• बुधबार-बैशाख-१२-२०८१

तब न हाम्रा देवकोटा र शंकर !

 

लक्ष्मी प्रसाद देवकोटा र शंकर लामिछाने दुवै अन्तर्मुख । विचार र लेखनमा तल्लिन । दुवै तर्कशास्त्री । जित्नै पर्ने । तर, अज्ञानतावश होइन, अन्तरज्ञानबाट नै । भावनाको प्रवेगमा बगेपछि नदी जस्तै फर्किन नजान्ने देवकोटा । थोरै छचल्किदै, किनारको बालुवालाई लडाएर सफा पानी धमिल्याउने, फेरि सङ्लिनका लागि समय दिने लामिछाने । 


कलममा सरस्वतीको वास । अक्षरलाई मनले खेलाउनु नपर्ने । भाँचिएको सिसाकलमको सानो टुक्राले पनि शक्तिको हुँकार गर्न सक्ने अद्म्य साहस बोकेका देवकोटाको समीप शंकरको युवा जोस र टाइसुटको छुट्टै रवाफ थियो । अझ त्यसमा भिरिएको विदेशी कलम र चुरोटको सान सौगात । 


कथा र निबन्धमा दुवैको समान रुची । सानो पीपलको दानाबाट विशाल वृक्ष बनाउने साहस भएका देवकोटा र गुण र रूप दुवै चाहने शंकर । तर, एक अर्काको लेखनमा दुवैको मोह थियो । शंकरले गुरुजी म पनि तपाईं जस्तै निबन्ध लेख्न चाहन्छु भन्दा देवकोटाले आधाबाटो हिँडिसकेको मान्छे फेरि फर्कदा उत्ति नै समय खर्च हुने सुझाएका थिए । यो भनाइले देवकोटाको लेखनमा शंकरको मोह छ, थियो भन्ने देखाउँछ । 


आधाबाटो पुगेको मान्छे लक्ष्यमा पुग्न र सुरु विन्दूमा फर्कन बराबर समय लाग्ने भएपछि शंकरले देवकोटा पथ पछ्याउन छोडे । फलतः निबन्ध र कथाका लागि शंकर एउटा ‘ब्राण्ड’ बन्यो । अग्रेजीमा आफुलाई अब्बल छु भन्ने ठानेका शंकरले देवकोटाको परीक्षा लिनका लागि चार लाइन पद्यलाई अग्रजीमा अनुवाद गर्न भने । देवकोटाले लय, मात्रा र मिटरसमेत मिलाएर अनुवाद गरेपछि शंकरको म अग्रेजी विषयको ज्ञाता हुँ भन्ने भ्रम एकाएक सेलाएर गएको आफैले स्वीकार गरेका थिए ।


उनले भनेका छन् ‘कुनै म्याट्रिकको जाँच दिने तयारीमा अग्रेजीको पाठ घोकिरहेको विद्यार्थीको कोठामा झुक्किएर आएछु, थोत्रो कम्बलले बेरिएर धोती मात्र लाएको बूढो मान्छेलाई देखेर मेरो मनमा आएको विचार देवकोटाको बाह्र कथा बाह्र घण्टाको उच्चारणले पानीपानी भएको छु ।’ भने बाट थाहा हुन्छ । उनले भनेका छन्, अन्तरज्ञान पलाउन पनि समय चाहिन्छ । 


अरुले गरेको काम सबैलाई सजिलो लाग्छ । कलामा म कति पोख्त छु भन्ने जान्नका लागि नदीमा पौडनु पर्छ । अरुले पौडिएको देख्दा रमाइलो लागेपनि आफु पौडिन जानिएन भने नदीले उतार्नुको सट्टा डुबाउँछ । यो ज्ञान शंकरले देवकोटाबाट पाएको बताएका थिए । 


बर्खामा पृथ्वीको भित्रि भागमा नअटाएर पानी भुल्किएर बाहिर आएझैं बग्नुपर्ने देवकोटाको भन्दा फरक स्वभावका शंकर । सूर्य बिक्रम ज्ञवालीको भान्जो न परे । अभावको कुनै शंकेत थिएन । नत्र देवकोटाको मैलो कम्मल र गाता सद्दे नभएको किताब र नबढारिएको कोठाको बखान किन गर्थे ।


बाबुले श्रद्धा पढ्न गएपनि हुने, अव त ठुलो भइँस बाउलाई सघाउनु पर्दैन भन्ने प्रश्नलेमात्र जीवनमा डर के हो भन्ने जेलिएको थियो । बाँकी त सबै उस्तै थियो स्वतन्त्र जंगलको चरा जस्तै । मैले त्यसै रत्ना गुरुङसँग बिहे गरे होला भन्ने प्रश्नले श्रद्धा गर्ने कामबाट छुटकारा पाउनका लागि नै अन्तरजातीय विवाह गरेको हो भन्ने प्रष्ट हुन्छ । हिम्मत नभएको भए यो संभव थिएन । 
देवकोटाको बाटो छोडौं र आफ्नो बाटो रोजौं भनेपनि उनलाई मनको अन्तर कुनामा बसेर देवकोटाले हेरिरहेको लाग्यो क्यारे । शाकुन्तल महाकाव्य २००२ सालमा प्रकाशित हुँदा देवकोटाले भूमिकामा दुई महत्वपूर्ण वाक्य लेखे ।


त्यसमा पहिलो थियो –‘यो महाकाव्य आयरल्याण्डको सर्प हो ।’ धेरैले यो विषयलाई चासो दिएनन् । वा, उनको सांकेतिक भाषालाई बुझेनन्, यसै भन्न सकिन्न । तर, जे भएपनि यो कृति नेपाली उपन्यासमा एउटा मानक सावित हुनेछ भन्ने उनको सन्देश थियो । धेरैले यो विषयलाई हावामा उठाए । कारण देवकोटाको त्यो अद्म्य साहस र क्षमता बुझ्न सक्ने शक्ति त्यतिबेलाका साहित्यकार र समालोचकमा सिर्जना भइसकेको थिएन । 


अर्को वाक्य लेखे –‘यो कृति सबैले पढ्छन् र बुझ्छन् भनेर लेखेको होइन, यसलाई पढेर बुझ्ने पाँचजना मात्र पाठक भएभने मैले लेखेको कृति सफल भएको ठान्ने छु ।’ यही वाक्यका कारण शाकुन्तल प्राकृतिक साहचर्य र मानव प्रकृतिको मधुर संयोजन गरिएको अर्को कृतिको रचना अझै हुन सकेकोे छैन ।


मानव जीवन र प्रकृतिलाई बुझ्नका लागि सजिलो कहाँ छ र ? त्यसै पाँच जना पाठक भए हुन्छ भनेर कुनै लेखकले भन्न सक्छ र ? यो आफैले आफुलाई गरिएको विश्वास हो । मान्छेले सारा संसारलाई ढाँटेपनि आफ्नो मनलाई कहिल्यै ढाँट्न सक्दैन ।


यो आधारलाई शंकरले पनि गर्वका साथ प्रस्तुत गरे, गौँथलीको गुँडमा । २०२५ सालमा प्रकाशित यो कृतिको भूमिकामा लेखे–‘मैले यो कृति आजका पिँढीको लागि लेखेको होइन, आजभन्दा पचास वर्ष पछिका पिँढीको लागि लेखिरहेको छु ।’ विज्ञानको विषयलाई आधार मानेर लेखिएको माया नम्बर ६५३ शीर्षकको कथाले टेष्ट ट्यूब बेबीको कल्पना ०२५ साल अगाडि नै गरेको थियो ।


शंकरको यो सर्वाधिक चर्चित कथा पनि हो । उनले कल्पना गरेको समय झण्डै मेल खान पुगेको छ । नेपालमा टेष्ट ट्यूब बेबीको सुरुवात भएपछि ओममणि ०६१ फागुन २० मा जन्मिने टेष्ट ट्यूब बेबी प्रविधिका प्रथम व्यक्ति हुन् । तसर्थ शंकरले लेखेका कथामा तोकिएको समय सीमा उनको कल्पनाको उडानको एउटा सफलता हो भन्न सकिन्छ । 


नेपाली समालोचकहरूले देवकोटाको लेखनले मानव हृदयलाई छुने गरेको स्पस्ट पारेका छन् । हृदयको कोमलता र मस्तिष्क मन्थन दुवैलाई छोएर लेख्न सक्ने लेखकको रूपमा शंकरलाई चिनाएका छन् । यी दुवै दुईभित्रका एक हुन्, नेपाली साहित्यका लागि भन्ने विषयमा दुविधा मान्नु पर्ने कुनै कारण छैन । त्यसै आफू बाँचेको युगको आफै मानक हुन कसले सक्छ ? तब न देवकोटा र शंकर ।
 

प्रतिकृया दिनुहोस