अध्यक्ष पदका उम्मेदवार वरिष्ठ पर्यटन व्यवसायी निलहरि बास्तोला
काठमाडौँ, २० साउन । नेपाली काँग्रेसप्रति आस्थाराख्ने पर्यटन व्यवसायीहरुको दुई भिन्दाभिन्दै सङ्गठनले ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बास्तोलालाई आधिकारिक उम्मेदवार उठाउने भएको छ ।
टानको आगामी २०७९ साउन ३० गते हुने निर्वाचनका लागि नेपाल पर्यटन व्यवसायी सङघ (निटनेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले साउन १८ गते बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा व्यवसायी बास्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो ।
दुुबै सङ्गठनका अध्यक्ष क्रमश: दीपक महत र आरबी अधिकारीको रोहबरमा बास्तोलालाई आधिकार उम्मेदवारको रुपमा निर्वाचन अभियानमा होमिने निर्णय भएको निटनेपालका अध्यक्ष दिपक महतले जानकारी दिएका छन् । महतले दुबै शुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहको रुपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताए ।
अध्यक्षका प्रत्यासी बास्तोलाले शुभेच्छुक संस्थाबाट आफू टान अध्यक्षको आधिकारिक उम्मेद्वार भएकाले व्यवसायीहरूसँगकाे छलफल र प्रचार–प्रसारलाई तीब्रता दिएको बताए ।
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन टानको अध्यक्ष प्रत्यासीका उम्मेदवार बास्तोला कडा प्रतिस्पर्धीको रुपमा चुनावी अभियानमा होमिएका छन् । पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बास्तोला टानको नेतृत्वमा पुुगेको खण्डमा पर्वतीय पर्यटनको साखलाई खदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताएका छन् । टानको संस्थागत सुधार र पर्यटन व्यावसाय प्रवर्द्धनका भावी योजनासहितको एजेण्डा लिएर बास्तोला चुनावी माहोल आफ्नो पक्षमा पार्न लागेका छन् ।
टानलाई विशुद्ध व्यवसायिक संस्थाको रुपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई ब्यापक बनाएर अघि बढ्ने प्रतिबद्धता बाँस्तोलाले व्यक्त गरेका छन् ।
चुनावी मैदानमा रहेका प्रत्यासी बास्तोलाले टानको भूमिकालाई समयसापेक्ष प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औंल्याउदैँ आफू नेतृत्वमा पुगेको खण्डमा टानलाई व्यवसायीले हैन टानले व्यवसायीलाई खोज्ने वातावरण बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।
व्यवसायी बास्तोलाले भने,“विस २०३५ मा टान स्थापना भएको हो । टानको ईतिहासमा आजसम्म टानले व्यवसायीलाई एक कल फोन गरेर ‘तपाइँहरुको व्यवसाय कस्तो छ, के गरिरहनुभएको छ’ भनेर सोधेको थाहा छैन होला । अहिलेको आवश्यकता के हो भने तपाइँ हामीले टान खोज्ने हैन टानले व्यवसायीलाई खोजिदियोस् भन्ने भावनाका साथ एजेण्डा लिएर जानुपर्छ ।”
टानको संस्थागत सुदृढीकरण र सेवा प्रभावकारिता एवम् सरकार र निजी क्षेत्रबीचको व्यवसायिक साझेदारीलाई समन्वयकासाथ अघि बढाउने योजना रहेकाे बताउँदै बास्तोलाले टानमा स्वार्थरहितका पूर्ण व्यवसायीलाई नेतृत्वमा लैजानुपर्ने आवश्यकता औंल्याएका छन् ।
बास्तोलाले आफू नेतृत्वमा पुगे दुई वर्षे क्यालेन्डर बनाएर पर्यटन व्यवसायलाई अहिलेको डिजिटल युग सुहाउँदो समयसापेक्ष बजारीकरण गर्नुुका साथै कोभिड महामारीपछिको पर्यटन पुनरुत्थानका लागि राष्ट्रिय र अन्तराष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने उल्लेख गरेका छन् ।
सन् २००२ देखि टानमा आवद्ध बाँस्तोला टानका पूर्वउपाध्यक्ष समेत भएर कामकाे अनुभव बटुलेका व्यक्ति हुन् । बाँस्तोलाको एशियन हेरिटेज गुप्र अफ कम्पनी अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, भेहिकल, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । यस्तै उनले एसियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।
नजिकिएको निर्वाचतका लागि नेतृत्व लिन व्यवसायी प्रतिस्पर्धी उम्मेदवारी घोषणा गरेर चुनावी दौडमा रहेका छन् । आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवम् निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ ।
टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित, एक जना पूर्वाध्यक्ष तथा एक जना टान गण्डकीका अध्यक्ष रहनेछन् भने र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।
प्रतिकृया दिनुहोस