• आइतबार-बैशाख-१६-२०८१

एयरटेल सहकारीका ठगलाई मन्त्रीको साथ !: नेपाल प्रहरीको सीआईबी के गर्दै ?

 

पाँच वर्ष अघि नै सहकारीभित्र करोडौं–करोड घोटला गरी सहकारीको रकम झ्वाम पारेका एयरटेल सहकारीका प्रवन्ध सञ्चालक अशोक गोयल अदालतको आदेशले दुई वर्ष कैद बसेर पीडित बचतकर्ताको रकम छ महिनाभित्र फिर्ता गर्ने शर्तमा रिहा भएको भएता पनि लामो सयमसम्म आफ्नो सहकारीमा डुबेको रकम फिर्ता नपाएका हामी पीडितहरु यतिबेला उही ठग गोयल पक्षसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीमा छलफल भन्दै तीन–चार पटक पुगिसकेका छौं । तर, सीआईवीले गर्नुपर्ने अनुसन्धानको पाटो भने शून्य बराबर भएको महसुस गरेका छौं ।


हामीले हाम्रो बचत रकम फिर्ता पाउन धाइरहेका हौं । छलफल गरिराख्नुको कुनै मतलव नै छैन । यसअघि नै ठगी भएको न्यायलयले प्रमाणित गरिसकेको छ । सो सहकारीमा फसेको हाम्रो रकम छ महिनाभित्र फिर्ता गर्नैका लागि उनीहरु रिहा भएको हो, तर हाम्रो रकम फिर्ता गराउने भन्दा पनि अरु सहकारीभित्र रहेको रकम कसरी ठगी गर्ने भन्ने तिरै ध्यान दिएजस्तो लाग्न थाल्यो ।


  रकम हिनामिना गरेको अभियोगमा अनुसन्धान गरी प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेपछि समस्याग्रस्त रहेको एयरटेल सहकारीमा त्यसअघि प्रवन्ध निर्देशक रहेका अशोक गोयलले आफ्नै श्रीमती सुमन केडिया (गोयल)लाई अध्यक्ष र छोरीलाई लेखापालका रुपमा जिम्मेवारी तोक्दै सहकारीभित्र लुट मच्चाइरहेका थिए । सयौं जनाको करोडौं रकम डुबेको भएता पनि प्रहरीमा उजुर गर्न ६६ जना बचतकर्ता पुगेका थिए । त्यसबेला ६६ जनाको मात्रै रु. २५ करोड बढी रकम हिनामिना गरेको अभियोग न्यायालयले पनि पुष्टि गर्दै अशोक, उनकी पत्नी सुमनलगायत आधा दर्जन बढी सञ्चालक समितिमा रहेकाहरुमाथि कैद र जरिवाना समेत तोकेको थियो ।


तर, पीडित बचतकर्ताको रकम छ महिनाभित्र फिर्ता गर्ने सशर्त आदेशमा छुटेका प्रवन्ध सञ्चालक अशोक गोयलले मौकाको फायदा उठाउँदै सहकारीमा जग्गा–जमिन धितो दिएर कर्जा लिएकाहरुको जग्गा फुकुवा गराई त्यो रकम समेत ठगी गर्ने नियतले समस्याग्रस्त सहकारीको तदर्थ समितिको आफैंलाई अध्यक्ष तोकेर नयाँ र नौला अनुहारलाई सदस्य तोक्दै अवैध कार्य समिति गठन गर्दै विशेष साधारणसभा गर्न खोजेपछि हामी पीडितले बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई गुहार्न पुगेका थियौं ।


ठग अशोक गोयलको चास्नीमा डुबेका सहकारी मन्त्री पुकार महर्जनले उल्टै पीडित पक्षको निवेदन उपर वेवास्ता गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नै अघि सर्नु परेको थियो । काठमाडौंको किर्तिपुरतिर घर भएका र माओवादी पार्टीमा राजनीति गरेका पुकार महर्जन आर्थिक रुपमा निकै लालची भएको कुरा खुलेआम ठगी प्रमाणित भइसकेका अशोक गोयलकै पक्षमा देखिंदा सहकारी मन्त्रालयमा त्यहाँका कर्मचारीका अगाडि मन्त्रीको अनुहार उदांगो भइसकेको अवस्था छ ।


  समस्याग्रस्त सहकारीलाई तङ्ग्रयाउनका लागि समस्याग्रस्त हुने बेलामा सञ्चालक नरहेको व्यक्ति तदर्थ समितिमा रहनु पर्नेमा दुई वर्ष कैद सजाय नै भोगेर निकस्केकै व्यक्ति तदर्थ समितिको अध्यक्ष भन्दै विशेष साधारणसभा गर्न भन्दै स्वीकृितको माग गर्न जाँदा बागमती प्रदेश संस्कृित, पर्यटन तथा सहकारी मन्त्रालयले कसरी र कुन कानूनका अधारमा स्वीकृति दियो ? यही विषय रहस्यमय देखिन्छ । पछिल्लो समय पीडित पक्षले जव कानूनले नै बर्जित गरेको व्यक्तिलाई किन अध्यक्ष स्वीकार गरियो ? भनेर प्रश्न गर्दा जिम्मेवार कर्मचारी मात्र मुखामुख गर्ने, मौन रहने गर्नुले नै मन्त्री महर्जनको दबाबमा पर्नु परेको प्रष्ट देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगममा यसै सन्दर्भलाई लिएर उजुरी परेको छ ।


बाध्य भएर सहकारी मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)लाई अनुसन्धान गर्न २०८० पौष २६ गते पत्राचार गरेको र उक्त पत्रको गृह मन्त्रालय र नेपाल प्रहरीको प्रधान कार्यालयलाई समेत बोधार्थ दिएको अवस्था छ । तर, १२ दिन बितिसक्दा पनि अनुसन्धान प्रगति शून्य भैरहनुलाई नेपाल प्रहरीको सीआईवी पनि अमलमा परेको हो कि भन्ने महसुस गरेका छौं ।     – एयरटेल सहकारीबाट पीडितहरु (साँघु साप्ताहिक, २०८० माघ १०)
 

प्रतिकृया दिनुहोस