• आइतबार-भदौ-२३-२०८१

पूर्वसचिव मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक

 

काठमाडौँ, १२ साउन । पूर्वसचिव गोपी मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक भएको छ । यो उहाँको पहिलो कथासङ्ग्रह र समग्रमा आठौँ कृति हो ।

 

आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले कथासङ्ग्रहको लोकार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कथासङ्ग्रह समाजको यथार्थ अवस्था चित्रण गर्ने उच्चकोटीको कृति रहेको बताउनुभयो । सेवा निवृत्त हुनुभएका पूर्वप्रशासकले लेखेका कृतिले समाज र राष्ट्रलाई फाइदा पुग्ने साहित्यकार काइँलाको भनाइ थियो । पछिल्लो समयमा साहित्यकार र लेखकले कसरी किताब बिक्छ भन्नेमा मात्र ध्यान दिई पाठकलाई के बोध होला भन्ने नै सोच्न छोडेकामा उहाँको आपत्ति छ ।

 

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले पूर्वप्रशासकले लेखनका माध्यमबाट आफ्ना अनुभव देश र समाजलाई दिनसक्ने बताउनुभयो । सेवाकालमा कानुन पालना गराउने कर्मचारी आलोचनाको पात्र हुने भएकाले त्यस्ता अनुभवलाई पनि पुस्तकमा उतारी भावी पुस्तासम्म लैजान सकिने उहाँको भनाइ थियो । 

 

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माले प्रशासन सेवामा हुँदा आफू अनुशासनमा बसेर कर्मचारीलाई पनि अनुशासनमा राख्ने कथाकार मैनालीले कथासङ्ग्रहमा मानवीय विषयलाई समेट्नु भएको बताउनुभयो । 

 

वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेले नेपाली समाजको यथार्थलाई कथामा उतारेकाले कथासङ्ग्रह पठनीय बनेको बताउनुभयो । उहाँले नेपालको संस्कृतिको झलक, प्रशासनभित्रको भ्रष्ट मानसिकता र असल पक्ष पनि कथामा समेटिएकाले समाजको यथार्थ झल्काउन कथासङ्ग्रह सफल भएको उहाँको कथन थियो । जन्मस्थल रोशी खोला वरपरको सन्दर्भ जोडेर कथाकार मैनाली आञ्चलिकताको प्रयोग गर्न पनि सफल हुनुभएको उल्लेख गर्नुहुँदै चालिसेले पहिलो कथासङ्ग्रह भएर पनि उत्कृष्ट रहेको टिप्पणी गर्नुभयो । 

 

नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले पछिल्लो समय लेखनका धेरै विषय भए पनि लेखकको नजरमा पर्न नसकेको धारणा राख्नुभयो । नेपाली चलचित्रका नायक सरोज खनालले साहित्य र कला एउटै पाटो भएको उल्लेख गर्नुहुँदै साहित्यकारले लेखेकै आधारमा कलाकारले प्रस्तुति गर्ने बताउनुभयो । आफूले ३५ वटा नाटक खेलेकामा ३० वटा अनुवाद भएकाले यस्ता कृति धेरै रचना गर्न नेपाली साहित्यकारलाई सुझाव दिनुभयो । 

 

साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले पूर्वप्रशासकले अनुभवलाई लिपिबद्ध गरे भावी पुस्तालाई काम लाग्ने बताउनुभयो । पूर्वप्रशासकले राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर सेवाकालीन अनुभवलाई पुस्तकमा समेट्नुपर्नेमा उहाँको जोड थियो । 

 

मैनालीले कथामा समाजबाटै पात्र र घटना टिपेर कथासङ्ग्रहमा प्रस्तुत गरेको जानकारी दिनुभयो । कथासङ्ग्रहमाथि समीक्षा गर्दै साहित्यकार अनिता कोइरालाले संवेदनाका मसीले लेखिएको कथासङ्ग्रहमा आमासँगको प्रेम, जन्भूमि रोशीका विषयवस्तु उल्लेख्य रूपमा रहेको बताउनुभयो । 
 

अर्का समीक्षक प्रा डा लेखप्रसाद निरौलाले आदर्श प्रशासक मैनाली साहित्यमा पनि त्यही रूपमा उदाउनुभएको बताउनुभयो । कथासङ्ग्रहको प्रकाशक एवं कार्यक्रमको आयोजक सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले स्वच्छ छविका प्रशासकले साहित्यमा पनि उदाहरणीय काम गर्नुभएको धारणा राख्नुभयो ।  

 

कार्यक्रममा इतिहासकार दिनेशराज पन्त, अन्तर्राष्ट्रिय साहित्य समाज नेपालका अध्यक्ष राजेन्द्र केसी, आयोजक संस्थाका सचिव अच्युत घिमिरेलगायतले मैनालीको पहिलो कथासङ्ग्रह ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ नेपाली साहित्यमा उदाएको बताउनुभयो । साहित्यकार मैनालीका यसअघि ‘अवसाद अभिनयी’ (निबन्धसङ्ग्रह), ‘आँखाभरि रमिता मनभरि वेदना’ (नियात्रा दैनिकी), ‘युगकवि सिद्धिचरणः कृति र प्रवृत्ति विश्लेषण’ (समालोचना), ‘अपेक्षा र अनुभूति’ (निबन्धसङ्ग्रह), ‘घाउ आफैँलाई दुख्छ’ (निबन्धसङ्ग्रह), ‘अभिव्यञ्जना यात्राप्रति’ (समालोचना सङ्ग्रह र ‘रमेश विकलः समालोचनात्मक अन्वेषण’ (समालोचना) प्रकाशित भइसकेका छन् । 

 

मैनालीका व्यवस्थापन र विकास विधामा पाँच कृतिहरू पनि प्रकाशित छन् । उहाँका फुटकर कथा, निबन्ध, समालोचना, संवार्ता र साहित्यिक चिन्तनहरू विभिन्न छापा तथा डिजिटल माध्यममा प्रकाशित हुँदै आएका छन् । आज विमोचित एक सय ५५ पृष्ठ रहेको कथासङ्ग्रहको मूल्य रु पाँच सय ५० तोकिएको छ ।
---

 

प्रतिकृया दिनुहोस