• सोमबार-बैशाख-२९-२०८२

नेपाल सुपर लिगमा आज दुई खेल : झापा - पोखरा तथा ललितपुर - धनगढी प्रतिस्पर्धा गर्दै 

 

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्र्तगत शनिबार दुई खेल हुने भएको छ । 

 

दिउँसो १ बजेबाट सुरु हुने पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स भिड्दैछन् । यस्तै साँझ साढे ५ बजे हुने दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आज पोखराको लागि यो तेस्रो र झापाकको लागि दोस्रो खेल हुनेछ ।

 

दुई खेलमा अपराजित रहेको पोखराले आफ्नो पहिलो खेलमा एफसी चितवनलाई १–० ले पराजित गरेको थियो । दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको पोखरा अपराजित यात्रालाई निरन्तरता दिने योजनामा देखिन्छ । 

 

झापा पहिलो पटक एनएसएल खेलिरहेको नवप्रवेशी टोली हो । टोलीको मार्की तथा कप्तानमा राष्ट्रिय टिमका सर्वाधिक गोलकर्तामध्ये एक अन्जन विष्ट छन् । स्पानिस मुख्य प्रशिक्षक रहेको झापा पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग १–० ले पराजित भएको थियो । झापा आज पहिलो अंक र जितको लक्ष्यमा हुनेछ । 

 

यस्तै आजको दोस्रो खेल दुई अपराजित टोली धनगढी एफसी र ललितपुर सिटी एफसीबीच हुनेछ । यो खेल साँझ साढे ५ बजे दशरथ रंगशालामै हुनेछ । दुवै टोली अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छन् ।

 

धनगढीले यसअघिका दुवै खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । एक जित र एक बराबरी खेलेको ललितपुर ४ अंकसहित दोस्रो स्थानमा छ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता रहेको छ । 


 

प्रतिकृया दिनुहोस