• शनिबार-कार्तिक-३-२०८१

आलेख सेवा : न देउसी न भैलो, अलैँची घर भित्र्याउनै चटारो

 

 

फुङ्लिङ, ११ कात्तिक ९, रासस० ः  नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक्क  सझिएको छ । फक्ताङलुङ गाउँपालिका अलैँची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय छैन । चोकचोकमा देउसी र भैलो घन्किए पनि अलैँची किसानलाई भने पाकेको अलैँची घर भित्र्याउने चटाराले छोपेको छ । 

 

बुधबार फुङ्लिङ बजारमा दैउसी, भैलोको रौनक थियो । बजारदेखि पाँच किलोमिटर पर बिहीबारे क्षेत्रमा अलैँची बगानमा ७० वर्षीय खाङ्डु शेर्पा अलैँची भट्टी लगाउनमा व्यस्त हुनुहुन्थो । कोही महिला, पुरुष र केटाकेटी अलैँची टिपेर जम्मा गरिएको अलैँचीको थुप्रो वरिपरि बसेर अलैँची छोडाउनमा व्यस्त थिए । 

 

खाङ्डु शेर्पाको दसैँ पनि अलैँची बगानमै बितेको थियो । अलैँची छराउँदै र सुकाउँदै तिहार पनि अलैँची बगानमै मनाउने शेर्पाले सुनाउनुभयो । शेर्पाले ६० रोपनी जग्गामा अलैँची खेती गर्नुभएको छ । फक्ताङलुङ गाउँपालिका–२ खेजेनेममा पनि ४० रोपनी जग्गामा अलैँची बगान छ । अलैँची बगानमै आफ्नो अझै एक महिना समय बित्ने उहाँको भनाइ छ । 

 

सोही क्षेत्र नजिकै रहेको अलैँची भट्टीमा केदार पताङ्वा पनि निधारमा तपतप पसिना चुहाउँदै अलैँची भट्टीमा सुकेको अलैँची उठाउन व्यस्त हुनुहुन्थो । भट्टीको आँगनमा जम्मा गरिएको अलैँचीको थुङ्गाको हसमा बसेर आठ÷नौ जना अलैँची छोडाउनमा व्यस्त हुनुहुन्थो ।

 

पताङ्वालाई एकैछिन बस्न फुर्सद छैन । दसैँदेखि नै पताङ्वाले भट्टीमा सुकेको अलैँची उठाएर घरमा जम्मा गर्ने र छडाएको अलैँची सुकाउनका लागि भट्टी लगाउनमै व्यस्त भएको हो । खेतीयोग्य ४० रोपनी जमिनमा अलैँची बगान विस्तार गर्नुभएको पताङ्वाले बताउनुभयो । 

 

उहाँले परम्परागत प्रविधिका भट्टीबाट अलैँची सुकाउँदै आउनुभएको छ । केही किसानलाई ‘अलैँची जोन’ कार्यालय ताप्लेजुङले आधुनिक प्रविधिको भट्टी उपलब्ध गराएको छ । किसानहरुको रोजाइमा परेको देखिंदैन । प्रायःजसो सबै किसानले परम्परागत प्रविधिका भट्टीबाट नै अलैँची सुकाउँदै आएको पताङ्वाले बताउनुभयो ।

 

भट्टीको आगनमा जम्मा गरिएको अलैँचीको थुङ्गाको ह्रासमा बसेका आइतहाङ राई यसपालिको तिहारमा देउसी, भैलो खेल्न जानुभएन । राईसँग कुनै अलैँची बगान भएर देउसी भैलो खेल्न नगरएको भने होइन । छरछिमेक दसैँ तिहारमा भ्याइनभ्याइ हुँदा आफू भने देउसी खेल्न जान मन नमानेर केदार पताङ्वाको अलैँची बगानमा छिमेकीलाई सघाउन आउनु भएको हो ।

 

उहाँको मोबाइलमा भने देउसी, भैलोको गीत घन्किरहेको थियो । समस्यामा पर्दा छिमेकीलाई सहयोग पनि हुने र आफूलाई रोजगारी पनि हुने भएकाले दसैँ तिहारमा अलैँची बगानमा बसेको अनिता फुरुम्बुले बताउनुभयो ।

 

फक्ताङ्लुङ गाउँपालिका–६ का विर्ख लिम्बूले अलैँची बगानमा बस्नु थाल्नुभएको एक महिना भयो । बेंसीदेखि लेकसम्ममा उहाँसँग विभिन्न ठाउँमा पाँच वटा अलैँची बगान रहेको    छ । बेंसीमा साउन महिनाको पहिलो सातादेखि टिपाइ सुरु हुन्छ । बेंसी रहेको बगानदेखि टिप्दै लेकतिरको बगानमा पुग्दा मङ्सिर महिना लाग्छ । बगानमा काम गर्ने खेतला पाउँनै समस्या छ । धेरैजसो पर्म गर्नु पर्दछ । छिमेकीका बगानमा टिपी सकाएर आफ्नो बगानमा टिप्नु पर्दछ । लेक क्षेत्रमा अलैँची बगान हुनेले बेंसी क्षेत्रमा टिपाइ हुँदा पर्म सघाइराख्नुपर्ने हुन्छ । 

 

अलैँची बगानमा रोजगारी 

नगरपालिका–७ बिहीबारे क्षेत्रको एक अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त हुनुहुन्छ । उहाँ पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखल्याङदेखि अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आउनुभएको हो । दसैँ सकेलगत्तै राई यहाँ आउनुभएको हो । 

 

तिहारमा अलैँची बगानमै व्यस्त हुनुभयो । बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेका राई साँझ परेपछि मात्रै बाहिर निस्कनुहुन्छ । उहाँको साँझ बिहानको खाना खाजा पनि अलैँची बगानमै खानुहुन्छ । बिहान र दिनभरि टिपिएको अलैँचीको ढुङ्गा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्ने काम हुन्छ । दिनभरि टिपिएको अलैँची बेलुका १० बजे रातसम्म छडाउनु राईको अहिले दैनिकी बनेको छ । 

 

पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जनाले घर छोडेर अलैँची टिप्न फुङ्लिङ पुगेका छन् । गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ—६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताउनुभयो । उहाँ तिहार पनि अलैँची बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त   हुनुभयो । 

 

कमल राई पनि अलैँची टिप्ने बगानमै व्यस्त हुनुहुन्छ । तिहार खर्च घरमा पठाएर आफू चाहिँ अलैँची बगान नै रोजगारी गर्दै बसेको उहाँले बताउनुभयो । उहाँहरु रोजगारीका लागि पाथीभरा याङ्वरक गाउँपालिकादेखि फुङ्लिङ आउनुभएको हो । दिनभरि टिपिएको अलैँची बेलुका १० बजेसम्म छोडाउने गर्नुहुन्छ । अलैँची बगानमै बसेर बिहान बेलुका काम गर्दा दैनिक ६०० रुपैयाँ ज्याला पाउने राईले बताउनुभयो ।

 

अहिले फुङ्लिङलगायतका क्षेत्रमा अलैँची टिप्ने चटारो लागेको छ । मेरिङदेन गाउँपालिका–६ नाल्बुकी विमना लिम्बूलाई पनि एकैछिन पनि फुर्सद छैन् । उहाँ दैनिक अलैँची बगानमा काम गर्नेहरुको लागि बिहान चिया, खाजा बनाइदिने अनि खाना खाजा बनाउने गर्नुहुन्छ । अलैँची बगानमा रोजगारी गर्नका लागि धेरै टाढादेखि  युवा यहाँका अलैँची बगानमा आएका छन् ।

 

सिरिजङ्घा गाउँपालिका–६ मामाङ्का रनकुमार लिम्बू आफ्नो गाउँमा खेताला नपाएर अन्य गाउँबाट अलैँची टिप्ने कामदार ल्याउनुपरेको बताउनुहुन्छ । यहाँका प्रायः सबैको आफ्नै अलैँची बगान छ । पाकेको अलैँची समयमै टिप्न नसके खेर जाने, मुसा तथा जङ्गली जनावरले खाने भएकाले दसैँ–तिहारमा पनि अलैँची बगानमै व्यस्त हुनुपरेको उहाँको भनाइ छ । 

 

 

प्रतिकृया दिनुहोस