• सोमबार-जेठ-२६-२०८२

प्रशासक चुनौती व्यवस्थापन गर्न असफल भए

कर्मचारीहरू नागरिकप्रति भन्दा राजनीतिप्रति बढी झुकाव राखेको देखिन्छ

 

(२०४१ सालमा अस्थायी कर्मचारीको रुपमा इन्जिनियरिङ सेवाबाट निजामती सेवा प्रवेश गरेका सुमन शर्मा एक अनुभवी पूर्व प्रशासक हुन् । ०६९ सालमा सचिवमा बढुवा भएसँगै उनी पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा प्रशासक भएर काम गर्ने अवसर पाएका थिए । त्यसपछि महालेखा नियन्त्रक, ऊर्जा, अर्थ, संचार र शान्ति मन्त्रालयमा सचिवको रुपमा काम गरेको अनुभव छ । उनै शर्मासँग निजामती प्रशासनमा बढ्दो बेतिथि, राजनीतिक हस्तक्षेप र मुलुकको खस्कँदो अर्थतन्त्र र सुधारलगायतका विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि बोधराज पौडेल र रामहरि चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश : सम्पादक)


० तपाईं लामो समय निजामती सेवामा रहेर का गर्नुभयो, त्यो समय र आजको प्रशासनिक अवस्थाको तुलना गर्दा के फरक देख्नु हुन्छ ?


–प्रशासन संचालनको मुख्य धेय भनेको जनताको सेवा हो । सरकारले प्रस्तुत गरेका नीति र प्रतिपादन गरेका सिद्धान्तलाई कार्यक्रममा ढालेर संचालन गर्ने काम कर्मचारीतन्त्रको हो । अर्को कुरा नियमित सेवा प्रवाह गर्नु पनि हो । हिजो र अहिलेको कार्य संचालनमा केही फरक छैन । अहिले नयाँ र प्रविधिमैत्री प्रशासक आएका छन् । पहिलाभन्दा योग्यताका हिसाबले योग्य पनि छन् । तालिमका कारण पनि क्षमता वृद्धि भएको छ ।

 

विश्व संचारका कारण संकुचित भएको छ । कुनै पनि घटनाको तत्काल जानकारी लिन सकिने भएको छ । यसले जागरण बढाउँछ । क्षमता र योग्य बनाउँछ । तर, कर्मचारीतन्त्रमा यसले चुनौती पनि बढाएको छ । तुलनात्मक रुपमा भन्नुपर्दा सबै कुरा भएर पनि कर्मचारीहरुमा यतिखेर अनुभव र निर्णय क्षमताको कमी छ ।


० विकसित मुलुकमा कर्मचारीतन्त्रलाई सुदृढ र क्षमता विकास गर्नको विभिन्न किसिमका अभ्यास हुने गरेका छन तर नेपालमा भने यो सफल हुन सकिरहेको छैन्, यसको कारण के ठान्नु हुन्छ ?


–हो, पोर्चुगल, भारत, लगायत मुलुकममा जुन किसिमको रणनीति छ, त्यो हाम्रोमा लागु हुन सकेको छैन । त्यहाँको विकासको जुन मोडल छ, हामी त्यसरी जान सकेका छैनौ । अन्य देशको विकासको मोडल देख्दा त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । जसले कर्मचारीको क्षमता वृद्धि गर्ने अवसर पनि सिर्जना गर्छ । अवसरको साथै चुनौती पनि थपिएको छ । अहिले त्यसको व्यवस्थापन हुन सकेको छैन । 


०  राजनीति बढी हावी हुँदा निजामती कर्मचारी प्रशासनमा निर्णय क्षमता कमी आएको बताइन्छ , यसमा दोषी कमचारीतन्त्र हो कि राजनीति ?


–प्रशासनिक क्षेत्रमा अहिले राजनीति अलि बढी नै हावी हुँदै गएको देखिन्छ । राजनीतिले नीति बनाउने हो । त्यो नीतिलार्ई कार्यान्वयन गर्ने त कर्मचारीले प्रशासनले हो । जनताको आवश्यकताको आधारमा राजनीतिकर्मीले उनीहरुको समस्यालाई समाधान गर्ने गरी योजना र कानून निर्माण गर्नुपर्ने दायित्व उनीहरुको हो । त्यसलाई प्रभावकारी कार्यक्रमका रुपमा ल्याउने हो तर हस्तक्षेप गर्ने होइन ।

 

कर्मचारी सुपरभाइजर प्रति उत्तरदायी पनि हुन्छ । समयमा कामको मूल्याङ्कन गर्ने कार्य रोक्नमा कर्मचारी युनियन सक्रिय भएर लागेका छन् । यो विकृति रोक्नु पर्छ । अर्को कुरा भनेको हाम्रो मूल्याङ्कन प्रक्रिया कमजोर छ । यो परिवर्तन गर्नुपर्छ । यहाँ कामको आधारमा नम्बर दिनुपर्छ । बराबरी होइन । ‘टकाशेर भाजी टकाशेर खाजा’ गर्नु हुँदैन ।

 

पहिले प्रशासकलाई यस्तो दवाव हुँदैनथ्यो । अहिले क्रमशः यो बढ्दै गइरहेको देखिन्छ । पहिला भ्रष्टाचार लगायतका कुरा कम सुनिन्थ्यो । अहिले त्यो पनि बढ्दै गएको छ । यो राजनीतिक प्रभावका कारण भएको हो । 


० उच्च प्रशासकहरुले आफ्नो अधिकार प्रयोग गर्न नसकेको दोष राजनीतिक क्षेत्रबाट हस्तक्षेप भएको भन्न खोज्नु भएको हो ?


–अहिलेका केही प्रशासकमा  निर्णयक क्षमता घटेको छ । पहिला मन्त्रालयमा भएका कामको सूचना बाहिर कम आउँथे । त्यसले बजार हल्ला कम हुने कुरा स्वभाविक थियो । अहिले तुरुन्त सूचना चुहावट हुने भएकोले पनि कर्मचारीतन्त्रलाई पारदर्शी बनाउन जरुरी देखिएको छ । त्यसले उनीहरुमा उत्तरदायित्व स्वत बढाउछ । 


०  प्रजातन्त्रदेखि लोकतन्त्रमा आइसक्दा पनि कर्मचारी प्रशासनमा परिवर्तन आउन नसकेको गुनासा बढेका छन, क्षमता विकास हुन नसकेको कारणले बेतिथि बढेको हो त, यसकोे मुख्य कारण के हो ?


–हाम्रा देशका कर्मचारीको समय अनुसारको क्षमता विकास हुन सकेको छैन । प्रशासकले बनाएको योजनामा स्वतन्त्र रुपले काम गर्ने वातावरण बनाउनु पर्छ । स्वतन्त्र रुपले काम गर्ने वातावरण भएन भने उसले काम गर्न सक्दैन । काम गर्नका लागि क्षमता र निर्णयको अधिकार सहितको शक्ति प्रदान गर्नुपर्छ । अनि मात्र हामीले चाहेको रुपमा कर्मचारी र देशको विकास अगाडि बढ्न सक्छ । कर्मचारीलाई क्षमता र अवसर दुवै दिनुपर्छ । अवसरले व्यवहारिक ज्ञान प्राप्त हुन्छ भने क्षमता विकासले सैद्धान्तिक । अहिले सन्तुलित रुपमा यो काम हुन सकेको छैन ।


० तपाईले प्राबिधिक सचिव भएर पनि अर्थ मन्त्रालयको जिम्मेवारी राम्रैसँग वहन गर्नुसक्नु भएको थियो भनिन्छ, तर हाल सो मन्त्रालयका सचिवबारे गुनासो छ, यस बारेमा तपाईंको धारणा के छ ?


–मुख्य प्रशासक भएपछि जिम्मेवारी वहन गर्नुपर्छ । अर्थ मन्त्रालयको सचिव भनेको देशको मुख्य प्रशासक पनि हो । प्रशासकले गर्नुपर्ने काम के हो भने आफूसँग भएका औजार उपकरणलाई राम्रोसँग प्रयोग गर्न सक्नुपर्छ । कसैले एउटा गाडी चलाइरहेको छ भने त्यसलाई अर्कोमा हात बस्न केही दिन लाग्न सक्छ । तर, चलाउन सक्दैन भन्ने होइन । तर, त्यसमा समायोजन गर्नुपर्छ । चलाउने प्रणाली भनेको त उस्तै हो । अर्थ मन्त्रालय भनेको वित्त मन्त्रालय मात्र होइन । वित्त व्यवस्थापन मन्त्रालय पनि हो । तर, उसले त देशको पूरा विकास हाँकेको हुन्छ ।

 

यसको अर्थ के हो भने अर्थ मन्त्रालयले गर्ने मुख्य काम भनेको विकाससँग सम्वन्धित खर्च रकमको जोहो गर्नु नै हो । अर्को भनेको जनताको सेवा त छँदैछ । मेरो कुरा गर्दा मैले सबै सचिवहरुको सहयोग पाएँ । भाग्यले भन्नुपर्छ मसँग काम गर्ने तत्कालीन अर्थ मन्त्रालयका सबै सहसचिव क्षमतावान थिए । टीम क्षमतावान भयो र सचिवसँग अनुभव छ भने उसले निर्णय मात्र गरे पुग्छ । तर, त्यो विषयमा आफू जानकार हुन जरुरी छ । न्यायाधीश सबै कुरामा जानकार हुँदैन । तर, दुई पक्षको वहस सुनेपछि उसले निर्णय गर्न सक्छ । यसमा विकास, उन्नतिबाट प्रेरित भएर काम गर्नुपर्छ । यसले सहभागिता र आत्मवल दुवै बढाउँछ । 


० तपाईंले अहिले भएका सचिवहरुमा सहभागितामूलक रुपमा सहकार्य गर्न सक्ने क्षमता छैन भन्न खोज्नु भएको हो ?


–सहभागितामूलक छलफलले विषयको स्पस्ट ज्ञान हुन जरुरी हुन्छ । अनि निर्णय गर्न सजिलो पर्छ । आफ्नो कुरा खुलस्त रुपमा राख्ने र अरुका कुरा सुन्दा कामको प्रक्रिया र प्रकृतिबारे जानकारी हुन्छ । यसले निर्णय गर्न सजिलो पर्छ । आफ्नो अध्ययन र दिएको जानकारी अनुसार निर्णय गर्दा छिटो छरितो रुपमा काम अगाडि बढाउन सकिन्छ । अलमलमा पर्नु पर्दैन । जसले गर्दा जुनसुकै मन्त्रालय सम्हालेका सचिवलाई काम गर्न सजिलो हुन्छ । अहिले सचिवस्तरीय बैठक त बस्छ । तर सहकार्य बारे छलफल कम हुन्छ । यहाँ राजनीति हावी भएका कारण पनि एक अर्काको कुरा थाहा नहोस् भन्ने भएर पनि यसो भएको हुन सक्छ । 


०  राजनीतिमा विकृति र विसंगति बढाउनमा मन्त्रालयका सचिवले पनि सहयोग गरिरहेका छन् भन्न खोज्नु भएको हो ?


–राजनीतिककर्मीले भनेको अफ्ठ्यारा काममा प्रशासक तटस्थ बस्ने हो भने केही समस्या हल हुन सक्छ । आफ्नो कुरा र आफ्नो स्थानमा प्रशासक बस्न सक्नुपर्छ । नसक्ने कुरामा संझौता नगर्ने हो भने अहिले बिग्रिएको प्रशासनलाई सन्तुलन मिलाउन सकिन्छ । यसले विसंगतिलाई रोक्न सहयोग गर्छ । कर्मचारीतन्त्रमा अलि त्रास बढेको जस्तो पनि देखिएको  छ । यसको कारण के हो कर्मचारीतन्त्रमा आत्मविश्वासमा कमी भएको हो कि भन्ने देखिन्छ । आत्मविश्वास कम हुनु भनेको निर्णय क्षमता नहुनु हो ।

राजनीति, कर्मचारीतन्त्र र सरकार भनेको एक अर्काका परिपुरक हुन । तर सबैको आ–आफ्नो जिम्मेवारी हुन्छ । अहिले देखिएको दास र मालिकको जुन अभ्यास छ यो होइन । एक अर्काको सहयोगी भएर अगाडि बढ्नुपर्छ । तर, प्रशासकले पनि विधि, विधान अनुसार काम गर्नुपर्छ । प्रजातन्त्रमा हुनुपर्ने गुण यही हो । कसैको आदेशको अनावश्यक रुपमा पालन गर्नुपर्ने होइन । विधि, विधान र आत्मविश्वास भए अरुको निर्देशन पर्खिनुपर्दैन । आफ्नो अधिकारले दिएको काम गर्नका लागि । यसो गर्न नसक्दा समस्या बढ्दै गएको देखिन्छ । यसका लागि क्षमता विकास हुनुपर्छ । क्षमता विकास भनेको डिग्री लिनु मात्र होइन व्यवहारिक हुन पनि सिक्नु पर्छ । 


० तपाईंको संकेत अधिकृतबाट सिधै लोकसेवा पास गरेर सहसचिव भएका तर्फ हो कि अहिलेको बढुवा पद्धति प्रति हो ?


–युवा, जुझारु जनशक्ति चाहिन्छ । त्यो चाहिन्न भन्ने होइन । काम गर्ने जोस भएका युवाहरु माथि आउनुपर्छ  । यो कुरामा दुईमत होइन । अहिलेको हाम्रो बढुवा पद्धति कस्तो भयो भने कापीमा जाँच लेखेर मात्रै आउने भयो । शाखा अधिकृतबाट सहसचिव बढुवा हुन लेखेर त बन्न सकिन्छ । तर ऊसँग अनुभवको कमी हुन्छ । व्यवहारिक अनुभवको कमी भएपछि काम गर्न कठिन हुन्छ । निजामती सेवामा व्यवहारिक ज्ञानको महत्वपूर्ण भूमिका हुन्छ । मैले पढेको छु, जानेको छु । ज्ञान पनि छ । तर कुन काम कसरी गर्ने भन्ने ज्ञान नहँ‘दा समस्या बढेका छन् । यो हो वा होइन भन्ने किटान गर्न नसक्दा निर्णय गर्न नसक्ने अवस्था आउँछ । यसमा सुधार गर्नुपर्छ कि भन्ने लाग्छ । 


० खोज अनुसन्धानमूलक कार्यहरु त पाका उमेरका कर्मचारीले भन्दा कम उमेरकाले धेरै गर्न सक्छन् नि होइन ?


–हो, नयाँ काम गर्न र खोज अनुसन्धानका लागि युवाजनशक्ति चाहिन्छ । मैले माथि भने अनुसार नयाँमा जोश र जाँगर हुन्छ । अनुभव कम भएका कारण निर्णयमा अलमल हुन्छ । त्यो नहोस् भन्नका लागि मात्र सुधार हुनुपर्छ भनेको हो । सबै कुरामा रोक्नु पर्छ भन्ने होइन । खोज र अनुसन्धानको विषयमा ऊर्जा भएका कारण राम्रो गर्न सक्छन् । निजामती सेवा प्रवाहको क्षेत्र भएकोले अनुभवीले विना अलमल निर्णय क्षमताका साथ काम गर्न सक्छन् भन्ने मात्र हो । 


० केही वर्षदेखि विकास निर्माणका काम निरन्तर रुपमा एकदम सुस्त गतिमा भइरहेका छन्, एउटा इन्जिनियरको विश्लेषणमा पहिला र अहिलेको विकासको गतिलाई कसरी तुलना गर्नुहुन्छ ?


–म सेकेण्ड क्लास इन्जिनियर थिएँ । विकास समाधान समितिको बैठकमा त्यो समयमा जाँदा जे कुरा उठ्थे अहिले पनि तिनै कुरा उठ्ने गरेका छन् । उही जग्गा समयमा लिन नसकिएको कुरा, वनले स्वीकृति नदिएको, ढुंगा, गिट्टी बालुवा पाइएन भन्ने नै समस्या उठान हुने गरेका छन । ठेकेदारले काम गरेनन् भन्ने छ । हरेक वर्ष दोहोरिने यो कस्तो समस्या हो ? यस विषयलाई जुनसुकै राजनीतिक दलको सरकार बने पनि सिरियसली लिएको देखिएन । समस्या समाधानतर्फ कर्मचारी प्रशासन र राजनीतिक दलले पनि जिम्मेवारी दिएर काम गर्न‘पर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । जुन क्षेत्रमा समस्या बढी आएको छ, त्यसलाई एउटा विधि बनाएर समस्याको समाधान गर्न जरुरी छ । 


० सार्वजनिक खरिद नियमावली अनुसार ठेक्का पट्टामा कम रकम बोलकबोल गर्नेलाई दिनुपर्ने प्रावधानका कारण ठेकेदारको लापरवाहीका कारण समयमा काम हुन नसकेको बताइन्छ, मुख्य कारण के हो नि ?


–पहिलो कुरा हाम्रो सार्वजनिक खरिद ऐनले कम बोलकबोल गर्नेलाई ठेक्का दिनु भनेको छ । धेरै काम ओगट्यो, समयमा काम हुन सकेन भन्ने हो भने त्यसलाई सहजिकरण गर्ने र ठेक्का मूल्याङ्कन गर्ने प्रक्रियामा परिवर्तन गर्नुप¥यो । सधैं एउटै तरिकाले काम गरेर नयाँ परिणाम खोज्नु मूर्खता हो । एउटै तरिका वा प्रक्रियाले काम गरेपछि परिणाम एउटै आउँछ । वन, अनुगमनमा त्यही समस्या छ भने नयाँ परिणाम आउँदैन । फरक परिणाम ल्याउनका लागि फरक तरिकाले काम गर्नुपर्छ । जोखिम उठाउने र न उठाउनेको मूल्याङ्कन हुनुपर्छ । समयमा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई निरुत्साहित गर्नुपर्ने हो । तर यहाँ काम गर्नेलाई दण्ड पनि हुने गरेको छ । नगर्नेलाई उल्टै प्रोत्साहन । यसलाई छुट्याउनु पर्छ । 


० सचिवले कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन नम्वर दिंदा जथाभावी गरेको कारण पनि निजामती कर्मचारी प्रशासनमा बेतिथि बढेको गुनासाहरु बढेका छन, यसलाई तपाई के ठान्नु हुन्छ ?


–कार्य सम्पादन मूल्याङ्कन गर्दा नै सिरियसली रुपमा हेनुपर्ने हो । तर सबै  कर्मचारीले बराबर नम्बर पाउँछन् । सबैले बराबर नम्बर पाउने भएपछि किन काम गर्ने भन्ने परेको छ । कार्य सम्पादन मूल्याङ्कनमा मैले के काम गरें भनेर आफैले पाँचवटा काम भन्न नसक्नेलाई किन नम्बर दिएछन् भनेर सोच्नुपर्छ । तर नम्वर दिनेलाई पनि यो कुरा थाहा छैन । सचिवहरुले भैगो म किन छुच्चो हुने भन्ने कुरालाई रोक्नु पर्छ । कार्य सम्पादन मूल्याङ्कनको जिम्मा सुपरभाइजरलाई दिने र हप्तै पिच्छे फाराम भर्न लगाउने हो भने त्यसले कर्मचारीले कमजोरी पनि कम गर्छ ।

 

कर्मचारी सुपरभाइजर प्रति उत्तरदायी पनि हुन्छ । समयमा कामको मूल्याङ्कन गर्ने कार्य रोक्नमा कर्मचारी युनियन सक्रिय भएर लागेका छन् । यो विकृति रोक्नु पर्छ । अर्को कुरा भनेको हाम्रो मूल्याङ्कन प्रक्रिया कमजोर छ । यो परिवर्तन गर्नुपर्छ । यहाँ कामको आधारमा नम्बर दिनुपर्छ । बराबरी होइन । ‘टकाशेर भाजी टकाशेर खाजा’ गर्नु हुँदैन ।

 
० कर्मचारीले सुविधा र लाभका लागि पनि यस्ता गर्छन् भनिएको छ, यस बारेमा यहाँको धारणा के छ ?


–हो, केही कर्मचारीमा यस्तो स्वार्थ पनि देखिएको छ । बढी सुविधा भएको ठाउँमा बस्ने, फाइदा लिने गरेका छन अनेकन उदाहरण छन । पटकपटक त्यो ठाउँमा कर्मचार िकिन जान्छन भन्ने प्रश्न पनि उठेका छन । यस्ता अवसर बढी कसले पायो भन्दा ठगठाग र काममा छलछाम गर्नेले पाएका देखिन्छ । कर्मचारीले पनि आफ्नो काम देखाउन ठेक्का लगाउने गर्छन् । यसले मेरो काम त मैले गरें, ठेकेदारले समयमा काम गरेन भनेर पन्छिने गरेका छन् । यो भनेको कार्यान्वयनप्रति रुची नदेखाएको हो ।

 

  हामी प्रगतिमुखी हुँदाको परिणाम हो यो । मर्मत संभारले अहिलेसम्म मान्यता पाउन सकेन । कुनै संरचना बनेपछि त्यसको मर्मत संभार पनि उत्तिकै महत्वपूर्ण पाटो हो । त्यहाँ हाम्रो ध्यान गएको छैन । प्राविधिक कर्मचारीहरु नयाँ काम र ठुलो कामको खोजीमा लागेका छन् । मर्मत संभारको प्रोफाइल बढाउनप्रति लागेनन् । राज्यले पनि मर्मत संभारमा बस्ने कर्मचारीको उचित मूल्याङ्कन गर्न सकेको छैन ।  


० निर्माणको ठेक्का लिएका व्यवसायीले समयमा काम नगर्नुको कारण अनुगमनको कमी पनि प्रमुख कारण मान्निछ, यसबाहेका अरु पनि कारण छन् ?


–पहिलो कुरा भनेको तोकिएको समयमा अनुगमन नहुनु नै हो । ठेक्का करारमा भएको तालिका अनुसारको अनुगमन हुन सकेको छैन । काम समयमा गरेन भने हटाउन पनि सकिदैन । कारण के हो भने ऊ कुनै न कुनै दलको राजनीतिक नेतासँग नजिक छ । यसले कारवाही गर्न सक्ने अधिकार रोकिन्छ । अर्को भनेको आफूलाई हुने लाभ पनि हो । कर्मचारी पनि आफ्नो तलबले नधान्ने देखेर आर्थिक प्रलोभनमा परेर गलत काममा लागेका छन् ।

यसको अर्थ के हो भने सरकारले कर्मचारीको पनि आधारभूत आवश्यकता के छ भन्ने हेर्नुपर्छ । यसो भयो भने गलत काम रोकिन्छ । दण्ड गर्नु मात्र यसको सुधार होइन । कतिपय देशमा फाँसीको प्रावधान छ । तर त्यहाँ पनि त अनियमितता र अपराध भएका छन् । यसका लागि लाभ र प्रोत्साहन अवस्था जाँच्नु पर्छ । अनि मात्र खोजेको सुधार प्राप्त गर्न सकिन्छ । 


० राम्रो काम गर्ने कर्मचारीलाई सरकारले बोनसको व्यवस्था गर्न नसक्दा र काम चोरहरुलाई दण्डित गर्न नसकेको कारण उनीहरुको मनोवल बढेर कर्मचारीतन्त्रमा प्रशासनम विकृति बढेको बताइन्छ, यसमा कति सत्यता रहेको छ नि ?


–बैंक र अन्य निजी निकायमा जस्तै राम्रो काम गरेर मुनाफा आर्जन गर्ने कार्यालयका कर्मचारीलाई बोनसको व्यवस्था गर्ने ग¥यो भने कर्मचारीले राम्रो काम गर्न सक्छ । अहिले त राम्रो काम गर्दा बोनस पनि छैन । नराम्रो गरे दण्ड पनि हुँदैन । त्यसो भएपछि काम किन गर्ने भन्ने धेरैको मनमा परेको विषय हो । यसले गर्दा सानो सानो प्रलोभनमा उनीहरु पर्छन । सानो प्रलोभनमा पर्दा ठूलो काम बिग्रिएको छ । 


० सरकारले विलासिताका सामानको बन्द आयात खुल्ला गरिदिएको छ, मुलुक झन आर्थिक मन्दीको चपेटामा परेको छ, यसमा सुधार गर्न के गर्नुपर्ला ?


–मुख्य भनेको हामीले गरेको अनुत्पादक खर्चमा कमी गर्नुपर्छ । कतिले अहिले प्रदेश संरचनाको कुरा उठाएका छन् । त्यसको पनि पुनरावलोकन हुनुपर्छ । सुरक्षा खर्च दिन प्रतिदिन बढिरहेको छ । भर्खरै सशस्त्रले ४ हजार दरवन्दी थपका लागि माग गरेको सुनिन्छ । यसले प्रशासनिक खर्च थप बढाउँछ ।

मुलुकका नागरिकको चेतना बढेर अपराधमा कमी हुनुपर्ने हो । हाम्रो शिक्षाको स्तरमा समस्या छ । बजेट भएर पनि सरकारी विद्यालयको सुधार गर्न सकिएको छैन । त्यो अनुत्पादक खर्चमा परिणत हुँदै गएको छ । यी केही उदाहरण मात्र हुन । यस्ता समस्या हरेक क्षेत्रमा रहेका छन् । 


०  खर्च कम गर्नको लागि गर्नुपर्ने उपायहरु के हुन सक्छन त ?


–यसको रोकथामको उपाय भनेको अनुत्पादक खर्च रोक्ने र उत्पादन बढाउने मात्र हो । आयोजना समयमा पूरा हुन नसकेका कारण त्यसको लागत बढेको छ । त्यसले चाहेको समयमा उत्पादन दिन सकेन । अहिले विद्युत बिक्रीबाट केही पैसा आयो । विद्युत बिक्री गर्न हुन्थ्यो हुदैन्थ्यो त्यो अर्को कुरा हो । तर जे होस् समयमा आयोजना बनेका कारण उत्पादन हुन सकेको छ । जुनसुकै आयोजनालाई समयमा सम्पन्न गरेर प्रतिफल लिनुपर्छ । प्रतिफल लिन नसक्ने क्षेत्रमा लगानी मात्र गर्ने हो भने त्यसले देशलाई आर्थिक भार थप्छ । लागत र प्रतिफलको अनुपात मिलाउनु पर्छ । 


० पेट्रोलियम पदार्थको आयात घटाउन के गर्नुपर्ला ?


–हाम्रो आयात सबैभन्दा बढी पेट्रोलियममा छ । त्यसलाई कम गर्न विद्युत उपयोग नीति बनाउनु पर्छ । हामीले विद्युत खपत बढाउन सकेका छैनौ । विश्वको सबैभन्दा बढी विद्युत उत्पादन गर्ने क्षमता भएका देशमा हामी छौँ । तर खपत भने सबैभन्दा कम गरिरहेका छौँ । यसरी हामीले सबैभन्दा धेरै लागत लागेका क्षेत्रको खर्च घटाउनु पर्छ ।

त्यसमा हाम्रो ध्यान पुग्न सकेको छैन । विद्युत निर्माण गर्दा पनि जलाशय भन्दा बहावमा आधारित बनाउने गर्छांै । आन्तरिक उत्पादन भन्दा जोडजाड कम्पनीमा बल गरियो । देशको आम्दानी बढाउन तिर लागिएन ।
 

प्रतिकृया दिनुहोस