिका आठ वडा ‘बालश्रम मुक्त वडा’ घोषणा


काठमाडौँ, ५ असोज : चन्द्रागिरि नगरपालिकाले ‘बालश्रम मुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रम मुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रम मुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं ३ थानकोट, वडा नं ५किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ७चेकपोष्ट , वडा नं ८ मातातीर्थ, वडा नं ११ सतुंगल र वडा नं १४ नयाँ नैकापलाई ‘बालश्रम मुक्त वडा’ घोषणा भइसकेका छन् । 

 

यसक्रममा आज  चन्द्रागिरि –१० सतुंगललाई बालश्रममुक्त घोषणा गरियो । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा गरिएका छन् । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ अबलम्बन गरेको छ । साथै नगरापालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि बिबिध कार्यक्रम सञ्चालन गरिरहेको छ । 

 

बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले  आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि –१० लाई  ‘बालश्रम मुक्त वडा घोषणा’ गर्दै बाश्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको र घोषणा पछिको दीगोपनमा काम गर्नुपर्छ भन्नुभयो । 

 

बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छन् । 

 

यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने छ । कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, वडा १० का वडाध्यक्ष शिवकुमार महर्जन , नगरपालिकाका विषयगत शाखाका प्रमुख ,नवज्योती महिला समूह,  विभिन्न बालक्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागीता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले ‘बालश्रम मुक्त वडा’पछिकोे दीगोपनका लागि स्थानीय पालिका, संघसस्थाको सहकार्य आवश्यक रहेको र यसका लागि नगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो । 

 

अवसरमा चन्द्रागिरि –१० का वडाध्यक्ष महर्जनले बालश्रम मुक्त घोषणासम्म आइपुग्न पु¥याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दीगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिनुभयो । चन्द्रागिरि –१० का वडा सदस्य भेषनाथ उपाध्यायले समृद्ध वडा बनाउन विभिन्न काम भैराखेको बताउनुभयो ।  

 

यस अगाडि बाजागाज सहितको निस्केको ¥याली घोषणासभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका , १० नं वडा, काठमाडौँलाई बालश्रम मुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रनिधि, विषयगत समिति, विद्यालय, बालक्लव, सञ्चारकर्मी, उद्योग व्यवसायी, संघसस्था तथा सरोकारवालाहरु बालश्रम मुक्त वडालाई नियमितता दिन र बालश्रम निवारण गर्न प्रतिवद्धछौ’भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो । बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ । 
–––

 

प्रतिकृया दिनुहोस