• शुक्रबार-बैशाख-१४-२०८१

उत्तरी व्यापारिक नाकामा चीनको नाकाबन्दी ! : चीनसँगको सम्बन्धमा कहिलेसम्म चिसोपन ? 

 

काठमाडौं । चीनसँगको आयात निर्यातको नेपालको सबैभन्दा पुरानो नाका २०७२ साल बैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भएको थियो । भूकम्पले क्षति गरेको सडक मर्मतसम्भार गरेर आंशिक रूपमा आयात खुला भएको चार वर्ष बितिसकेको छ । तर, अझै पनि राम्रोसँग निर्यात भने खुला हुन सकेको छैन । 


  तातोपानी नाकाबाट निर्यात बन्द भएको सात वर्ष भइसकेको छ । चीनले समय–समयमा कोरोना महामारी, सुरक्षा खतरालगायतका विभिन्न बहानाबाजी गर्दै नाका खोल्ने र बन्द गर्दै आएको बताइएको छ । सँधै भिडभाड र व्यापारले गुल्जार रहने तातोपानीको मितेरीपुलदेखि चीन–नेपाल दुबै क्षेत्रको करिब पाँच किलोमिटर क्षेत्र अहिले सुनसान प्राय देखिन्छ । सो क्षेत्रमा कहिलेकाहीँ दैनिक तीनवटा गाडीमा सामान आयात हुने गरेको छ । सामान आयात नहुँदा भन्सारका कर्मचारी सधै आरामले जागिर पकाएको बताइन्छ । तातोपानी नाकाबाट आयात ठप्प भएपछि टागे्र्रट अनुसारको राजश्व पनि असुल हुन सकेको छैन । जसका कारण सोचेजति संकलन हुन नसकेको तातोपानी भन्सार स्रोतले बताएको छ । 


गत अगस्ट १२ देखि चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना महामारीविरुद्ध  निषेधाज्ञा लगाइएको छ । त्यो निषेधाज्ञा अहिले पनि जारी छ । लामो समयदेखि तिब्बतमा लकडाउन हुँदा त्यसको सीधा असर तिब्बतसँग सीमा जोडिएको नेपाली क्षेत्रमा परेको छ । यद्यपि तिब्बतको ल्हासा सरकारले नेपालतर्फ जाने कन्टेनर नरोक्न सीमा क्षेत्रका स्थानीय प्रशासनलाई परिपत्र जारी गरेको छ ।


तिब्बत सरकारको परिपत्रलाई हुबहु पालना गरेर केरुङको स्थानीय सरकारले दैनिक १४ कन्टेनर सामान रसुवागढी पठाउने गरेको छ । तर, खासास्थित जाङ्मु पोर्ट प्रशासनले तातोपानी तर्फ भने कन्टेनर पठाउन रोक लगाउदै आएको बताइन्छ । तिब्बतको लकडाउनले गर्दा रसुवाको केरूङ नाका हुँदै आउने सामान पनि अहिले उल्लेखित मात्रामा आउन सकेको छैन । व्यापारीले दशैं तिहारका लागि मगाएका सामान भर्खर काठमाडौं आइपुग्दैछन् ।


सिगात्सेबाट तातोपानी नाका आउने कन्टेनरलाई जाङ्मु प्रशासनले खासा पार्किङमा प्रवेश दिएको छैन । उल्टै केरूङतिर पठाएको व्यापारीहरू बताउछन । कन्टेनर नआउँदा तातोपानी नाकामा ट्रान्सपोर्टको काम गर्ने सिल्क, नमस्ते र रेवाङ कम्पनीका कामदार विगत तीन महिनादेखि अलपत्र अवस्थामा छन । उनीहरु काम नपाइ बसिरहेका छन् । केरुङबाट कन्टेनर ल्याउँदा लामो रूट पार गर्न‘पर्ने हुँदा ढुवानी भाडा बढी लाग्ने र पुलमा सामान झार्दा ड्यामेज भएर घाटा हुने गरेको व्यपारीहरु बताउछन । व्यापारीहरू तातोपानी नाकाबाट सामान ल्याउन सहज मान्छन् । तर तिव्वत प्रशासनले तातोपानी नाकाबाट सामान ल्याउन नदिएर केरूङ हुँदै रसुवागढीबाट मात्र ल्याउन दिने गरेको बताइएको छ ।


रसुवागढीबाट काठमाडौंतर्फ सामान ल्याउन १० घन्टा भन्दा बढी समय लाग्छ । तर तातोपानीबाट तीन घन्टामै कन्टेनर काठमाडौं आइपुग्ने व्यापारीहरू बताउछन् । सोहीकारण अहिले नेपाली व्यापारीले चीनबाट धेरै सामान मगाएका छैनन । ठुला व्यापारीहरूले कलकत्ता बन्दरगाह हुँदै सामान आयात गर्न थालेको बताइको छ ।


चीन सरकारले तातोपानी नाकाभन्दा केरुङ नाकालाई प्राथमिकता दिएको छ । तर, त्यो रुटबाट सामान आयात गर्दा ढुवानी खर्च र लोडअनलोड खर्च बढेर घाटा लाग्ने व्यापारीहरू बताउँछन । तातोपानी नाकाबाट सामान आयात र निर्यात गर्न सहज बनाई दिन संघ आबद्व व्यापारीहरूले पटक–पटक नेपाल सरकार विभिन्न निकायहरूमार्फत अनुरोध गर्दै आएका छन । तर पनि यो नाका सहज हुन सकेको छैन ।


आयात बढ्ला र लगानी उठाउँला भनेर बसेका क्यारिङ व्यापारी निराश हुन थालेको बताइन्छ । क्यारिङमा काम गर्ने कामदार र सवारी चालक काम नभएपछि काम छाडदै धमाधम घर फर्कन थालेका छन् । तातोपानी नाकाबाट आयात–निर्यात दुवै खुला गर्ने विषयमा नेपाल–चीन सरकारका अधिकारीबीच समझदारी पनि भएको थियो । तर, कार्यान्वयन भएको छैन । नेपालतर्फ पूर्वाधार तथा ट्रान्सपोर्ट कम्पनी आयातका लागि तयारी अवस्थामा छन् । तर तिब्बतर्फ प्रशासनले तातोपानी नाकातर्फ कन्टेनर नछाडि केरूङतर्फ पठाउदा समस्या थपिएको गुनासो बढेको छ । तातोपानी नाकाबाट तिव्वत विरोधि शंकास्पद गतिविधि बढ्दा चिनियाँ सुरक्षाकर्मी संवेदनशील हँ‘दै आएको बताइएको छ । 


यहीकारण सबै पूर्वाधार भएर पनि र छोटो रूट हुँदा पनि तातोपानीकाबाट कन्टेनर छाड्न तिब्बत प्रशासन नमानेको समाचार स्रोत बताउछ । गत सेप्टेम्बरमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमण गरेका चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुले तातोपानी नाका खुला गर्ने विषयमा चीन सकारात्मक रहेको बताएका थिए ।


चान्सु फर्केसँगै नेपाल–चीन उच्च अधिकारीबीच नाकाबाट आयात निर्यात दुबै खुलाउने सहमति भएको थियो । तिब्बतमा कोरोना महामारी विरूद्वको लकडाउन जारी भएकाले त्यो सहमति कार्यान्वयन गर्न असहज भएको चिनियाँ पक्षको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस