• बुधबार-कार्तिक-७-२०८१

चिफसा’ब ! सेनाका सकलदर्जाका कथा–व्यथा सुन्न मिल्छ कि ?

 

एउटा जवानले र उसको लेवलको सैनिकले कुन सेनापतिले कति रकम जम्मा गरी अर्काे सेनापतिलाई हस्तान्तरण गर्नुभयो भन्ने कुराको कुनै अर्थ राख्दैन र सम्झनलायक पनि सायद नहोला । सकल दर्जाको मानसपटलमा त राष्ट्रको र सैनिक व्यक्तिको जीवनमा कुन चिफसाबले के के सम्झनलायक र सुधारका र सुविधाका कामहरु गर्नुभयो भन्ने कुरा नै बढी सम्झन्छन् जस्तो लाग्दछ । 


एउटा तल्लो दर्जाको सैनिक १८औं वर्ष  सेवा गरेपछि बल्ल बल्ल शान्ति सेना जाँदा जसले पाउने रकममा अधिकृत र जवानको विभेदमा रुष्ट हुन्छ । पाँचखालको अव्यवस्थित आवास र जवानको भान्सा ट्वाइलेट र बस्ने घर र राशनमा नै विभेद गरेको देख्दा धेरै नै मनलाई गहु्रंगो बनाउनुभन्दा कुनै विकल्प छैन । उसको कुरा सुनुवाई हुनुको त परको कुरा, त्यस्तै बल्ल बल्ल शान्ति सेना परेको सैनिक आफ्नो ब्याजीहरु शान्ति सेनाबाट टुर घुम्न गएका र सुन्दर र विकसित ठाउँको फोटो पठाउँदा पीडा हुन्छ । अन्य अफ्रिाकाको दुर्गम ठाउँमा कार्यरत सैनिक नेटको असुविधाको कारण आफ्नो घर परिवारसँग सम्पर्कविहीन हुँदा उसको काम गर्ने क्षमतामा ह्रास आई मनोबल कमजोर हुन्छ । 


 त्यस्तै आजको महंगीले तलबले परिवार पाल्न कठिन भएको अवस्थामा नेपाली सेनामा रहँदा आफूले पाएको राशनहरु आफ्नो परिवारलाई दिएमा कम्तीमा पनि परिवार चलाउन सहज हुने थियो भनि आशा राख्दछ । आर्मी अस्पतालले दिने परिवारको लागि स्वास्थ्य सुविधामा आफ्ना सबै सन्ततिहरु वञ्चित हुन नपरोस् भन्ने आशा राख्दछ । एकजना भूतपूर्व सुवेदारले भन्नुभएको कुरा सम्झेर यहाँ उल्लेख गर्न चाहन्छु ।

 

जुन सुवेदारका तीन सन्तान रहेछन्, जेठो सन्तान बिरामी भई १७ वर्षको उमेरमा बिरामी पुस्तिका बनाई करिब तीन वर्ष अगाडि १ हप्ता छाउनी अस्पतालमा उपचार गर्दा अन्दाजी ५,७ हजारको खर्च भएको थियो । त्यसपछि १ वर्ष नपुग्दै पढाईको लागि क्यानडा गएकी निज सुवेदारकी जेठी छोरी आज करिब ३ वर्ष पूरा गरी ४ वर्ष लाग्यो । उनको ठाउँमा अर्काे सन्तानलाई उपचार गराउन पनि सैनिक अस्पतालबाट मिल्दैन भन्ने आदेश भएछ र उहाँको तेस्रो अर्थात् कान्छो सन्तानले पटक पटक बुवालाई सँधै बाबा किन हजुरहरु सबै जना हजुरकै सैनिक अस्पतालमा बिरामी हुँदा उपचार गर्नुहुन्छ, मलाई लैजानुहुँदैन ? 


किन आर्मी अस्पतालले मलाई बिरामी हुँदा उपचार गर्न नमानेको बाबा मैले आर्मीलाई कहिल्यै नराम्रो भनेको छैन त किन बाबा भनेर बारम्बार बिरामी हुँदा सम्झाउँदी रहिछन् । चिफसाब आजको समयमा प्राय व्यक्तिको एक वा दुई मात्र सन्तान हुन्छन्, तीन सन्तान भनेको करिब हजारौंमा सायद १ जनाको मात्र होला । तसर्थ भर्खर विकसित मस्तिष्कका साना बालबालिकाले आफ्ना दाजुभाइ र दिदीबहिनीमा विभेद भएको महसुस नहुने गरी सोच्नुपर्ने समय आएको हो कि  चिफसाब । 


कार्यकालको दोस्रो वर्ष पूरा भएको अवस्थामा चिफसाबबाट सम्बोधन भएको अर्काे कुरा योग्यता पुगेको सैनिकले घर जाने बेलामा प्रमोशन लगाएर जान पाउने र कम्तीमा पनि सिपाहीबाट हवल्दार हुने व्यवस्था गर्ने कुरा एकदमै स्वागतयोग्य छ । त्यसको लागि गृहकार्य पक्कै भएको होला । मेरो आफ्नो अनुभव र तीन दशकको भोगाई र देखाईमा मेरा केही सुझावहरु राख्न चाहन्छु । 


चिफसाब, दशकौं अगाडि नेपालको विभिन्न जिल्लामा गुल्मबाट गण रुपान्तरण हुने क्रममा एउटा गण वा गुल्ममा १००, २०० जना सैन्य तालिम पूरा भएका सैनिकलाई पदपूर्तिका लागि एउटै गणमा समायोजन गरिन्थ्यो । ताकि त्यस गणका रिक्त दरबन्दी  पूरा गर्नको लागि र २०० जना एउटै गणमा परेका सैनिक ब्याजीहरु आफ्नो तालिम र योग्यता पूरा भएका र अगाडि  सिनियर भएकाहरु रोलक्रम अनुसार अगाडि नम्बरका ब्याजी जमदार हुँदा पछाडिका दौतरी, ब्याजी साथीहरु पहिलो खुड्किलो प्रवेश गर्न प्युठमा प्रमोशन हुने अवस्था पनि हुने थिएन ।

 

आफ्नो तालिम र योग्यता हुँदा पनि अवसर नपाएर जागिरबाट विदा हुनुपर्ने अवस्था थियो र अझ पनि छ । किनकि एकैदिन जागिरमा नियुक्ति भएका १००औं ब्याजी साथीहरु दरबन्दी रिक्त  नहुँदा आफूभन्दा कम योग्यता भएकाहरु जमदार, सुवेदार हुने र आफू ठाउँ रिक्त नहुँदा सिपाही र प्युठमै विदा हुनुपर्ने जुन अवस्थाले सेनाको चेन अफ कमाण्ड एकदमै फितलो र कमजोर बन्दै गएको अवस्था थियो र छ ।

 

तसर्थ जसरी अहिले शान्ति सेना जानको लागि आर्मी हेडक्वार्टरबाट जेष्ठता अनुसार प्रत्येक युनिटमा नाम पठाइन्छ । त्यसैगरी प्रमोशनका लागि पनि जेष्ठतामै आर्मी हेडक्वार्टरबाट पदपूर्ति गरी खाली रिक्त जुनसुकै युनिटमा गर्दा उपयुक्त हुन्थ्यो कि । सायद जसरी जगदल अन्तर्गतका युनिटमा जता रिक्त रहेको पदलाई यस अन्तर्गत जुनसुकै गणमा पनि पदपूर्ति गरिन्छ । अन्यमा पनि त्यो नीति अवलम्बन गरेमा राम्रो हुन्थ्यो कि भन्ने जिज्ञासा राखेको छु । 


प्रधानसेनापतिज्यू, 
थाहा भएकै कुरा हो, अति विशिष्ट व्यक्ति सेवा निर्देशनालय नारायणहिटीमा कार्यरत युनिटमा पोस्टिङ जाने सैनिकको पहिलो पोस्टिङ भएर यस गणमा आयो त्यही सैनिक सिनियर हुने चलन थियो । मानौं ३ वर्ष जागिर भएको सिपाही त्यस गणमा पहिला १ दिन मात्र पहिला प्रवेश ग¥यो र १० वर्ष सेवा भएको सिपाही ३ वर्ष सेवा भएको सिपाहीभन्दा १ दिन ढिला त्यस गणमा प्रवेश ग¥योभ ने त्यही १ दिन अगाडि पोस्टिङमा जाने सिपाही सिनियर भई सम्पूर्ण अवसर प्राप्त गर्दथ्यो भने पछाडि त्यस गणमा प्रवेश गर्ने व्यक्ति अवसरबाट वञ्चित भई सिपाहीबाट नै अवकाश हुनुपर्ने थियो । त्यसको असर आजसम्म पनि परिरहेको छ । त्यस्तो नियम एमटी गण, युद्धकवच गणमा पनि थियो र त्यसको असरले गर्दा एउटै ब्याजी सुवेदार छन् । अझ भन्नुपर्दा कार्यरथी विभाग निवेशमा त करिब दुई अढाई दशक पार गरेका व्यक्ति पनि सिपाही रहन बाध्य छन् । किनकि यस गणमा कम्तीमा सिपाहीमात्र पोस्टिङ आउन मिल्ने नीति लागू भएमा दुई अढाई दशक एउटै दर्जामा रहनपर्ने स्थिति थिएन कि ? 


चिफसाब, यस दरबन्दी पदपूर्ति सम्बन्धी नीतिको बारेमा र सेनामा लामो समयसमम आफ्नो जिम्मेवारीमा रही सेवा गर्ने सैनिकहरुमध्ये जंगी अड्डाको नजिक रहेको विद्युत तथा यान्त्रिक सेवा निर्देशनालय अन्तर्गत रहेका युनिटहरुमा भने लामो सेवा गरेका सकल दर्जाहरुलाई आफ्नो योग्यताअनुसार क्रमबद्धरुपमा चाहे २५ वर्ष सेवा गरेको हवल्दार किन नहोस् आफ्नो अवकाश समय नजिकिँदा कम्तीमा पनि अफिसर (मानार्थ) भएर अवकाश हुनलाई योग्य हुन्छ । किनकि प्रमोशन हुनलाई सेवा अवधि र योग्यता भएमा पनि पहिला अवकाश हुने सैनिकलाई पहिला प्रमोशन गरी कम्तीमा पनि मानार्थ अधिकृत भएर जानलाई योग्य हुन्छ । 


 जहाँसम्म नेपाली सेनाको युनिटहरु मध्येमा जुनियर, सिनियर नभनी योग्यता र जेष्ठतालाई आधार मानेर जागिरको अवधि मिति नजिकै छ भने पनि प्रमोशन दिनलाई कुनै बाधा अवरोध हुँदैन । ताकि आफ्नो योग्यता र तालिम पुरा गरेको अवस्थामा तसर्थ २ वर्षको नेतृत्वको कुशल जिम्मेवारी व्यतित गरी तेस्रो वर्षमा प्रवेश गर्नुभएका र हालसमम कुनै पनि विवादित नभई र आफ्नो कार्यमा उच्च छवि बनाउनु भएका हालका प्रधानसेनापतिज्यूले जुन कुरा सम्बोधनमा गर्नुृभएको छ । एउटा सिपाही घर जाने बेलामा निश्चित अवधि पार गरी अवकाश वा राजीनामा जाँदा एक प्रमोशन दिने निर्देशन भएको छ र कम्तीमा पनि १७ वर्ष पूरा जागिर अवधि भएका सिपाहीलाई हवल्दार दर्जाको पेन्सन दिने सम्बोधनले पक्कै पनि आज हजारौं सैनिकहरुको मनोबल उच्च भएको छ ।


तर कार्यरथी विभागमा कार्यतर दुई ढाई दशक सेवा गरेका र हालसमम पनि एउटा पनि खुड्किलो उक्लिनलाई तालिम र रिक्त दरबन्दी बाधक भएको अवस्थामा पक्कै पनि सिपाहीलाई हवल्दार सम्मको तालिम गर्नको लागि कुनै बाधा अडचन हुने छैन र रोलक्रमअनुसार भन्दा पनि सेवा अवधिलाई बढी महत्व दिई चिफसाबको भावनाअनुसार सेनाको नीति निर्माणमा रहनुहुने विभागीय प्रमुखहरुले सहजीकरण गरी योग्यता र दृढ इच्छाशक्ति भएका हजारौं जवानलाई तालिम गर्न गराउन र प्रमोशनमा रोलक्रमभन्दा पनि जागिरको जेष्ठतालाई महत्व दिई चिफसाबको भावनालाई साकार पार्न समन्वयकारी भूमिका निर्वाह हुनेछ भन्ने आशाका साथ आज तीन दशकको सैनिक जीवनको भोगाई र आफुभन्दा तल्लो दर्जाको सल्लाह सुझावलाई चिफसाब समक्ष पस्कने प्रयास गरेको छु । जे देखे जे लेखें अवसरबाट वञ्चित र माथिल्लो तहसम्म आउन नसकेका सुधार गर्नुपर्ने आवश्यक सल्लाह र सुझावलाई यसै पत्रिकामार्फत चिफसाबसमम पु¥याउने प्रयास गरेको छु ।           –लेखक सेनानी, हाल सुदूरपूर्वमा कार्यरत  (साँघु साप्ताहिक, २०८० असोज २२ बाट)
 

प्रतिकृया दिनुहोस