सुरुमा श्रीपाली बस्न्यातहरुले खडा गरेको यो राज्य पछि गएर कमजोर भयो । ती बस्न्यात राजखलक अन्यत्र विस्थापित भए । धेरै पछि वि.सं. १५०३ मा पहिलो राजा शक्ति सिंहबाट स्थापित यो राज्य वि.सं. १८४७ मा नेपालमा एकीकरण भयो (पूर्ण प्रकाश नेपाल “यात्री”, सेती अञ्चल दिग्दर्शन दोश्रो खण्ड, विराटनगरः हिमाली सौगात प्रकाशन वि.सं. २०३५) पृ. १७३–७५) पश्चिमी नेपालको खस साम्राज्यको इतिहासमा उल्लेखित विवरणको आधारमा र योगी नरहरिनाथबाट संकलित तथा सम्पादित पुस्तकहरुको आधारमा श्रीपाली वस्न्यातहरु प्रशिद्ध श्रीपाली राजा मदन सिंह (मदन सिंह पाल, अन्दाजी वि.सं. ५०० तिर) का सन्तति ठहरिन्छन् ।
ऋक्सेन वंशीय वंशावली (ऋषिराज भट्टारक)का अनुसार मदन सिंह श्रीपालका राजा, उनका भाइ खेलपाल मल्ल द्वाराका राजा (सन्तति थापा कहलिए) तथा कान्छा भाइ कोल्टी कोटका राजा भएको देखिन्छ ।
तसर्थ मदन सिंहसंग सम्वन्धित थापाहरु पनि देखिन्छन् । मदन सिंहलाई आदित्य वंशी भनेर भनिएको र यिनको कुलान्त राज्यलाई श्रीपाल भनिएको छ । नेपाली खस समाज हालसम्म पनि पाँच मुहानी समाज (श्रीपाली, कालिकोट, सिंजापति खप्तडी र खुलाल)बाट चिनिन्छ ।
करिब ५औं शताब्दीमा यी कुलान्त राज्य अस्तित्वमा आएको इतिहासकारहरुले पुष्टि गरिसकेका छन् । श्रीपाल राज्यको भौगोलिक स्थिति पूर्वी मानसरोवर प्रदेश ङारी (Ngari Prefecture)देखि त्रिशुली पश्चिमसम्म विस्तारित हुनुको साथै १०औं शताब्दीमा वर्तमान पश्चिम तिब्बत, कुमाउको सिरा, दानपुर जाहोर तथा सिरमोर देखि नेपालका दार्चुला, बझाङ्ग, वाजुरा र हुम्ला जिल्लासम्म फैलिएको भनिन्छ ।
प्रशिद्ध विद्वान पूर्णप्रकाश नेपाल यात्री भन्नुहुन्छ यिनै मदन सिंहको सन्ततिले ७००औं शताब्दीमा तिब्बतमा भएको गृह युद्धको फाइदा उठाउँदै बझाङ्ग, डोटीबाट पश्चिमी तिब्वत ङारी प्रदेशमा अधिकार जमाए । त्यसपछि सोहीकुलको श्रीपाली राजा आदिपालको शासन शुरु भयो र त्यसपछिको इतिहासहरु, विभिन्न इतिहासकारबाट लेखिएको नेपालको खस साम्राज्यको इतिहासबाट विस्तृत अध्ययन गर्न सकिन्छ ।
दैलेखमा रहेको पृथ्वी मल्लद्वारा खडा गरिएको किर्तिस्तम्भमा उल्लेखित श्रीपाली राजा मदन सिंहको सन्तति आदिपालको पनि सन्ततिमा अन्तिम खस सम्राट पृथ्वी मल्ल हुँदै उनका छोरा अभय मल्ल ठहरिन्छन्, बाबुराम आचार्यद्वारा लेखिएको नेपालको संक्षिप्त इतिहासमा गेला (डोटी र बझाङ्ग इलाका) राज्यभनि सम्बोधन भएको गेलाको राजा (जय) पालको पनाति अभय मल्ल जब खस राज्यको विखण्डन लगत्तै आफ्नो राजधानी सार्दासार्दै वर्तमान स्याङ्जा जिल्लाको खिलुङ्गमा आफ्नो राजधानी खडा गरी करिब वि.सं. १४४६ तिरैबाट बाँकी बचेको (चौबिसे राज्य)बाट शासन चलाउदै आएका थिए ।
वि.सं. १४४८ सालको म्याग्दीको संजेल गाउँबाट प्राप्त ताम्रपत्र अभिलेखले यो विवरणलाई पुष्टि गर्दछ । तिनै अभय मल्ल (अभय पाल) अभिलेखमा भै मल्ल हुँदै कालान्तरमा भैपाल र भयपाल र पछिल्लो विवरणमा भुपाल भनि समेटिएका हुन् । चारपाला, खिलुङ्ग, रिडी, लसर्धा, सतहु, गरहुमा अहिले पनि लोकोक्तिमा समेटिएका छन्, संवभत : खस साम्राज्यको चौबिस राज्य समेटिएको विशाल टुक्रामा भुपाल (अभय मल्ल)को शासन कायम थियो ।
भैपाल राजा भएका र पालहरुको शासनले गर्दा यो भूखण्ड पाल्पाको नामबाट चिनिनपुग्यो । पालहरुको अधिनमा पुगे (जाड), जडान प्रदेश पनि पर्ने भएकोले यिनीहरुलाई जाडे राजा पनि भनिन्छ । अनुहार आकृति मगर जस्ता पनि देखिन्छन् अथवा मगरको समूहमा विलाए पनि यी शुद्ध खसहरु हुन् ।
करिब वि.सं. १४८० को संघारमा जब अभय मल्ल (भुपाल)को मृत्युसंगै बाँकी रहेको खस साम्राज्यको विशाल पाल्पा राज्यको विखण्डन शुरु भयो । त्यसपछि यो भौगोलिक खण्डमा श्रीपाल परिवार र ज्वाइँ चेलाका सन्तानहरु बिच चलेको करिब ५० वर्षको शक्ति संघर्षको परिणाम स्वरुप चौबिसे राज्य टुक्रिन पुग्यो । यो टुक्रा असंख्य संख्यामा टुक्रिनुको साथै पुराना इतिहास तथा अभिलेखहरु पनि यसैभित्र बिलाए ।
गढी, थुम्का, थर्पु, कोट, थोकको रुपमा च्याउ उम्रेझै भुरे टाकुरे राज्य जन्मिए । त्यसपछि विभिन्न राज्य जाति (क्षेत्री)ले रजाई गरेका भुरे टाकुरे राज्यहरु यथार्थमा परिणत भए । हाल प्रकाशित भएका बाइसे, चौबिसे राज्यको विवरणहरुमा वि.सं. १५१० सालबाट मात्र घटना क्रम उल्लेख हुनु र सोभन्दा अगाडिको इतिहास मौन हुनुबाट यो विवरण सही लाग्दछन् ।
योगी नरहरि नाथका अनुसार भुपालका सन्तानहरुमा भरत सिंह, अजय सिंह र हरिहर सिंह बिच चलेको शक्ति संघर्षमा अजय सिंह र हरिहर सिंह खाचा खाँड र मिचा खाँडको नामबाट, यिनका सन्तानहरुले आठ टिका खाँडको रुपमा राज्य खडा गर्न सफल भएभने भरत सिंह जसले अभयमल्ल (भुपाल)पछि खिलुङ्ग (श्री शिसाकोट, हाल सिर्सेकोट, स्याङ्जा)बाट आफ्नो राज्य चलाएका थिए ।
यिनको देहावसानसङ्गै शक्ति संघर्षमा चौबिसे राज्यको नुवाकोट राज्यको रुपमा वि.सं. १५१० सालपछि यिनका भाइ मिचा खानको कब्जामा आयो । त्यसपछि भरत सिंह तर्फका सन्तानहरु नुवाकोट राज्यबाट विस्थापित भै अन्यत्र राज्य खडा गर्ने कोशिसमा लागे ।
गरहुँ कोटतर्फ पक्वादी हुँदै तनहुँमा आफ्नो राज्य खडा गरेका पनि हुन् । राजा भरत सिंहका दुई पुत्र विक्रम सिंह र सग्राम सिंह भए ।
विक्रम सिंहका पुत्र दौलत सिंह । उनका पुत्र जादल सिंह भए । जादल सिंहका तीन पुत्रहरु मध्ये महेश्वर सिंहले तनहुँमादी उपत्यकामा आफ्नो राज्य खडा गरे । तनहुँ श्रीकोटबाट यिनको शासन शुरु भए तापनि यिनको मृत्यु पश्चात यिनका तीनजना पुत्रहरु गन्र्धव सिंह, जितारी सिंह र प्रवल सिंह बिच यो राज्य बाँडियो फलस्वरुप कास्कीकोटका राजा कुल मण्डन शाहको पूर्वतर्फको राज्य विस्तारको क्रममा क्रमश यी तीन राज्य नै विलिन हुने अवस्था आएपछि कुल मण्डन शाहको छोरालाई नै राजा बनाउने सर्तमा यो राज्य कास्कीकोटको तजविजमा, क्रमश कालु शाहपछि यसो ब्रम्ह शाहलाई लमजुङ्ग राज्य खडा गरी राजामा स्थापित गराइयो ।
चौबिसे राज्यहरुको इतिहास लेखनमा कतिपय अवस्थामा इतिहासकारको कल्पना र स्थानीय लोकोक्ति समेतको आधारमा सही विवरणहरु छुट्न गएको छ भन्न सकिन्छ । ऐतिहासिककाल खण्डमा गाउँ–गाउँ नै स्वतन्त्र हैसियतमा राज्यको रुपमा पाउँदा खस साम्राज्यको विवरणहरु समेटिएका छैनन् । आउँदा दिनमा चौबिसे राज्यहरुमा यस साम्राज्यको अभिलेखहरु फेला पर्ने संभावनाहरुले गर्दा क्रमश इतिहासका पर्दाहरु उघारिदै जाने विश्वास गर्न सकिन्छ ।
योगी नरहरिनाथ र बालकृष्ण पोखरेलका पुस्तकहरुको अध्ययनबाट श्रीपाल वस्न्यातहरुको विवरणहरु थाहा पाइन्छ । श्रीपाली समूहमा समेटिएका आदित्य वंशी श्रीपालहरु कहिले पुराङ्गको पाल, कहिले सिंजालीपालको रुपमा पनि चिनिएका छन् । त्यसैले श्रीपाली समूहमा आदित्यवंशी सिजाली पालहरु बाबुराम आचार्यले गोलस भएको नाताले गेलाका पाल, (डोटी र बझाङ्गको पाल) भनि पृथ्वी मल्ल र अभय मल्ललाई श्रीपाल भन्नु हुन्छ ।
वास्तवमा तत्कालीन खस साम्राज्यमा रहेको तीन वटा शक्ति केन्द्रहरु पुराङ (ताक्लाकोट), सिञ्जा (जुम्ला) र गेला (बझाङ डोटी) मध्ये पृथ्वी मल्लसम्म पुराङ र सिञ्जा शक्ति केन्द्र रहेतापनि श्रीपालहरु गेला राज्यको राजधानी उदुम्बरी कोट (हाल बझाङ्ग, कोट देवल, भाते खोलामा रहेको ढंडार मस्ट नजिकै)मा श्रीपाल राजा मदन सिंहदेखि आदिपाल हुँदै अभय मल्ल सम्मले शासन सत्ताधानेकै हुन् ।
खस साम्राज्यको प्रथम सम्राट वशिष्ट गोत्रीय नाग राजले जबश्रीपाल, खप्तड कालीकोट, खुलाल र सिंजा सहित अन्य सवै राज्य समेटी सपादलक्ष खडा गरे । त्यतिबेला नै श्रीपाली राजा श्रीपालहरुलाई मण्डलेश्वर तथा खस साम्राज्यको वलाध्यक्षको रुपमा बस्न्यात पद प्रदान गरे । तद्अनुरुप खस साम्राज्यभित्र कालीकोट, खुलाल, खप्तड र सिंजा समेतका राजाहरुमा पनि आफ्ना छोराहरुलाई बस्न्यात पदमा नियुक्त गर्ने प्रचलनमा आएको अनुमान छ ।
श्रीपाली समुदायका श्रीपालहरु जो खस साम्राज्यको वलाध्यक्षको रुपमा बस्न्यात पदमा नियुक्त भए । पुण्य मल्ल जो आफै पुण्य पालबाट पछि खस सम्राट हुनु पूर्व, बस्न्यात पदमा आसिन गराइएका श्रीपाल हुन् । जब गेलाको श्रीपालमा राज्यसत्ता आयो तत्पश्चात बझाङ्ग कोटदेवलस्थित उदुम्वरीकोट शक्ति केन्द्र भयो । पछि पृथ्वी मल्ल संभवत फिरोज तुगलकसङ्गको दोश्रो लडाइँमा मारिए । त्यसपछि खस साम्राज्यको संरचना खल्बलियो ।
अभय मल्ल बालक छदै भएको घटना (वि.सं. १४१३ सालमा)ले श्रीपालीव्रम्ह परिवारबाट सूर्य मल्लले शासन गरेतापनि उनको मृत्यु पश्चात अभय मल्लको हातमा खस साम्राज्य आएता पनि मलयव्रम्ह, वलिराज र डोटीको नाग मल्ल जस्ता व्यक्तित्वले खस साम्राज्यको बाइसे राज्यमा पकड जमाई सकेकोले गर्दा अभय मल्ल बाँकी रहेको चौबिसे राज्यमा आफ्नो पकड जमाउन गेलाबाट श्रीपालहरु खिलुङ्गतर्फ आफ्नो राजधानी सार्न सफल भए तापनि उनको मृत्युपछि भुपालको राज्यको विखण्डन प्रक्रिया शुरु भयो ।
यिनको राज्यहरु विशेषगरी पर्वत, पाल्पा, आठ टिकाका खाँड तथा अधिकारी बिच बाँडिन पुग्यो । जसजसले ठकुराइ स्थापना गरे ती ठकुरी कहलिए । जसले सकेनन् ती क्षेत्रीयमा गनिए । हालसम्म प्राप्त इतिहास प्रकाशमा सन्धिसंग्रह(वंशावली) मा नरहरि नाथले प्रकाशित गरेको इतिहासमा भुपालपछिको मात्र इतिहास अभिलेख रहेता पनि अन्य पुस्तक तथा बालकृष्ण पोखरेलको खस जातिको इतिहासले सिधै श्रीपाल बस्न्यातको सम्वन्ध आदिपालसङ्ग रहेको प्रष्ट्याएका छन् ।
त्यसैले श्रीपाल बस्न्यातहरु खस साम्राज्यको अभिलेखमा उल्लेखित आदिपाल सन्तति हुन् र विभिन्न कालखण्डमा शिवपालित, मदन सिंह, आदिपाल र अभयमल्ल (भुपाल)सङ्गको रक्त सम्बन्ध रहेको हुँदा मध्यकालीनकालदेखि प्राचीनकालसम्मको बझाङमा रहेको राज्यसङ्ग जोडिन पुग्दछन् ।
त्यसो त नेपालमा रहेको खस क्षेत्री, ठकुरी सवै राजन्य जाति कुनै न कुनै रुप र पदबाट खस साम्राज्य र राज्य प्रणालीका शक्ति केन्द्रका विस्तारित रुप हुुन् । त्यसैले हालपनि सामाजिक व्यवहारमा एक आपसमा रक्त सम्वन्धमा जेलिएको अवस्था छ । भारद्वाज गोत्रधारी राजन्य जातिहरु पनि श्रीपाली बस्न्यातहरु भन्दा टाढा नभइ एउटै श्रीपालमा गणना हुन्छन् ।
आधुनिक नेपालको इतिहासकारहरुले श्रीपाली बस्न्यातहरु सिसौदिया घरानाको भनि उल्लेख गरेको र खाँडलाई पनि सिसौदिया घराना भनि उल्लेख हुनु (राम शाहले लेखाउन लगाएको वंशावलीको आधारमा)ले भुपाले सन्ततितर्फ नै संकेत गरेको छ । जब यशोव्रम्ह शाहलाई लमजुङ्ग राज्य खडा गरी स्थापित गराइएपछि महेश्वर सिहं बस्न्यातको छोराहरु गन्र्धव सिंह, जिता सिंह र प्रवल सिंह बस्नयातहरुका हालिमुहाली चल्यो ।
पछि द्रब्य शाहसङ्ग प्रवल सिंहको छोराहरु झपट सिंह र मोहजाल सिंहको साथै जिता सिंहका सन्ततिहरु लिगलिग कोट विजय पश्चात गोरखा दरवारमा राज्य खडा गर्नमा मुख्य भूमिका रह्यो । पछि गोरखा र लमजुङ्गको वैमनस्यता बढ्दै जाँदा गोरखा राज्यमा श्रीपाली बस्नयातहरुको संख्या थपिन जा“दा श्रीपाली बस्न्यातहरु भारदारको रुपमा शक्तिशाली हुँदै गए ।
पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा केन्द्रीय भूमिकामा रहेका श्रीपाली बस्न्यातहरु बडावीर शिवराम सिंह, वाङ्या बस्न्यात, नाहर सिंह, केहरे सिंह, अभिमान सिंह, धौकल सिंह जस्ता वीर पुरुष एकीकरण अभियानको रक्षाको रुपमा स्थापित भए ।
प्रतिकृया दिनुहोस