• शुक्रबार-बैशाख-७-२०८१

तपाईं खुसी भएर जिउने कि लोभीपापी बन्ने ?

 

भनिन्छ कोख एउटै हुँदैमा सबै आफ्ना हुँदैनन् । हुनपनि हो एउटै आमाको कोखबाट जन्मिएका सन्तान पनि समान आचरण भएका हुँदैनन् । कुनै आफ्नो परिश्रममा बाँच्ने हुन्छन् भने कुनैले ठगीको खेती गरेर आफूलाई सम्पन्न तुल्याएका हुन्छन् । आफ्ना बिस औंला खियाएर जीवन धान्नेहरु कहिल्यै पनि सम्पन्न हुन सक्दैनन् र सम्पन्न पनि हुन चाहँदैनन् । उनीहरुलाई त्यसप्रति चाहना नै हुँदैन । उनीहरुलाई सामान्य जीवन चलाउन पनि धौःधौ परेको हुन्छ । तैपनि खुसी नै हुन्छन् । किनकि उनीहरुलाई आफ्नो परिश्रम मिठो लागेको हुन्छ । 


सानो जागिरको आम्दानी पनि उनीहरुको लागि ठूलो भइदिन्छ । थाहा छ यो आम्दानी वा तलब भनेको उनीहरुजस्ता सबैको लागि बराबर हुन्छ । त्यसैले उनीहरु पूर्णरुपले सन्तुष्ट भएका हुन्छन् भलै उनीहरुलाई आफ्नो परिवार धान्न कठिन भएको हुन सक्छ ।


सबै मानिस जन्मिदा असल हुन्छन् । प्रकृतिले नै उनीहरुलाई असल गुण दिएर पठाएको हुन्छ । माया, ममता, दया, करुणा, श्रद्धा, स्नेह जस्ता जीवनका महत्वपूर्ण अवयवहरु मानिसले संगै ल्याएको हुन्छ । जीवनको प्रारम्भिक चरणमा उसले यी कुराहरु प्रयोगमा ल्याएको हुन्छ । जब मानिस बढ्दै जान्छ अनि उसमा विकृति पलाउँदै जान्छ । विकृति भनेको मानिसका दुर्गुणहरु हुन् जसले मानिसलाई कुमार्गतिर डो¥याउने काम गर्छ । 


 बुझ्न पर्ने कुरा यो छकि मानिस आफै नराम्रो हुँदैन । नराम्रो बनाउनुमा उसका आफ्नै केही कमजोरी हुन सक्लान् । यो भन्दापनि बढी उ, जन्मिएको, हुर्किएको घर परिवार र समाजमा पनि भर पर्दछ । घरको वातावरण राम्रो छ भने उसको बानी, ब्यहोरा, चालचलनजस्ता कुरा जुन मानव जीवनको लागि आवश्यक हुन्छन् तिनीहरुको अबलम्वन गरेका हुन्छन् र उनीहरु जीवनदेखि सन्तुष्ट भएका पनि हुन्छन् । लोभ, लालचातिर उनीहरुको मन जानै सक्दैन । यस अवस्थामा जीवन सफल हुन सक्दछ ।

 

यदि मानिसले अनावश्यक दुर्गुणहरुमात्र लिन्छ भने उसले जीवन बर्वाद गर्दछ ।  हुनसक्छ दुर्गुणहरुले पनि क्षणिक आनन्द दिन सक्ला तर त्यो दिगो र सर्वस्वीकार्य हुन सक्दैन । जीवनको क्षण क्षणमा उसलाई पोलिनै रहेको हुन्छ । जीवनको यात्रामा उसले पटक पटक पश्चाताप पनि गर्नु पर्ने हुनसक्छ यदि उसले केही कुरा बुझ्न सक्यो भने । बुझ्न सकेन भने उसलाई धन कमाउन आवश्यक पर्ने तिकडम्, फट्याइँ, जालझेल, ठगी, षडयन्त्रजस्ता कुराहरुले प्रश्रय पाइरहेकै हुन्छन् । अहिले हाम्रो समाज बिग्रिनुमा यिनै कारक तत्व हुन सक्दछन् । यिनीहरुमा सुधार ल्याउनु आवश्यक छ ।


जीवनको प्रारम्भिक चरणमा मानिसलाई लोभपापले नछोए पनि पछिका समयमा भने उसलाई यस्ता कुराहरुले पछ्याउँदै गएका हुन्छन् । किनभने जीवन भनेको सुख सुविधा र बिलासिता हो भन्ने कुरा उसले आफ्नै समाजबाट बुझेको हुन्छ र यसैतर्फ उसको ध्यान गएको हुन्छ । सम्पन्नता हुने चाहनाले मानिसलाई भ्रष्ट बनाएर अधोगति तर्फमात्र डो¥याएको हुन्छ । जीवनको सबभन्दा नराम्रो पक्ष भनेको यही हो । किनभने मानिसको मनले आनन्द खोजेको हुन्छ । सुख सयल चाहेको हुन्छ । यसको लागि धनसम्पत्तिको आवश्यकता हुन्छ । सजिलोसंग धनी हुन नसकिने भएकोले उसले अनावश्यक गतिविधि अबलम्बन गरेको हुन्छ । यस्ता दुर्गुणहरुबाट मानिस पर रहन सक्यो भने उसले जीवनबाट अधिकतम सन्तुष्टि लिन सक्दछ ।


जीवनबाट सन्तुष्टि प्राप्त गर्ने मानिसहरु कमै देखिन्छन् । अधिकांश मानिसमा केही न केही अबगुणहरु भएकै हुन्छन् । मानिसले जीवनको अर्थ नबुझेको कारणले गर्दा नै खाली पैसा पैसा भन्दै पछि लागेको हुन्छ । पैसा तथा धनसम्पत्तिको लालसाले गर्दा मानिसमा हुने मूल्य मान्यता सबै गुमाएको हुन्छ र संधै असन्तुष्टिमात्र बोकी रहेको हुन्छ । असन्तुष्ट मानिस कहिले पनि खुसी हुन सक्दैन । आफूमात्र होइन अरुलाई पनि यस्तै खराब कामप्रति उत्प्रेरित गरिरहेको हुन्छ । उसले राम्रो काम गरेको ठानेको हुन्छ र आफ्ना सन्तानहरुलाई पनि आफूले गरेको अनैतिक कार्यहरु अबलम्बन गर्न उत्प्रेरित गरेको हुन्छ । यसरी मानिस आफूमात्र खराब बन्दैन आफ्नै कोखका सन्तानहरुलाई पनि खराब बाटो हिंडाउने गरेका हुन्छ । भनिन्छ चोरको सन्तान चोर नै हुन्छ । तर, यसमा सत्यता नहुन पनि सक्दछ । सबैमा यो भनाइ नलाग्न पनि सक्दछ ।


जीवनको उत्तराद्र्धमा आइपुग्दा भने मानिसले आफूले गरेका कुराहरुमा गल्ती महशुस गरेका पनि हुन्छ । शुरुमा मानिसले आफूलाई सर्वश्रेष्ठ ठानेको हुन्छ र उसमा घमण्ड पनि पलाएको हुन्छ । किनकि उसले अनेक छलकपट गरेर सम्पत्ति आर्जन गरेको हुन्छ र भौतिकरुपले उसले आफूलाई खुसी बनाएको हुन्छ । मानिसलाई अरुको सम्पन्नताको डाहा पनि भएको हुन्छ । समाजमा अरु भन्दा आफू भिन्न किसिमको भएर धन सम्पत्तिको आडमा सम्मानित हुन चाहन्छ ।, तर सम्मानित हुन त्यति सजिलो भने छैन । किनकि धन सम्पत्तिलेमात्र मानिस सम्मानित हुँदैन । यो त देखाउने आभूषणमात्र हो । तैपनि मानिसले समाजमा रवाफ देखाउनको लागि पनि उसले नराम्रा कामहरु गरेको हुन्छ ।


जीवनको अन्तिम चरणमा आईपुग्दा उसले धेरै कुरा बुझिसकेको, जानिसकेको, देखिसकेको, अनुभव र अनुभूति गरिसकेको हुन्छ । यसले भने उसलाई प्रभाव पारेको हुन्छ । जति फट्याइँ गरेर धनसम्पत्ति जोडे पनि मानिस कहिले धनी हुन सक्दैन । यति कमाए पुगि हाल्छ भन्छ पहिले, त्यति कमाएपछि फेरि अर्को चाहना आइदिन्छ । यस प्रकारको श्रृंखलाको निरन्तरता भइनै रहन्छ । अनि मानिस कहिले पनि धनी हुन सक्दैन । उसका तृष्टीहरुले कहिले पनि सन्तुष्टि प्राप्त गर्न सक्दैनन् र यिनीहरुकै पछि पछि लागेका हुन्छ । त्यसैले मानिसले तृष्णा लिनु हुँदैन । लोभ, लालसा, ईच्छाजस्ता कुराबाट टाढै रहनु पर्छ । यसको सट्टामा सन्तुष्टि लिन सक्नु पर्दछ र आफ्नै बिस औंलाको परिश्रममा बाँच्न सक्नु पर्छ । अरुलाई दुःख दिएर कमाएको धनले कहिले पनि सुख शान्ति दिंदैन ।


एकैछिन मानिसले जीवन भनेको केही होइन भनेर सोच्यो भनेमात्र पनि उसले धेरै कुरा बुझ्न सक्दछ । मानिसले नबुझेको कारणलेमात्र दुःख पाइरहेको हुन्छ । सारमा भन्नु पर्दा जीवन भनेको केही होइन । केही होइन भनेर अकर्मन्य हुने पनि होइन । जति सकिन्छ लगनशील, इमानदार, परिश्रमी भएर अघि बढ्नु पर्दछ । स्वार्थ नराख्ने हो र अरुको भलाई चाहने हो भने जीवन त्यसै सफल भइदिन्छ । नानाथरी विचार गर्नै पर्दैन । मुख्य कुरो भनेको निस्वार्थ भावना र सर्बे भवन्तु सुखिन हुनु हो ।


 केही वर्ष अघि एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनले पनि एउटा कुरा पुष्टि गरेको छ । त्यस्तो अध्ययन प्रतिवेदनमा दक्षिण पूर्व एशीयाली देशहरु मध्ये नेपाल सबभन्दा खुसी देश भनेको छ । हामी नेपाली गरिब भएर पनि खुसी छौं । खुसी हुन जानेका छौं । बुझेका छौं । हो, हाम्रो समाजमा केही यस्ता व्यक्ति पनि छन् जसलाई जसरी भएपनि धन सम्पत्ति जोड्नु छ । उनीहरुको मनोबृत्ति अरुलाई दुःख दिनु छ, ठग्नु छ, शोषण गर्नु छ, अनि धनी हुनु छ । यी केही पात्रमात्र हुन् । अधिकांश हामी मेहनती नेपाली भने धन सम्पत्ति नभएर पनि खुसी नै छांै । यो कुरा अन्तराष्ट्रिय क्षेत्रले पहिचान गरिसकेको छ ।


यहां गीताको सारांश राख्न उपयुक्त होला । गीतामा भनिएको छ जे भयो ठिकै भयो । जे भइरहेछ त्यो पनि ठिकै भइरहेछ । पछि जे जस्तो हुनेछ त्यो पनि ठिकै हुनेछ । यतिमात्र मानिसले बुझ्न सक्यो भने पनि उसले अवान्छित किसिमले सम्पत्ति जोडेर धनी हुन चाहने प्रवृत्तिको अन्त्य हुनेछ । यो नभएर नै मानिसले धनप्रति प्रतिष्पर्धा गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस