• बुधबार-असोज-२-२०८१

रुकुम–पश्चिमको मुसिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


त्रिवेणी (रुकुम–पश्चिम) २७ भदौ : यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार नौ सय ९५ जनाले सेवा लिएका छन् । मुसिकोट नगरपालिकाभित्रका विभिन्न रोगका बिरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो । शिविर तीन दिनसम्म सञ्चालन भएको  थियो । 

 

निःशुल्क स्वास्थ्य शिविरबाट अपेक्षा गरिएभन्दा धेरै व्यक्तिले सेवा लिएको आयोजक संस्था रुपान्तरण नेपालका अध्यक्ष मुकुन्द शमाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन चार सय ५७, दोस्रो दिन छ सय ५२ र तेस्रो तथा अन्तिम दिन सात सय ८५ सेवाग्राहीले सेवा लिएका हुन् । स्वयंसेवकका रुपमा खटिएका ५० र अन्य ५१ जना गरी शिविरबाट कुल एक हजार नौ सय ९५ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो । 

 

मुसिकोट नगरपालिकालाई लक्षित गरेर शिविर आयोजना गरिए पनि शिविरमा जाजरकोट, रोल्पा, रुकुम पूर्वसम्मका बिरामीले सेवा लिएको  अध्यक्ष शमाले बताउनुभयो । शिविरबाट उपचार सम्भव नभएका २० बिरामीलाई नेपालगञ्ज र १० बिरामीलाई जिल्ला अस्पताल सल्ले रेफर गरिएको छ । जसमा हाड्जोनीै र स्त्री रोगसम्बन्धी बिरामी छन् । शिविरमा नाम दर्ताको लागि रु एक सय दर्ता शुल्क रहेकामा बिरामी जाँच तथा औषधि वितरण निःशुल्क गरिएको थियो ।

 

शिविरबाट स्त्री रोग, बाल रोग, हाड जोर्नी, हात घुँडा, कम्मर, नसाको जाँच तथा उपचार गरिएको थियो । त्यस्तै शरीरका विभिन्न अङ्गको दुखाइ, दाँतसम्बन्धी सेवा, हाइड्रोशीलसम्बन्धी समस्याको जाँच तथा उपचार  गरिएको  थियो । शिविरमा दुई नेपाली र २० सिंगापुरका गरी विशेषज्ञ सहित २२ चिकित्सकले सेवा प्रदान गरेको शर्माले जानकारी दिनुभयो । 

 

ग्रेस मिसन सिंगापुरको आर्थिक सहयोग, मुसिकोट नगरपालिकाको समन्वयमा रूपान्तर नेपाल तथा ‘सिएसडिसी’ले स्वास्थ्य शिविरको आयोजना गरेका थिए । 
---

 

प्रतिकृया दिनुहोस