• शनिबार-माघ-२६-२०८१

वडा अध्यक्षको रिहाइको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम, हजारौं यात्रु बिच बाटोमै अलपत्र

 

सिरहा, १४ पुस । चुरे तथा वन क्षेत्रबाट अवैध उत्खनन्को सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाइ गर्न माग गर्दै कर्जन्हा नगरपालिका मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन् । 


कानून विपरित उत्खनन् सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाईको माग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हाको बन्दिपुरमा सडक जाम गरेको हो । 


सडक जामका कारण सयौं सवारीसाधन र हजारौंको संख्यामा यात्रुहरु अलपत्र परेका छन् । विभिन्न कामले हिडेका यात्रुहरु विनाकारण विच बाटोमा बिचल्लीमा परेका छन् । 


वडा अध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहान सिरहाले शुक्रवार पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ । वन क्षेत्रभित्रको जग्गामा पोखरी खन्ने गैरकानूनी ढङ्गले सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष पोखरेललाई नियन्त्रणमा लिएको हो । 


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्वुले सडक खुलाउने प्रयास भइरहको जनकारी दिए । 


प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सवैले आ–आफ्नो अधिकारक्षेत्र भित्र रहेर कामगर्नु पर्ने भन्दै वन कार्यालयले अधिरकार क्षेत्र नाघेको बताए । उनले भने सबैले आ–आफ्नो अधिकार क्षेत्रमा रहेर काम गर्नु पर्छ, निजी जमिनमा खन्दा पनि वनले जनप्रतिनिधि नियन्त्रणमा लिनु अधिकारक्षेत्र बाहिरको काम भएको बताए । 


निजी जमिनमा उत्खनन गर्दापनि सरोकारवालाहरुसँगको सहमतिमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेरमात्रमात्र उत्खनन गर्न पाउने कानूनी प्रावधान रहेको छ । तर, पोखरी खन्ने र जमिन सरसफाइको नाममा ठेकेदारलाई सिफारिस दिनु गैर कानूनी भएको स्थानीय अधिकारकर्मीहरुको कथन रहेको छ । उनीहरुले जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमै जथाभाबी उत्खनन भइरहेको बताएका छन् । 


विभिन्न प्रलोभनका कारण सिरहाका उत्तरी क्षेत्रका वडाहरुको ग्राभेल उत्खन्न गर्न वडा अध्यक्षहरुले पोखरीको सिफारिस दिने गरेको छ । उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाएपनि यहाँबाट ग्राभेल तस्करहरुलाई सहज पार्न वडा कार्यालयको मिलेमतोमै पोखरी खन्ने सिफारिस दिनेगरेको स्थानीयको आरोप छ ।

 

 

प्रतिकृया दिनुहोस