• बिहीबार-बैशाख-२०-२०८१

रू. २ सय १३ अर्बको द्रूतमार्गको निर्माण समयमै सम्पन्न हुन्छ-नेपाली सेना

काठमाडौं । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले दुई तीन महिनामा सुरुङ्मार्गहरुको ब्रेकथ्रु हुने बताएका छन् ।


शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री उप्रेतीले सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा जानकारी गराएका थिए । उनले नेपाली सेनाबाट सुरु भएको उत्तर दक्षिण जोडिने सडकले अर्थतन्त्रमा समेत दुरगामी प्रभाव राख्ने बताए ।  


मन्त्री  उप्रेतीले भने, ‘नेपालको कानून अनुसार सरकारको निर्णयबाट सेनालाई जिम्मेवारी दिए बमोजिम सेनाले उत्तर दक्षिण जोडिने सडक निर्माण गरिरहेको बताए । उनले देशको अर्थतन्त्रमा समेत दुरगामी प्रभाव पर्ने द्रुतमार्ग सडक आयोजना निर्माण कार्यबारे जानकारी गराए ।


‘दुई तीन महिनामा यो सुरुङ्मार्गको ब्रेकथ्रु हुन्छ । त्यति छिटो तरिकाले काम भईरहेको छ’ मन्त्रीले उप्रेतीले भने ।


उनले राष्ट्रिय गौरवको आयोजनाका बाधाहरुलाई नीति नियम मार्फत नियमन गर्न सक्ने हो भने काम कहिले नरोकिने बताए ।


उनले भने, ‘हामीले त्यसको लागि कहाँ ठेस लाग्यो, कहाँ खाल्टो छ । यी कुराहरुलाई बैठकहरु मार्फत बाधाहरुलाई हाम्रा नीति नियम मार्फत नियमन गर्न सक्यौं भने काम रोकिने अवस्था छैन । यी सडकमा थप स्रोत साधन व्यवस्थापन गर्न मन्त्रालय सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको छ । यसको लागि विशेष व्यवस्था गर्न सकेमा अझै द्रुत गतिमा निर्माण अगाडि बढ्ने छ ।’


नेपाली सेनाले नेपाल एकिकरण मात्रै होईन, आधुनिक नेपाल पनि निर्माण गर्छ भन्ने कुरामा उत्साहित रहेको पनि उनको भनाई छ ।


यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले द्रुतमार्ग निर्धारित समयमा नै सम्पन्न गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, रक्षा मन्त्रालयलाई सहयोगका लागि निर्देशन दिएका छन् ।


उनले भने, ‘खोकनाको समस्या तुरुन्तै समाधान गरि द्रुतमार्ग निर्धारित समयमा नै सम्पन्न गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, रक्षा मन्त्रालय आवश्यक सहयोगका लागि निर्देशन दिन चाहन्छु । दार्चुला टिंकर सडक लगायतका सेनाले बनाउँदै गरेका सडकलाई पर्याप्त बजेट उपलब्ध गराउन र उक्त क्षेत्रमा काम गर्ने नेपाली सेनाका सकल दर्जाका सबै सैनिकहरुलाई जोखिम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दिने, यो आयोजनामा निर्धारित समयमा नै सक्ने कार्यका साथ सेनाले गरेको प्रयासप्रति सहयोग पु¥याउन वन मन्त्रालयलाई निर्देशन दिने भनेर सभापति खतिवडाले  जानकारी गराएका थिए ।


यस्तै, नेपाली सेनाले बनाउँदै गरेका सबै सडक आयोजनाहरु सहजीकरण गर्न लाभ कर छुट सम्बन्धमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ ।


 समितिमा प्रधान सेनापति प्रभुराम शर्माले  सडक निर्माण कार्य सरल तरिकाका साथ आगडि बढेको बताए । सडक निर्माणमा उत्पन्न कतिपय समस्याहरु नीतिगत तहबाट समाधान गर्न शर्माको आग्रह छ ।


यसमा  गत चैत्र मसान्तसम्म भौतिक प्रगति ३३ दशमलव २ प्रतिशत भएको र आर्थिक प्रगति पनि त्यति नै पुगेको शर्माले जानकारी दिए । ‘यो शून्य देखि ७१ किमिसम्मको तथ्यांक हो । सुरुङ्गको मात्रै कुरा गर्ने हो भने महादेवटार सुरुङ्ग ६७ प्रतिशत, धेदरि सुरुङ्ग ८९ प्रतिशत, लेन डाडा सुरुङ्गको बायामा ९६ प्रतिशत, दायामा ९१ प्रतिशत यो हिसाबले  सबै सुरुङ्गहरु हेर्ने हो भने ७६ प्रतिशतभन्दा माथि पुगिसकेको छ । जम्मा ११ वटा प्याकेजहरुमा १० वटा सम्पन्न भयो, ११ नम्बरको मात्रै बाँकी छ ।’ प्रधानसेनापति शर्माले भने ।


द्रूतमार्गमा पर्ने रुख कटानको विषयमा वन मन्त्रालयसँग समन्वय भएर हालसम्म ३० हजार ५ सय ९१ वटा रुख कटान सम्पन्न भएको छ । पुष १२ गतेपछि ४ हजार ३ सय ४५ थप रुख कटान गर्ने स्वीकृति भईसकेको छ । सडक करिडोरहरु पनि तोकिएकै समयमा लक्ष्य बमोजिम पूरा हुने विश्वास गरिएको छ ।


१७५ अर्बको यो आयोजना सरकारले स्वीकृति दिन १ वर्ष लगायो । सेनाले काम सुरु गरेको तीन वर्ष भयो । कर विनाको पैसा समेत गरी २ सय १३ अर्बको हो यो योजना । यसमा अहिलेसम्म लागत नबढेको सेनाले जनाएको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस