• शुक्रबार-मङ्सिर-२३-२०७९

देशभरका शिवालयमा महादीपान सुरु, पशुपति क्षेत्रमा लाखौँ भक्तजन

 

काठमाडौँ, ५ मङ्सिर । पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान सुरु भएको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत  देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान पर्व मनाइन्छ । यो पर्वलाई पशुपतिनाथ मेलाका रुपमा समेत चिनिन्छ । महादीपदान गर्न आज बिहानदेखि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल सुरु भएको थियो ।

 

मार्गशीर्ष कृष्ण त्रयोदशीका बिहानदेखि भेला भएका भक्तजनले अहिले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्न थालेका छन् । चतुर्दशीका दिन मङ्गलबार बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा छ । 

 

दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बत्ती बाली भक्तजन रातभर शिवालयमा जाग्राम    बस्छन् । आज रातभर दीपदान गरी बसेका भक्तजनले मङ्गलबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । 

 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा आज बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

 

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । 

 

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार शतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने अरू अन्न होइन भन्नुहुन्छ, धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम । 

 

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो । 

 

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।

 

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । 

 

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । 

 

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । 

 

मातापिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

 

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत शहर बजारका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । जुनसुकै शिवालयमा पनि महादीपदान एवं शतबीज छर्न सकिने पण्डित श्रीराम सापकोटा बताउनुहुन्छ ।

  

 महादीपदान गर्नेसँग शुल्क लिइँदैन ः पशुपति क्षेत्र विकास कोष

 

पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने कोषले जनाएको छ । कोषले शुल्क नलिने भए पनि केही मानिसले भक्तजनसँग शुल्क उठाउने गरेको सूचना पाएकाले महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाट रु एक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख उपनिर्देशक गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

आज रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने उहाँले बताउनुभयो । दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि उपनिर्देशक पराजुलीले अनुरोध गर्नुभएको छ । यस्तो समूहलाई कानुनबमोजिम कारबाही गरिनेछ ।

पशुपति क्षेत्रमा अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । दीपदानको पर्व भएकाले आगलागीको सम्भावित खतरा नियन्त्रणका लागि अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गरिएको हो । यसैगरी महादीपदान गर्न आउने भक्तजनका लागि पर्याप्त मात्रामा त्रिपालको व्यवस्था गरिएको छ । भक्तजनलाई चिसो नहोस् भनेर गत वर्षभन्दा बढी त्रिपालको व्यवस्था गरिएको  हो । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गर्न भक्तजनका लागि विभिन्न स्थानमा अस्थायी धाराको व्यवस्था पनि गरिएको छ । 

यसैगरी लाखौँ भक्तजनका लागि ठाउँठाउँमा अस्थायी शौचालय स्थापना गरिएको छ । बिहान बेलुका जाडो बढेकाले पशुपति क्षेत्रका विभिन्न स्थानमा धुनी जगाउन दाउराको व्यवस्था गरिएको छ । भष्मेश्वर, बोडेपाटी, रामन्दिर, बाहिरी पश्चिम मूल ढोकालगायत स्थानमा धुनी जगाइने कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
–––
पूर्णप्रसाद मिश्र / रासस

प्रतिकृया दिनुहोस