• आइतबार-बैशाख-१६-२०८१

 पूर्व सिईओलगायत दस जना पक्राउले बैंकिङ क्षेत्रमा त्रास ? 

 

काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.का सञ्चालक रवीन्द्र चौलागाईंले सहकारीको रकम हिनामिना गरेको विषयलाई लिएर केही महिनादेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । सोहीक्रममा चौलागाईंले सहकारीको रकम अपचलनका साथै आफ्ना अन्य चार कम्पनीमा लगानी गरेको पाइएको छ । उनले कमसल धितो राखेर सेटिङको आधारमा विभिन्न बैंकबाट ठूलो रकम ऋण लिएको नेपाल राष्ट्र बैंक र सीआईबीले अनुसन्धानका क्रममा फेला पारेको थियो ।


अनुसन्धानको सिलसिलामा गएको २०८० फागुन १५ गते सीआईबीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपाने, तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको बताइन्छ । सीआईबीले ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा न्यौपाने, सेन्चुरी कमर्सियल बैंकका पूर्व सिईओ गौतमलगायत १० जनालाई पक्राउ गरेको छ । नेपाल राष्ट्र बैंकको जाहेरीकै आधारमा न्यौपाने र गौतमसहितका कर्मचारीलाई पक्राउ गरिएको बताइएको छ ।


सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकमा मर्ज भइसकेको छ । मर्ज भएपश्चात न्यौपाने हाल प्रभु बैंकको डेपुटी सिईओपदमा कार्यरत रहेका थिए । पक्राउ पर्नेमध्ये प्रभु बैंकका बहालवाला कर्मचारीहरु दिलीप बराल, दीपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारीलगायत रहेका छन् । उनीहरु पनि सेञ्चुरी बैंककै पूर्व कर्मचारी भएको बताइएको छ । यो समूहले पूर्व सेन्चुरी कमर्सियल बैंकमा रहँदा ऋण लगानीमा हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको बताइन्छ ।


पूर्व सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन कर्मचारीहरु सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनील बस्नेत पनि पक्राउ परेका छन् । उनीहरुलाई बैंकिङ कसुरअन्तर्गत हिरासतमा लिइएको प्रहरी स्रोतले बताएको छ । उक्त प्रकरणमा संलग्न सञ्चालक समितिका पदाधिकारीहरु र अन्यलाई पनि व्युरोले छिटै पक्राउ गर्ने तयारी गरिरहेको बुझिएको छ ।   


 डिसिइओ न्यौपाने नेकपा(एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका आफ्नै भान्जा रहेको स्रोतले जानकारी दिएको छ । न्यौपानेलाई जोगाउन अध्यक्ष नेपालले प्रहरीको उच्च नेतृत्वलाई दबाब दिएको स्रोतले बताएको छ । प्रभु बैंकका डिसिईओ न्यौपानेलगायतले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्नुअघि कमसल धितो राखेर ऋण प्रवाह गरेको पाइएपछि राष्ट्र बैंकले सिआईबीलाई अनुसन्धान तथा कारबाहीका लागि पत्राचार गरेको स्रोतको दावी छ ।


सहकारीका अध्यक्ष चौलागाईले पूर्व सेन्चुरी कमर्सियल बैंकबाट कमसल धितो जमानत राखेर रु. २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ऋण लिएका थिए । त्यसमध्ये रु. ९९ करोड १९ लाख ६० हजार ओभर भ्यालुएसन गराएको ब्युरोले अनुसन्धानका क्रममा देखिएको व्युरो स्रोतको दावी छ । प्रहरीस्रोतका अनुसार, उक्त ऋणमध्ये करिब १ अर्बको ओभर भ्यालुएसन गराएको अनुसन्धानका क्रममा फेला परेको बताइन्छ । (साँघु साप्ताहिक, २०८० फागुन २१)
 

प्रतिकृया दिनुहोस