• शनिबार-बैशाख-१५-२०८१

राजधानी नजिकैको काभ्रे विभेदको अखडा ! : शिक्षण अस्पतालमा न्याय खोज्दै अजितको शव  

 

सरकारले २०६३ जेठ २१ गते मुलुकलाई ‘छुवाछुत मुक्त राष्ट्र’घोषणा गरेतापनि हाम्रो गाउँटोलमा अझै छुवाछुतजन्य अपराध रोकिन सकेको छैन । घोषणा कागजमा मात्रै सीमित छ । जातिका आधारमा हुने विभेद अलिकति पनि कम भएको देखिन्न । छुवाछुत मुक्त राष्ट्र घोषणा भएको ५ वर्षपछि अर्थात २०६८ जेठ १० गते जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन लागु ग¥यो संसदले । 


जति ऐन आए पनि जातीय विभेद र छुवाछुतका घटनाहरूमा कानून कार्यान्वयनको पक्ष सबल बन्न नसकेको पीडितहरुको गुनासो सुनिन्छ । अरु त अरु राजधानीबाट नजिक रहेको काभ्रे जिल्लामात्रै हेर्ने हो भने जातीय छुवाछुतको समस्या व्याप्त रहेको पाइन्छ । जुन घटनाले जोकोहीको नि आङ सिरिङ्ग बनाउँछ ।


लक्ष्मी परियार हत्या काण्ड 
२०७३ साल मङ्सिर २० गते काभ्रेको सानोबाङ्थली–७ गोदामचौरकी लक्ष्मी परियार हत्याकाण्डलाई सम्झिदा जोकोहीको पनि आङ सिरिङ्ग हुन्छ । २०७३ साल मङ्सिर २० गते सोही वडा निवासी  शिक्षक हिरा लामा र उनकी आमा काइँलीले लक्ष्मीलाई बोक्सीको आरोपमा विद्यालयको पोलमा बाँधेर कुटपिट गर्दै दिसा खुवाएका थिए ।


हिरा र काइँलीको कुटपिटबाट घाइते भएकी श्रीमती लक्ष्मीलाई उपचारका लागि अस्पताल जाउँभन्दा नमानेको भन्दै उनको श्रीमान मिलन परियारले फेरि कुटपिट गरेका थिए । बोक्सीको आरोपमा मंसिर २० गते कुटपिटबाट शक्त घाइते भएकी लक्ष्मीको २०७३ साल मङ्सिर २४ गते मृत्यु भयो । 


त्यसपछि जिल्ला न्यायाधीश चेतनाथ ढकालको एकल इजलासले थुनछेक बहसका क्रममा लक्ष्मी परियारमाथि बोक्सीको आरोपमा कुटपिट तथा कर्तव्य ज्यान मुद्दामा शिक्षक हिरा लामा, काइँली लामा र मिलन परियारलाई पक्राउ गरेर  पुर्पक्षका लागि थुनामा राख्न आदेश भयो ।


यस्तै, लक्ष्मीका श्रीमान् मिलनलाई भने मुलुकी ऐनको ज्यानसम्बन्धी महल बमोजिम १८ वर्ष कैद माग गरियो । तर,  २०८४ भदौ ८ गते काभ्रे जिल्ला अदालतले  हत्या आरोपीहरुलाई कैद मुक्त ग¥यो ।


जिल्ला न्यायाधीश श्याम सुन्दर अधिकारीको इजलाशबाट हत्या आरोपमा पुर्पक्षको लागि थुनामा रहेका हिरा लामा, काइँली तामाङ, निरमाया तामाङ र मिलन परियार न्युनतम सजाय पाई रिहा भए भने फूलमाया तामाङले सफाई पाइन ।


 प्रतिवादीहरु मध्ये हिरा लामा र काइँली तामाङलाई कर्तव्य ज्यान मुद्दामा जनही ८ महिना कैद र बोक्सीको आरोपमा जनही २० हजार रुपैयाँ जरिवाना गरियो भने मिलन परियार र निरमाया तामाङलाई कर्तव्य ज्यानमा ८ महिना कैद सजाय तोकिएको थियो ।


 जिल्ला सरकारी वकिल कार्यालय काभ्रेको तर्फबाट सरकारी वकिल राजन हमाल र जाहेरवालाको तर्फबाट अधिवक्ता प्रकाश नेपाली र सिताराम घले परियारले बहस पैरवी गरेका थिए भने प्रतिवादी मिलन परियारको तर्फबाट अधिवक्ता मोहन साशंकर र श्याम विश्वकर्माले बहस गरेका थिए । प्रतिवादी हिरा लामा, काइली तामाङ, निरमाया र फूलमाया तामाङको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश प्रसाद मैनाली, राजु प्रसाद धिमाल, सुदर्शन थपलिया र अश्विन कुमार राईले बहस गरेका थिए ।


अजित मिजार हत्या काण्ड 
काभ्रे पाँचखाल–७ होक्सेका अजित मिजारको शव विगत ८ वर्षदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ । अन्तरजातीय विवाह गरेपछि २०७३ असार २९ गते काभ्रेको तामाघाट बजारबाट बेपत्ता भएका १८ वर्षीय अजितको शव धादिङको फुर्केखोलामा झुन्डिएको अवस्थामा फेला परेको थियो । आधी उमेर गइसकेकी अजितकी आमा काली मिजारको करिब आठ वर्ष अस्पतालमा राखिएको छोराको शव सम्झिँदै बित्दैछ ।


आफ्नो छोरा अजितको काजकिरिया गर्न पाएको भए आत्माले शान्ति पाउँथ्योे कि भन्ने तर्कना गर्दै उनका रातदिन बित्दैछन् । छोराको आत्महत्या नभई हत्या भएकाले न्याय नपाएसम्म किरिया नगर्ने उनको अडान आजसम्म पनि  कायमै छ । 


अजित आफ्नै स्कुलमा पढ्ने  पराजुली थरकी युवतीसँग प्रेम गरेका थिए । २०७३ असार २५ गते अजित र उनकी प्रेमिका भनिने युवती भागेर भक्तपुर आए । दिनभर मकै भाँच्न खेतमा गएकी उनकी आमा कालीलाई बेलुका घर फर्केपछि मात्र उनीहरू भागेको थाहा भयो ।


अर्को दिन केटी पक्षका मानिस कालीको घरमा गएर छोरा निकाल् भन्दै धम्क्याए । युवतीकी दिदीले पनि छोरा ननिकाले राम्रो नहुने भन्दै धम्की दिएको काली बताउछिन् । असार २६ गते अजित ती युवती लिएर घर आए । त्यो रात पनि युवतीका बाबुले फोेन गरेर कालीलार्ई धम्की दिए । युवतीले बाबुको बानी त्यस्तै हो भनेर कालीलाई सम्झाइन् । युवती पक्षले भोलिपल्ट प्रहरी चौकीमा बोलायो । अजित, युवती र काली प्रहरी चौकीमा पुगे । त्यहाँ युवती पक्षका मानिस पनि थिए ।


सिन्दुर पोते लाएर प्रहरीमा पुगेकी ती युवतीलाई उनको दिदीले सानो जातसँग बिहे गरेको भन्दै जबर्जस्ती पोते चुडालेर सिन्दुर पुछिदिन ।  उमेरले अजित १९ वर्ष र ती युवती १७ वर्ष भएकोले प्रहरी चौकीमा छलफल चल्यो । अजितकी आमा कालीका अनुसार ती युवतीको दिदीले प्रहरीकै सामुन्ने तँलाई ७ लाख खर्च गरेर पनि माटोमाथि हिँड्न दिन्न भनेर धम्क्याएकी थिइन् । जिल्ला प्रहरी कार्यालय धुलिखेल आउने क्रममा बिच बाटोमै प्रहरीले गाडीबाट ओरालेर कागजमा सही गरायो । युवतीलाई जबर्जजस्ती बाइकमा राखेर माइती पक्षले लग्यो ।


२०७३ असार २९ गते रोपाइँ थियो । आमा काली अजितलाई घरमै बस्न भन्दै आफू रोपाइँमा गइन् । उनका पति पहिल्यै खेतमा गइसकेका थिए । काली खेतमा जानुअघि अजितले मोबाइल रिचार्ज कार्ड किन्न भन्दै पैसा मागे । कालीले एक सय रूपैयाँ दिइन् । साँझ मेलाबाट सबै घर आए । तर अजित घरमा थिएनन् । रात बित्यो अजित घर फर्किएनन् । अजितको फोन घरमै थियो । भोलिपल्ट काली तामाघाटतिर अजितलाई खोज्न गइन् । तर अजित भेटिएनन् । खोजी गर्दागर्दै साउने संक्रान्ति आयो । संक्रान्तिको दिन घरमा पाहुना आएका थिए । आमा काली अजितलाई खोज्न फेरि तामाघाटतिर गइन् । एकजना मासु पसलेको छोरा अजितको साथी थियो ।


साँझ मासु पसलेले धादिङको फुर्केखोलामा झुन्डिएर मानिस मरेको कुरा फेसबुकमा आएको बताए । मिजार परिवार धादिङ पुग्यो । झुन्डिएको अवस्थामा फेला परेको शव अजितको रहेछ । तर प्रहरीले बेवारिसे भन्दै शव गाडिसकेको रहेछ ।


अजितका बाबु हरिभक्तका अनुसार २७३ साउन २ गते बिहानै उनी धादिङ प्रहरीमा पुगे । आफू अजितको बुवा भएको भन्दै उनले प्रहरीसँग शव मागे । प्रहरीले पोस्टमार्टमा गरेर वेवारिस शव भन्दै पुरिसकेको बतायो । मिजार परिवारले निकाल्न भन्दा प्रहरीले नमिल्ने जवाफ दियो ।


शव पशुपति आर्यघाट लगेर जलाउँछौ भनेपछि बल्ल प्रहरीले निकाल्न दियो । प्रहरीले पोस्टमार्टम रिपोर्ट बनाइसकेको थियो । पोस्टमार्टम गरिएको भने पनि शव कतै चिरेको नपाइएपछि परिवारलाई शंका लाग्यो । शव पुनः पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगियो ।


सुरुमा अस्पतालले शव लिन मानेन् । सरकारी वकिल र दलित अधिकारकर्मीको दबाबपछि पोस्टमार्टम भयो । पोस्टमार्टम गर्ने चिकित्सकले आत्महत्याको रिपोर्ट बनाइदिए । हरिभक्तका अनुसार धादिङमा पोेस्टमार्टम गर्नेको आफन्त त्रिवि शिक्षण अस्पतालमा पनि भएकाले सुरुमा शव लिन इन्कार गरिएको थियो ।


अजितले आत्महत्या गरेको मान्न मिजार परिवार तयार भएनन् । मिजार परिवार अजितको हत्या गरिएको निष्कर्षमा पुग्यो । तिनै युवतीका माइती पक्षले अजितको हत्या गरेको भन्दै मिजार परिवारले भोजबहादुर पराजुली, टेकबहादुर पराजुली र सम्झना पराजुलीविरुद्ध जाहेरी दिए । उनीहरूविरुद्ध जिल्ला अदालत धादिङमा मुद्दा दायर भयो । आरोपित धरौटीमा छुटे । २०७५ सालमा जिल्ला अदालत धादिङले आरोपितलाई सफाइ दियो ।


अदालतको फैसलापछि मिजार परिवार विचलित बन्योे । मिजार परिवारले फेरि उच्च अदालतन पाटनमा मुद्दा दायर ग¥यो । उच्च अदालत पाटनले पनि गत वर्षको चैतमा जिल्ला अदालत धादिङकोे फैसला सदर ग¥यो । पुनरावेदनको फैसला पछि मिजार परिवारमा थप बेचैनी बढ्यो । छोराको आत्महत्या नभई हत्या नै भएको दावी गर्दै मिजार परिवारले २०८० वैशाखमा सर्वोच्च अदालतमा मुद्दा हाल्योे । मुद्दामा फैसला आएको छैन ।  सर्वोच्चले पनि न्याय दिएन भने अन्तर्राष्ट्रिय अदालतलमा जाने हरिभक्तले बताए । अजितको शव आज न्याय र दाहसंस्कारको पर्खाइमा छ । 


अन्तरजातीय बिहे गर्ने हजारौं जोडी विस्थापित भएका छन् । कुटिएका छन्, पिटिएका छन् । ज्यानैसम्म गएको उदाहरण छ । राजधानी नजिककोे जिल्लाले दर्जनौं क्रान्तिकारी नेता जन्मायो, तर काभ्रेमा घटेको यस्ता घटनाले क्रान्तिकारी भनिने नेतृत्वलाई नै गिज्याइरहेको अवस्था छ । (साँघु साप्ताहिक, २०८० चैत १२)
 

प्रतिकृया दिनुहोस