• शनिबार-भदौ-२२-२०८१

माओवादीले प्रचण्डकै निर्देशन किन लत्याए !

 

काठमाडौं । विगत ३६ वर्षदेखि निरन्तर माओवादी केन्द्रको अध्यक्ष रहेका  पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अब आफ्नै कार्यकर्ताले नटेर्ने दिन पनि आएको छ । सुदूरपश्चिम प्रदेशको सन्दर्भमा त्यही देखिएको छ । प्रचण्डले लिखित र मौखिक गरी झन्डै ४ पटकसम्म सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता फेर्न निर्देशन दिएका थिए ।


 स्थायी समिति सदस्यसमेत रहेका खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएपछि माओवादीको सुदूरपशिचम प्रदेशमा विवाद बढेको थियो । पार्टीभित्रको लडाइमा भट्टलाई हटाईएको थियो । त्यतिबेला भट्टलाई हटाउन प्रचण्डको पनि ग्रिनसिग्नल भएको बताइन्छ । तर, अहिले फेरि भट्टलाई नै बनाउन प्रचण्डले दबाब दिएका छन् । 


 संसदीय दलका नेता मकर धामी भने प्रचण्डको उक्त निर्देशन मान्न बाध्य नभएको तर्क गरिरहेको खबर छ । ११ सदस्यीय संसदीय दलमा दुवै पक्षमा ५ जना रहेका छन् । एकजना सभामुख भएका कारण एकातिर ६ जना हुने वित्तिकै संसदीय दलको नेता परिवर्तन संभव हुनेछ । त्यसैले  धामी पक्ष भने भट्टलाई ६ जना पु¥याउनु अनि नेता बन्नु भन्ने तर्क  गर्न थालेका छन् । त्यसैले, अहिले ३६ वर्षे अध्यक्ष प्रचण्ड तनावमा परेको चर्चा छ । 


 प्रचण्डको निर्देशन नमान्नेमात्रा होइन, यो पक्षले इञ्चार्ज गिरिराजमणि पोखरेललाई हटाउनुपर्ने माग पनि राखेको छ । संसदीय दलको नेता फेर्ने भए इञ्चार्ज पनि फेर्नुपर्ने अडान राखेका छन् । त्यसमा प्रचण्डसँग निकट मानिएका तर वर्षमान पुनको गुटमा रहेका सरल भाटसहितको टीम सक्रिय भएको छ । त्यसो त, भट्ट नेता जनार्दन शर्माको टीममा भएका कारणले पनि अहिले पुनसहितको टोली उनलाई नेता बनाउन रोक्ने खेलमा रहेको माओवादीभित्र चर्चा छ । त्यसैले कतिपयले भने सुदूरपश्चिममा पुन र शर्माको लडाइँ भनेर पनि व्याख्या गरिरहेका छन् । तर, पार्टीको सिनियर नेता भट्टलाई बाइपास गर्न नहुने पक्षमा भने अहिले तर्क उठ्न थालेको छ । 


  यस्तै तर्क र शर्मालाई फकाउनका लागि पनि प्रचण्डले भट्टलाई संसदीय दलको नेता बनाउने प्रयास गरेका हुन् । तर, प्रचण्डको निर्देशन नै अस्वीकार गर्ने शक्ति सुदूरपश्चिमका संसदीय दलका नेता धामीसहितका सांसदलाई कसरी प्राप्त भइरहेको छ ? भन्ने चाहिँ गम्भीर प्रश्न उठेको छ । स्रोत भन्छ, प्रचण्डले २०८१ असार २ गते नै पत्र लेखेर निर्देशन दिएका थिए । त्योभन्दा पहिला काठमाडौंमा बोलाएर सांसदहरुलाई निर्देशन दिएका थिए । त्यसपछि पनि पटकपटक भनेका छन् । अनि, गत साता सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रममा पुगेर पनि निर्देशन दिए । तरपनि उनीहरुले अध्यक्ष प्रचण्डलाई टेरेका छैनन् । त्यसैले, अहिले प्रचण्ड कमजोर हुन थालेको कुरा चर्चाको विषय पनि बनेको छ ।  


  भट्ट पहिला संसदीय दलको नेतामात्र होइन सुदूरपश्चिमको इञ्चार्जसमेत रहेका थिए । यी दुवै पदबाट प्रचण्डकै ग्रिनसिग्नलबाट भट्टलाई विस्थापित गरिएको थियो । इञ्चार्जबाट भट्टलाई  हटाएर गिरिराजमणि पोखरेल लगिएको थियो । अनि संसदीय दलको नेताबाट पनि भट्टलाई हटाइएको थियो । एकप्रकारले विवादमा परेको यी सब घटनामा प्रचण्ड भने रमिते बन्दै आएका थिए । प्रचण्ड अहिले  बल्ल संसदीय भट्टलाई दलको नेता फिर्ता गराउने प्रयासमा लागेका हुन् । (साँघु साप्ताहिक, २०८१ भदौ १७) 
 

प्रतिकृया दिनुहोस