• सोमबार-बैशाख-२९-२०८२

रवि लामिछानेकाे दल रास्वपामा पनि पद कै भाेका झुण्डहरुकाे केन्द्रीय समिति बन्याे

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूनिकटलाई मात्रै पद बाँडेनन्, पदका आकांक्षीहरुलाई पद बाँडेर साे पार्टीमा पनि पदका भोकाहरुको जमात रहेको पुष्टि गरेका छन् ।

सभापति लामिछानेले महाधिवेशन पनि पछि धकेलेका छन् । अहिले महाधिवेशनको समय अनिश्चित समयका लागि धकेलेका छन् भने विधान विपरीत पदहरु बाँडेको पनि बताइएको छ ।


  मधेश प्रदेशमा अति नै कमजाेर सांगठानिक अवस्थामा रहेकाे रास्वपाकाे महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय कमिटीले मधेश प्रदेशकाे ध्यानाकर्षण गर्ने कुनै विशेष प्रस्ताव पनि ल्याउन सकेन ।

 

 लामिछानेले पार्टीमा जिम्मेवारी दिँदा परम्परागत दलकै नेतालाई अनुशरण गरेर परम्परागत दलका शीर्ष नेताहरूले झै भद्दा कमिटी बनाएको र आफू निकटलाई मात्र जिम्मेवारी दिएको आरोप लाग्न थालेको छ ।

 

ठूला दलहरुमाथि लामिछानेले राम्रा भन्दा हाम्रा भनेर जिम्मेवारी दिने गरेको भन्दै उछितो काढ्ने गरेका थिए । र, उनीनिकटका नेताहरु पनि त्यही भन्ने गर्थे तर त्यसो भन्ने सबै पदका लागि मरिहत्ते गरेर पद लिएका छन् । कतिसम्म भने आफू निकटहरूलाई पदीय जिम्मेवारी दिन हतारमा पार्टीको विधान नै संशोधन गरेका छन्।

 

  मधेश प्रदेशकाे महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकबाट जनाधार भएकाभन्दा निकटलाई पदाधिकारी र केन्द्रीय सदस्य बनाइएको पनि आरोप लागेको छ  । लामिछानेले पदाधिकारी १३ सदस्यीय र केन्द्रीय समिति ६४ सदस्यीय बनाएका छन् ।

 

लामिछानेले आफ्नो बहुमत पुग्ने गरी केन्द्रीय सदस्यहरु मनोनित गर्ने विगतको परम्परालाई निरन्तरता दिएर आफू निकट विपीन आचार्यलाई सहमहामन्त्री, दीपक बोहरालाई सहकोषाध्यक्ष तथा रमेश प्रसाइँ र प्रतिभा रावललाई सहप्रवक्ताको जिम्मेवारी दिएका छन्।

 

  उनीहरुको मनोनयनसँगै पदाधिकारीमा पनि आफू पूर्ण बहुमतमा हुने परिस्थिति निर्माण गरेका छन् । स्वर्णिम वाग्लेलाई नचाहँदा नचाहँदै नै उपसभापति बनाएका लामिछानेले मनिष झालाई सहप्रवक्ता बनाएका छन् । झा पनि वाग्लेनिकट मानिन्छन् ।

 

लामिछानेको पदाधिकारीमा उनीसँग विगतमा टेलिभिजनमा काम गर्नेहरु नै हावी भएका छन् । काठमाडौंमा बलियो जनाधार भएका विराजभक्त श्रेष्ठलाई पार्टीमा पदाधिकारीकाे जिम्मेवारी दिईको छैन भने रविको आलोचना गर्ने गणेश कार्की पनि पदाधिकारीमा परेनन् । त्यसैगरी, अरनिको पाण्डे पनि पदाधिकारीमा अटाएका छैनन् । त्यसैगरी, शिशिर खनाललाई समेत पदाधिकारीको टोलीमा राखिएको छैन।

 

  रास्वपाको विधानको धारा २५ मा केन्द्रीय कार्यसम्पादन समिति ११ सदस्यीय रहने र केन्द्रीय सदस्यमध्येबाट १० जना नियुक्त गरी आफूसहितको ११ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति सभापति १, उपसभापति २, महामन्त्री १, सहमहामन्त्री २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १, सहप्रवक्ता १ गठन गरिने विधानमा व्यवस्था थियो । तर, पद बाँड्नुपर्ने भएपछि अहिले उक्त व्यवस्था संशोधन गरिएको छ । सहमहामन्त्री ३ जना बनाएका छन् भने कोषाध्यक्ष १ र २ सहकोषाध्यक्ष गरी ३ र सहप्रवक्ता ३ जना बनाएका छन्

( केन्द्रीय समितिकाे पूर्ण विवरण यता https://rspnepal.org/executive-members)

 

प्रतिकृया दिनुहोस