• आइतबार-बैशाख-१६-२०८१

बर्दिबासमा भू-माफियाहरूको चलखेल, विद्यालयको जग्गा अतिक्रमण

 

महोत्तरी ।  महोत्तरीमा सार्वजनिक जग्गा हडप्ने, व्यक्तिका जग्गाहरू आफ्नो नाममा ल्याएर घरबारविहीन बनाउने र वनसमेत अतिक्रमण गरि आफ्नो नाममा बनाएका घटनाहरु सार्वजनिक हुँदै आएका बेला  बर्दिवासका एक व्यक्तिले  विद्यालयको सार्वजनिक जग्गा नै अतिक्रमण गरेर आफ्नो बनाउने प्रयास गरेको खुलेकाे छ ।

 

बर्दिवास-७ स्थित जनहित नन्दलाल माध्यामिक विद्यालयको १ बिघा ५ कठ्ठा ४ धुर जग्गामा लगाइएको झण्डै ६ सय रुख कटान गरि कब्जा गर्ने प्रयास गरेको खुलासा भएको हो । गाउँकै बृज विहारी महतो भन्ने ब्यक्तिले जानाजान विद्यालयले लगाएको उक्त भिक्सका रुखहरु कटान गरी बेचबिखनसमेत गरेको स्थानीय बताउँछन् । 

 

१८ इन्चदेखि ४२ इन्चसम्मको रुख कटान गरि मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई बिक्री गरेको  फेला परेको छ । रातारात विद्यालयको लालपुर्जामा रहेको उक्त रुखहरु कटान गरेर बिक्री गरेपछि स्थानीय आक्रोशित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिदुर कार्कीले विद्यालयको जग्गा थाहा हुँदाहुँदै विद्यालयले नै लगाएको रुखहरु कटान गर्नु गलत भएको बताए ।

 

`जसले गल्ती  गरेको भए पनि सजायको भागिदार हुनुपर्छ,´ उनले भने, `अत्यन्तै खेदपूर्ण घटना घटेको छ ।´ ती व्यक्ति शक्तिको आडमा परिचालित भएको कतिपयको आरोप छ । वडा न. ६ का वडा अध्यक्ष पदम आलेमगरले नगरले यस्ता ब्यक्तिहरुलाई संरक्षित गरि अराजक मच्चाउन खोजेको बताए ।

वडा न.७ का वडा अध्यक्ष भोरिल यादवले विद्यालयको जग्गा जानाजान अतिक्रमण गर्नु गम्भीर अपराध भएको बताउँदै दोषीलाई थप छानबिन गरि कारबाही प्रक्रियाअगाडि बताउने बताएका छन् ।

 

यता स्थानीयहरुले भने मनोबल उच्च बनाएर सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने अडान लिएका छन् । यदी दोषीलाई तत्काल कारबाही नभए संघर्षका कार्यक्रमसमेत तय गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् । अभिभावक संघकी सदस्य जुनु यादवलले कारबाहीमा बेवास्ता गरेमा दबाबमुलक कार्यक्रमसमेत सिर्जना गर्ने बताइन् । 

 

`आवश्यक परे हामी लोकतान्त्रिक अधिकारको प्रयोग गरि सडक संघर्षसमेत गर्छौं,´ उनले भनिन्, `अपराध गर्नेहरुले उन्मुक्ति पाउन हुँदैन ।´

 

तर, रुख कटान गरि रातारात बेचेकाे आरोप लागेको आरोपित वृज विहारी महतोले उक्त जग्गा आफ्नै भएको दाबी गरेका छन् । बर्षौदेखि आफैले जोतभोग गरेको उक्त जग्गामा अहिलेसम्म विद्यालयले दावी नगरेको बताउँदै बाँकी रुखहरु पनि काटेर देखाउने चुनौती दिएका छ्न् ।

 

स्थानीयहरुले लगाएको आरोप निराधार भएको बताउँदै उक्त जग्गा विद्यालयको भए सजाय भोग्न तयार भएको उनकाे भनाई छ ।

 

प्रतिकृया दिनुहोस