• आइतबार-जेठ-१३-२०८१

सुरक्षा र खाद्यान्नसहित अनेकौँ चुनौतीबीच सुडानी शरणार्थी

 

युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण  इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ ।

 

सीमामा पर्खिरहेका सयौं शरणार्थी परिवारमध्ये केहीसँग राहदानी छैन । महिला र बच्चाहरूलाई छुट दिइए पनि आफ्नो पति, भाइ वा छोरालाई भिसा नदिएसम्म आफुहरू कतै जान नसकेको बताउने एक महिलाले आफुहरूले इजिप्टको वाणिज्य दूतावासको कृपा पर्खेर दिन बिताइरहेको बताउनुभयो । 

 

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार गत अप्रिल १५ मा दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच युद्ध सुरु भएयता एक लाख ३२ हजारभन्दा बढी शरणार्थी इजिप्ट आइपुगेका छन् ।

 

सीमावर्ती शहर वादी हल्फास्थित इजिप्टको वाणिज्य दूतावासले आफन्तलाई भिसा दिने पर्खाइमा रहेकी एक महिलाले केही दिनदेखि ‘कहिले भुइँमा त कहिले बसमा सुतिरहेको’ एएफपीलाई बताउनुभयो ।  

 

नाम नबताउने शर्तमा ती महिलाले भन्नुभयो, “हामी खार्तूममा आफ्नो घरबाट भागेको एक महिना पछि आफ्ना केही काकीहरूसँग सीमा पार ग¥यौँ, तर मेरो काकालाई भने प्रवेशाज्ञा मिलेको छैन । हामी उहाँहरूको पर्खाइमा इजिप्टको सीमानामा खुला आकाशमा दिन रात बिताइरहेका छौँ । हामी विदेशमा केही गर्न जान्दैनौ । काकाहरूविना हाम्रो अघिको यात्रा असम्भव छ । तर इजिप्टको वाणिज्य दूतावासले उहाँहरूलाई प्रवेश आज्ञा दिएको छैन । 

 

दुई हप्ताको प्रतिक्षापछि अन्ततः कायरो पुगेका अरू केही सुडानी नागरिकहरूले वादी हल्फामा फसेका कारण युद्धका समय फाइदा लुट्ने मुनाफाखोरहरूको व्यवहारको शिकार बनेको बताए । उनीहरूले सबै कुराको अत्यधिक मूल्य निर्धारण गरिएको बताए । 

 

आफ्ना अरू साथी वादी हल्फाबाट ६५० किलोमिटर (४०० माइल) टाढा रेड सीको सुडानी बन्दरगाह शहरमा रहेको उनीहरू बताउँछन् । त्यहाँ पनि उनीहरूलाई राहतको प्रत्याभूति छैन । तर पर्खिनुको विकल्प छैन । युसुफ अल–बशीरले आफू र अन्य सयौं व्यक्तिहरूले आफ्नो आवेदन पेश गर्न ‘पाँच दिनदेखि’ पर्खिरहेको बताए । 


सुडानबाट अन्य देशको सीमा क्षेत्रमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । भाग्न नसकेकाहरूमध्ये धेरैजना आधारभूत सामग्रीबिना नै आफ्नो घरमा बसिरहेका छन् ।

 

इजिप्टको सीमा पार गरेर आउनेहरूका लागि इजिप्टियाली रेड क्रिसेन्टले बिरामीहरूको हेरचाह गर्नुका साथै पानी र बिस्कुटहरू वितरण गर्छ । सुडानी शरणार्थीलाई शरण दिइरहेका अन्य छिमेकी मुलुकहरूको तुलनामा इजिप्टमा मानवीय कार्यहरू सीमित छन् ।

 

कायरोले शरणार्थी शिविर स्थापना गर्न अस्वीकार गरेको छ र यसको सट्टा नयाँ आउनेहरूलाई काम गर्ने र स्वतन्त्र रूपमा हिँडडुल गर्ने अधिकार दिइएको बताएको छ । राष्ट्रपति अब्देल फतह अल–सिसीले आफ्नो देशले ’युद्ध शरणार्थीलाई होइन’ तर ‘पाहुना’लाई स्वागत गरिरहेको बताउँदै आउनुभएको छ ।

 

इजिप्टको दक्षिणमा प्रवेश गर्ने सुडानीहरूले सीमाबाट करिब २०० किलोमिटर उत्तरमा रहेको सबैभन्दा नजिकको प्रमुख शहर असवानमा लैजान बसको टिकट किन्नुपर्छ । तिनीहरूलाई त्यहाँ स्वयंसेवकहरूले स्वागत गर्छन् जसले तातो खाना खुवाउँछन् । खतरनाक मरुभूमियात्रामा निस्केपछि सुडानी शरणार्थीहरूका लागि तातो खाना पहिलो पटक मिल्ने गरेको उनीहरू बताउँछन् ।

 

“हामी दिनमा तीन पटक खाना खुवाउँछौं । बिहानको खानामा चिकेन, पास्ता र सिमी हुन्छ,” करिब ६० स्वयंसेवकमध्येका एक मन्सुर जोमाले भन्नुभयो ।  उहाँले थप्नुभयो,“हामी एक दर्जन घरमा खाना पनि पु¥याउँछौं । कहिलेकाहीं एउटा आठ परिवारको समूह एकै ठाउँमा जम्मा हुन्छ । उनीहरूले त्यहीँ खान्छन् ।”

 

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धअघि ४० लाखभन्दा बढी सुडानी इजिप्टमा बसोबास गर्दै आएका थिए । छिमेकी देशहरूले अरबी भाषा, सांस्कृतिक सम्बन्ध र फारोनिक युगको काल्पनिक इतिहासको महशुस गर्छन् ।

 

वादी हल्फा छोडेर उत्तरतर्फ लागेका शरणार्थी वालिद अहमदले इजिप्ट ‘स्पष्ट’ गन्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो दोस्रो देश हो ।” इजिप्टस्थित आईओएम मिसनका प्रमुख कार्लोस क्रुजले भने, “इजिप्ट प्रवेश गर्न पर्खिरहेका हरूको सङ्ख्या बढ्दो छ ।”

 

विशेषगरी मधुमेह र अन्य दीर्घरोगका लागि पानी, खाना, सरसफाइ किट र औषधि उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय निकायलाई एक करोड ९९ लाख अमेरिकी डलर आवश्यक पर्ने उहाँले एएफपीलाई बताउनुभयो ।

 

“दीर्घकालमा शिक्षा र जीविकोपार्जनलगायत अन्य आवश्यकता पनि हुने र यसका लागी व्यापक मानवीय सहयोगको लागि बजेटको आवश्यकता देखिन्छ,” क्रुजले भन्नुभयो । 

प्रतिकृया दिनुहोस