• शुक्रबार-चैत-१६-२०८०

अफगानिस्तानमा शीतलहरका कारण  १०० जना भन्दा बढीको मृत्यु

 

काबुल, ९ माघ, (रासस-एएनआई) : अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विभिन्न प्रान्तहरूमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ  भने ५० घरहरू क्षतिग्रस्त भएका छन्, तालिबान नेतृत्वको मन्त्रालयका प्रवक्ता शफे रहीमीले बताएका छन् ।

 

अफगानिस्तानको घोर प्रान्तका स्थानीय अब्दुल जाहिरले चिसो मौसमका कारण आफूले एक सन्तान गुमाएको र अहिले गम्भीर आर्थिक अवस्था झेलिरहेको बताएका छन् । "मेरा सबै बच्चाहरू बिरामी छन्। तिनीहरूमध्ये एकको मृत्यु भयो र अरू तीनजना अस्पतालमा छन्," उनले टोलो न्युजलाई बताएका छन्।

 

टोलो न्यूजका अनुसार कमजोर आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गर्दछन् । फर्याब प्रान्तका बासिन्दा मोहम्मद अजिमले भने “धेरै परिवारसँग खानेकुरा, पिउने पानी र अन्य आधारभूत कुराहरू केही पनि छैन।

 

तालिबान नेतृत्वको सूचना तथा संस्कृति मन्त्रालयको तथ्याङ्क अनुसार विगत दुई हप्तामा चिसोका कारण दशौं हजार गाईवस्तु मरेका छन् । टोलो न्युजले हालै उल्लेख गरेअनुसार अफगानिस्तानको हेरात प्रान्तमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा १४० जनालाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन् ।

 

हेरातका बासिन्दाहरूले कडा जाडोमा घर न्यानो पार्न प्रयोग हुने ग्यास र दाउराको मूल्य बढेको गुनासो गरेका छन् । गत २४ घण्टामा अस्पतालको आपतकालीन वार्डमा १३० देखि १ सय ४० जना बिरामी ल्याइएको छ अस्पतालका प्रमुख अहमद फरहाद अफजालीले टोलो न्युजलाई बताएका छन्।

 

तापक्रममा अचानक आएको गिरावटले समस्याग्रस्त देशमा गरिबी र खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ नराम्ररी असर गरेको छ। 
-----
 

प्रतिकृया दिनुहोस