• शुक्रबार-चैत-१६-२०८०

सरकार ! डाक्टर, नर्सहरूले चाहिं बाँच्नु पर्दैन ?

No description available. एस.एल.सी पास गरेपछि धेरै छात्राहरूको रोजाईको विषय हुन्छ डाक्टर अथवा नर्स बन्ने । हुन पनि हो नर्सि¨ पढेपछि सजिलै जागिर पाइने विदेश जानपनि केही सजिलो हुने भएकाले पनि धेरैले पाएसम्म नर्सि¨ नै बन्ने रोजाई पाइन्छ । सेवामुखी पेशा भएकोले पनि स्टाफ नर्सलाई एक सम्मनित पेशाको रूपमा लिइन्छ । तर, विडम्बना यस्तो सम्मनित पेशाभित्र रहेका डाक्टर, नर्सको अवस्थामा अहिले धेरै परिवर्तन आएको छ । डाक्टर, नर्स बनेर आत्मासन्तुष्टि गर्नेहरू कम मात्र होलान नेपालमा । 


पढाईसकेपछि राम्रो जागिर पाउनु अहिलेको चुनौती बनेको छ । हिजोआज अलि ठूलो अस्पतालमा औपचारिकताका लागि आवश्यकताको विज्ञापन प्रकाशित गरेर एकजनाबाट कम्तीमा रु.८०० रूपियाँसम्म फाराम शुल्क लिइने गरेका हुन्छ । तर भ्याकेन्सी खोल्नु अघि नै चाहिने स्टाफहरू छनौट भइसकेका हुन्छन् । 


 नातावाद, कृपावाद हावी भएकाले सामान्य व्यक्तिले कुनै फोर्स विना राम्रो ठाउँमा जागिर पाउनु असम्भव नै भइसक्यो । हरेक ठाउँमा सोर्सफोर्स लगाउन सकेमात्र सफल भइने, अन्यथा आफ्ना क्षमता र आत्माविश्वास हुँदाहुँदै पनि खुम्चेर बस्नुपर्ने कस्तो विडम्बना छ हाम्रो देशको । अलि सानोतिनो अस्पताल, नर्सिङ्गहोमहरूमा पनि भोलेन्टियरिङ गर्नुपर्ने अनुभव प्राप्त हँुदाहुँदै ३ देखि ६ महिनासम्म स्वयम्सेवामा राख्न खोज्छन् अस्पताल र नर्सिङ्ग होमहरू । 


 डाक्टर, नर्सिङ्ग भनेको एक प्रयोगात्मक विषय हो भनि भन्न सकिन्छ । पढ्दा पनि लगभग ७० प्रतिशत क्लिनिकल गर्नुपर्ने हुन्छ भने पास भइसकेपछि भोलेन्टियर राख्नुको कुनै औचित्य छैन ? यो त सरासर श्रम शोषण भएन ? डाक्टर, नर्सहरूको हकहितका भनि नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ्ग एसोसियसन तथा अन्य स्वास्थ्य संघ/ संस्थाहरू धेरै छन् । यी संस्थाले यस्ता कुराहरूमा ध्यान दिएजस्तो देखिदैन ? यहाँका नर्सिंगहोम, अस्पतालहरूले पनि आफूखुसी ८÷९ हजा मात्रै तलव दिन्छन् ? एउटा डाक्टर पढ्नलाई कम्तीमा रु. ३५ देखि ५५ लाख र नर्सिंङ्ग पढ्न ५ देखि ७ लाखसम्म खर्च हुने अनुमान गर्न सकिन्छ । यदि निजी अस्पतालमा जागिर पाइहाले पनि रु ५ देखि १० हजारसम्म तलव दिइन्छ । 


 धेरै अस्पताल नर्सिङ्गहोमहरूले शुरूमा ५ देखि ८ हजार मात्र दिने गरेको पाइन्छ । काठमाण्डौ बाहिरबाट आएका डाक्टर, नर्सलाई यस्ताखाले न्यून डेरा भाडा तिर्न समेत नपुग्ने पारिश्रमिकमा बाँच्न धेरै गाह्रो हुन्छ । यस्तो अवस्थामा डाक्टर, नर्सहरूले आफ्नो स्वास्थ्यको समेत पर्वाह नगरी फरक/फरक अस्पतालमा काम गर्न वाध्य हुन्छन् । डाक्टर, नर्स पास भइसकेपछि उनीहरूले पाउने तथा बाँच्ने न्यूनतम तलब कति ? न्यूनतम् पारिश्रमिक किन निर्धारण हुँदैन ? अहिले नेपालमा एमविविएस तथा नर्सिङ्ग कलेजहरू दुबोसरी उम्रिएका छन् । नेपालमा नै उत्पादन भएका डाक्टर, नर्सहरूलाई सम्मान गरि उचित रोजगारी दिन राष्ट्रले सकेको छैन । यति हुँदाहुँदै किन कलेजहरू खोल्नलाई अनुमति दिइन्छ ? अहिले नेपालमा त्रि. वि. अन्तर्गतका ६ वटा विपिके आइएचएस अन्तर्गत सि.टि.भिटी लगायत ४३ वटा कलेजहरूले नर्सिङ्ग पढाउने अनुमति पाएका छन । 


 त्यस्तै एउटा कलेजले वार्षिक ४० जनासम्म नर्सिङ्ग स्टाफ उत्पादन गरिरहेका छन । एमविविएस र नर्सिङ्ग पास गरेपछि विदेशिन रूचाउने आरोप पनि डाक्टर नर्सहरुलाई लाग्ने गरको पाइन्छ । हो, नेपालमा जागिर गरेर आफूले पढेको पैसा असुल गरि परिवारलाई फिर्ता दिनु त परै जाओस आफ्नो पेट पाल्न र घरभाडा यातायात खर्चसम्म धान्न सकिदैन । इच्छा नहुँदा नहँुदै नि पाएसम्म विदेशिनु पर्ने बाध्यता छ हाम्रा डाक्टर नर्सहरुलाई । प्राविधिक विषय लिएर पढेका नेपालीको त यो दुर्दशा छ भने सामान्य विषय लिएर पढेका युवाको हालत कस्तो होला ? हाम्रा आदरणीय देश संचालकहरुमा कहिले चेतना आउला ? भाषण गरेजस्तै बाँच्न पुग्ने न्यूनतम् पारिश्रमिक तोक्ने हो कि ..? चाहे कोरोना होस् वा भूकम्प घरमा बुबा आमा बलबच्चा विरामी भए पनि विदा पाउन धेरै गाह्रो छ । डाक्टर नर्सहरुले न.त कुनै चांडपर्व केहीमा विदा नै पाउछन्, मात्र डिउटी ।


देशको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नर्सको महत्वपूर्ण भूमिका हुन्छ । नर्सको सहयोग विना डाक्टरले मात्र विरामीको उपचार गर्न गाह्रो हुन्छ । नर्सको राम्रो हेरचाह र बोलीचालीले विरामीको आधा रोग निको हुन्छ । तर देशमा नर्सहरुको दरबन्दी र सेवा सुविधा हेर्दा सन्तोषजनक छैन । खासगरी सरकारी अस्पतालमा नर्सहरुको पर्याप्त परिचालन हुन सकेको छैन । एकजना नर्सले आफ्नो ड्युटीमा ३० देखि ४० जना विरामीलाई एक्लैले सेवा दिनुपर्ने अवस्था छ । सरकारी अस्पतालमा नर्सको संख्या हेर्दा आजभन्दा २० वर्षअघिको दरबन्दी विद्यमान छ । देशका सरकारी अस्पतालहरुमा १८ हजार नर्स आवश्यक रहेकोमा हालसम्म ८–९ हजारको हाराहारीमा मात्र दरबन्दी खडा गरिएको छ । त्यसमा पनि कार्यरत नर्सको संख्या हेर्दा ७–८ हजारको हाराहारीमा मात्र छ । बढ्दो जनसंख्याका आधारमा सरकारले २० वर्षअघिको दरबन्दी समेत पूर्ति गर्न नसक्नुलाई के भन्ने ? जनशक्ति अभावकै कारण कतिपय जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा नर्सको काम श्रेणीविहीन कर्मचारीले गर्ने गरेका छन् । जसले गर्दा विरामीले पाउने स्वास्थ्य सेवा पनि खस्किएको छ ।


नर्सिङ काउन्सिलमा दर्ता भएको तथ्याङ्कलाई हेर्दा देशभरका निजी तथा सरकारी अस्पतालहरुमा ४८ हजार नर्स कार्यरत भएको देखिन्छ । तर सरकारले आवश्यक दरबन्दी सिर्जना गर्न नसक्नु र अर्कातर्फ नर्सहरुको उत्पादन वर्षेनी सरकारी तथा निजी कलेजहरुले ६÷७ हजार गरिरहेका छन् । थप दरबन्दी सिर्जना हुन नसक्दा कतिपय नयाँ नर्सहरु भोलियन्टरका रुपमा काम गर्न बाध्य छन् । निजी स्वास्थ्य सेवा तथा नर्सिङ होमहरु हेर्ने हो भने हरेक टोल, गल्लीहरुमा खुलिरहेका छन् र खुल्ने क्रम पनि जारी नै छ । तर नर्सहरुलाई दिइने पारिश्रमिक सरकारी नियमविरुद्ध छ । 


निजी अस्पतालहरुले आफू खुसी ८÷१० हजारमा काम गर्न लगाइरहेका छन् । यस्तो हुँदा बाँच्नका लागि धेरै नर्सहरु विदेश पलायन भइरहेका छन् । निजी क्षेत्रबाट नर्सिङ पढ्दा कम्तीमा ६ लाख लाग्छ । सरकारीमा केही सस्तो भए पनि कोटा भएकाले नामनिकाल्न गाह्रो छ । त्यसमाथि पनि राजनीतिक भागवण्डाका कारण सामान्य परिवारका विद्यार्थीले नाम निकाल्न सजिलो छैन । यस्तो अवस्थामा नर्सहरुले पढाई सकेपछि सजिलै काम पाउने अवस्था छैन । यदि पाइहाले पनि साह्रै कम तलवमा काम गर्नु परिरहेको छ । यस्तो अवस्थामा नर्सहरुको मनोवल कसरी उच्च होला ? राज्यले तत्काल आवश्यक दरबन्दी सिर्जना गरी नर्सहरुको मनोवल उच्च राख्नु जरुरी छ ।


आफूले आफै नीति बनाउन त राम्रो भूमिका खेलेको छैन सरकारले ? नेपाल नर्सिङ संघले बनाएको मापदण्ड समेत लागु गर्न आलटाल गरिरहेको गुनासो संघको छ । सरकारले त्यसतर्फ ध्यान दिनु जरुरी देखिन्छ । नर्सको पेशागत सुरक्षा, सेवासुविधाका लागि जनसंख्या तथा स्वास्थ्य मन्त्रालयमा नर्सिङ परामर्श शाखा पनि खोलिएको छ । तर मन्त्रालयले उक्त शाखासँग कहिल्यै पेशागत परामर्श गरेको देखिंदैन । यस क्षेत्रको समग्र सुधारका लागि राज्यले समयसापेक्ष मापदण्ड बनाउन ढिलाई भइसकेको देखिन्छ । 


उत्पादित नर्सहरुलाई रोजगारीको प्रत्याभूति र न्यूनतम तलव सुविधा तोक्न नसक्ने हो भने सरकारको स्वीकृति लिई संचालन भइरहेका नर्स उत्पादन गर्ने कारखानाका रुपमा रहेका कलेजहरु सरकारले आफ्नो नियन्त्रणमा लिई बन्द गर्नु पर्ने देखिन्छ ।  –दामोदर पौडेल, त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं, [email protected]

प्रतिकृया दिनुहोस