• शुक्रबार-फाल्गुण-९-२०८१

दुबई पठाइदिन्छु भनेर युवतीलाई कुवेत पुर्‍याए पछि...

 

काठमाडौं, ३ चैत । दुबईको पार्लरमा आकर्षक तलबमा काम लगाइदिने भन्दै प्रलोभनमा पारेर कुवेतमा पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

 

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-५ बाट पक्राउ गरेको छ । कटुवालले नेपालमा ब्युटी पार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलब र सुविधा हुने दुबईको पार्लरमा काममा लगाइदिने प्रलोभन दिएको, भिसा टिकट लगायतको प्रक्रियाहरू गर्नका लागि १ लाख ५० हजार रुपैयाँ लिएको, दुबई पठाइदिने भनी झुक्याइ कुवेत पुर्‍याई बन्धक बनाएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 


कुवेतमा पुगे पश्चात् एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोबाइल र नेपाली राहदानीसमेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस