• बिहीबार-मङ्सिर-२०-२०८१

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

 

बुटवल, २० माघ । बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्यपदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

 
रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

  
बुटवल उपमहानगर र रेडक्रस सोसाइटीबीच आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरू सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताउनुभयो । 

 

उहाँले समझदारीपछि बुटवलका बासिन्दाले रुपन्देहीका कुनै पनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नु नपर्ने व्यवस्था भएको र यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने बताउनुभयो ।
 

समझदारीपछि बुटवल र रक्तसञ्चार केन्द्रका बीचमा थप सिर्जनशील काम गर्नका लागि सहज वातावरण तयार भएको प्रमुख प्रसासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो । 

 

बुटवल र रक्तसञ्चार केन्द्रबीचको समझदारी लगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने र सहज हुने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो ।
 

 

प्रतिकृया दिनुहोस