• बिहीबार-असोज-१३-२०७९

"आएको थियो, गयो भन्दिनु ल"

प्रिय तपाईं,

 

सुन्दर क्षणहरु छिटो बित्दारहेछन् कि क्या हो ! पहिलो चिठ्ठीमा आएका तपाईंका जवाफहरुमा रमाउँदै गर्दा अर्को चिठ्ठी लेख्ने बेला भइसकेछ । वाचा गरेकी थिएँ नि महिना दिनमा फेरि लेख्छु भनेर । 

 

खुशी बाँड्न मन लाग्छ । यसपालिको खुशीको कारण चाहिँ तपाईं । मेरो चिठी पाउन रुचि देखाएर इमेल ठेगाना टिपाउनेहरु झन्डै ४ हजार पो पुग्नुभयो त । तपाईंका यी मायाको गुन कसरी तिर्ने होला? 

 

खैर, काठमाडौं शहरमा विहानदेखि अनायासै भदौरे झरी पर्यो । अब बिस्तारै हावामा शरद बसाउनेछ । आकाशको रङ अलिक गाढा हुनेछ । अर्को चिठ्ठी लेख्ने बेलासम्म त चाडबाड सुरु भइसक्छ । यसपालिको दशैंमा तपाईं देशमा कि परदेशमा? 

 

अनुषाले लकडाउनअघि नै अमेरिकाबाट इमेल गरेकी थिइन्, हेर्ने कथामा ‘इन्टर्न’ गर्न मन छ भनेर । हालसालै उनी नेपाल आएर पछिल्ला दुई महिना हेर्ने कथामा बिताइन् । अनुषा फेरि छात्रवृत्तिमा पढ्न केही समय युरोप जाँदैछिन् । तर हेर्ने कथा परिवारको सदस्य भएर । आज मसँग चिठ्ठीभित्रको चिठ्ठी छ । अनुषाको चिठ्ठी !

 
"आएको थियो, गयो भन्दिनु ल ।"

हेर्ने कथाको सबैभन्दा नयाँ सदस्य म । तपाईंसँग कुरा गर्ने अवसर पाएकोमा निकै खुशी छु । अलि-अलि डराएकी पनि छु । यो चिठ्ठीभित्र मेरो पनि चिठ्ठी अटाउनु मेरा लागि कत्रो ठूलो कुरा !

 

‘हेर्ने कथामा दुई महिना प्रशिक्षार्थीको रूपमा काम गर्छु, अनि बाटो लाग्छु’ सोचेकी थिएँ । तर हेर्ने कथा परिवारसँग त आत्माको सम्बन्ध बन्यो । संसारले नै हामीलाई भेटाइदिएजस्तो ! 

अहिले म ७००० किलोमिटर कि.मि. टाढा आइपुगेकी छु, आफ्नो अध्ययन पूरा गर्न । भौतिक रुपले टाढा भएपनि, म हेर्ने कथासँगै छु । किनकि घर भनेको त भावना पो रहेछ । यादहरु र अझ माया भरिएका यादहरु त झनै जटिल हुँदा रहेछन् । जब बितेको समयलाई फर्की हेर्छु, आफ्नो जीवन नै एउटा कविता जस्तो लाग्न थालेछ । 

 

यी दुई महिनामा मिलेका प्रेरणा र अनुभवहरुलाई जतन गरेर राखेकी छु - मेरो जीवनको हरेक पलमा यिनीहरुले साथ दिनेछन् भन्नेमा ढुक्क छु । 
 

उही, 

अनुषा

 

यो मिठो चिठ्ठीले ‘मिठो कथा सम्झाइदियो । हेर्ने कथाको पछिल्लो अंकमा झापाका मिहेनती आमा छोराको कथा देखाएका थियौं । अनि त्यसअघि चाहिँ ‘जुलबी चोकको कथा’ । हेर्नुभयो होला नि!

"कथाका कुरा"

तपाईंलाई सुनाउने अर्को नयाँ खबर पनि छ । हामीले एउटा नौलो काम थालेका छौं - कथाका कुरा - क्याम्पसहरुमा गएर कथाका कुरा सुन्ने-सुनाउने ।  

 

नयाँ पुस्ताका कुरा सुन्न र केही हाम्रा कुरा सुनाउन यसो गर्ने विचार गरेको । तपाईंको क्याम्पसमा पनि बोलाउनुस् है ! यो सामान्य फारम भरे पुग्छ ।

"लहै-लहै"

हामीले गएको महिना "लहै-लहै" नाम राखेर लाइभ पनि गर्यौं । यसपटकको लाइभ हाम्रा कामबारे तपाईंका जिज्ञासा मेट्ने अवसर थियो । आउँदा लाइभहरुमा कसलाई हेर्न/सुन्न चाहनुहुन्छ भन्नुस् है ।

अब चाहिँ यात्रा अनुभव सुनौं है त । पछिल्लो यात्राको एउटा सम्झना सुनाउँदैछन् साथी कमल कुमार ।

 

"एउटा स्कुलले रसाएका आँखा"

हामी अहिले बाटोमै छौं । कथा खोज्न हिँडेका । केही दिनअघि पर्सा जिल्लाको धोबिनी गाउँपालिकाको घोडदौडा भन्ने गाउँ पुगेका थियौं । सिमानाको एक्लो गाउँ । नेपाल आउन पनि भारतको बाटो हुँदै आउनु पर्ने । यहाँका मान्छेका कथाहरु सुन्यौं । नेपालले उनीहरुलाई चुनावको बेलामा मात्र सम्झिन्छ । अरु बेला उनीहरु बिर्सिएका मान्छे । 

गाउँमा एउटा प्राथमिक विद्यालय रहेछ । विद्यार्थी एकदम कम । भर्खर बन्दै गरेको पक्की भवनमा झ्याल ढोका पनि थिएनन् । साना नानीहरु चिसो भुइँमा बोरा ओछ्याएर बसेका थिए । स्कुलभरि बाख्रा र कुकुरहरु ओत लागेका थिए । 

 

शिक्षक शिक्षिका ३ जना थिए ।  उनीहरु कहिल्यै समयमा स्कुल नआउने कुरा गाउँका साना-ठूला सबैले सुनाए । शिक्षकहरु चाहिँ अभिभावकहरुको ‘चेतना छैन’ भन्दै पन्छिन खोजे । स्कुलमा न कुनै खेलौना देखियो न कुनै सिकाईका सामग्री । यी उज्याला नानीहरुको भविष्य कसले अँध्यारो बनाइरहेको होला भनेर हामीलाई रिस पनि उठ्यो चित्त पनि दुख्यो । स्कुलको अवस्था देखेर हाम्रा आँखा रसाए ।

यस्तै हो कति कथाले रुवाउँछन् कतिले हँसाउँछन् । त्यो स्कुल सम्झिँदा चाहिँ अहिले पनि कटक्क मन दुख्छ । 

 

तपाईंको शब्द

मेरो पहिलो चिठ्ठी पढेर तपाईंहरुले कत्ति धेरै मिठा मिठा चिठ्ठी पठाउनु भएको!  यो मायाको लागि कसरी धन्यवाद भन्ने होला ?

 

आज त चिठ्ठी अलिक लामै भएछ । कलम भए मसी सकिन्थ्यो होला । तपाईं पनि चिठ्ठी लेख्दै गर्नुस् है । तपाईंले पठाउनु भएको चिठ्ठी पाउँदा औधी खुसी लाग्छ । हेर्ने कथाका पूरै परिवार बसेर पढ्छौं ।

 

आजलाई बिदा  । अर्को चिठ्ठीमा भेटौंला  । धेरै धेरै माया ।

उही तपाईंकी,

विद्या

प्रतिकृया दिनुहोस