• शुक्रबार-बैशाख-१४-२०८१

काठमाडाैंमा क्युवा, भेनेजुएला, ब्राजिल, चीन, घाना, दक्षिण अफ्रिका, मोरक्को, बङ्गलादेश, इटाली, स्पेनका कम्युनिष्ट

सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकृत हुनेछन् : प्रधानमन्त्री दाहाल

 

काठमाडौँ, २२ माघ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताउनुभएको छ । आइतबार बेलुका विभिन्न देशका कम्युनिष्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

भेटमा प्रधानमन्त्री दाहालले नेपालको कम्युनिष्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिष्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताउनुभयो । यही फेबु्रअरी १ देखि ५ गतेसम्म विभिन्न देशका कम्युनिष्ट, क्रान्तिकारी, वामपन्थी र समाजवादी पार्टीका प्रतिनिधिहरूको नेपालमा भएको अन्तर्राष्ट्रिय जनसभापछि उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
 

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएकामा जोड दिँदै जनताका प्रतिनिधिहरूले निर्माण गरेको नयाँ संविधानले क्रान्तिका महत्वपूर्ण कार्यभारहरू सम्बोधन गरेको बताउनुभयो ।

 

नेपालमा भएको क्रान्ति, शान्ति प्रक्रियाको विश्वव्यापी महत्व रहेकामा जोड दिँदै उहाँले आफ्नो नेतृत्वको सरकार जनताका अपेक्षा सम्बोधन गर्न प्रयत्नशील रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले आफूहरूकै पहलमा नेपालका कम्युनिष्टहरूको एउटै केन्द्र बनेको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न, समाजवादको आधार तयार पार्न र जनअपेक्षा सम्बोधन गर्न निरन्तर प्रयत्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको रूपान्तरणकारी आन्दोलनको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएको र सो कुरा विश्वभरिकै परिवर्तनका पक्षधर शक्तिहरूका निम्ति प्रेरणा हुनेसमेत उल्लेख गर्नुभयो ।
 

भेटमा क्युवा, भेनेजुएला, ब्राजिल, चीन, घाना, दक्षिण अफ्रिका, मोरक्को, बङ्गलादेश, इटाली, स्पेनलगायत देशका कम्युनिष्ट एवं वामपन्थी पार्टीका प्रतिनिधिहरू उपस्थित थिए ।
–––
 

 

प्रतिकृया दिनुहोस