• शुक्रबार-चैत-१६-२०८०

बेथितिहरुलाई नियन्त्रण गर्न मेरो उम्मेदवारी :  चुनाव अघिका प्रतिवद्धता पूरा गरेरै छाड्छौं   

 

(खडेन्द्र राई खोटाङ नेकपा एमालेका जिल्लाका पुराना नेता हुन् ।  जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुँदै पार्टीको उप सचिव तहमा रहेर पार्टी हाकेको अनुभव राईसँग रहेको छ । शिक्षण पेशा त्यागेर राजनीतिमा होमिएका उनी निष्ठावान कम्युनिष्ट नेताको रुपमा जिल्लामा परिचित छन् । कृषिबाट नै समृद्धि हासिल गर्न सकिन्छ भन्दै फलफुल खेतीमा होमिएका राई एक सकृय राजनीतिकर्मी मानिन्छन । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर राईसँग साँघु प्रतिनिधिले गरेको कुराकानीको मुख्य अंश : सम्पादक)


० तपाईंले नेकपा एमालेको तर्फबाट हलेसी तुवाचुङ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएको छ, जनताले तपाईंलाई भोट दिनैपर्ने कारण के छ ?


–नगरमा अहिले भएका कामको पारदर्शीता छैन । यसले विकृति बढाइरहेको छ । यो बढ्दै गएको विकृतिलाई रोक्नु पर्छ । भ्रष्टाचारको ग्राफ बढ्दै गइरहेको छ । यो नगरलाई समृद्ध बनाउनका लागि आवश्यक पर्ने विकास निर्माणका योजना संचालन गर्ने हाम्र्रो लक्ष्य हो । बेरुजुको चाङले सिंढी चढिरहेको छ । यी सबै बेथितिहरुलाई नियन्त्रण गर्नका लागि मेरो उम्मेदवारी हो । मलाई आशा छ, मैले राखेका एजेण्डामा मतदाताको समर्थन हुनेछ । यी बेथितीको अन्त्यका लागि हामीले चुनाव जित्नुपर्छ । मुल एजेण्डा भनेको यही हो ।


० विकास निर्माणको आधारशीला शिक्षा र स्वास्थ्य हो, यसमा सुधार गर्ने योजना चाहिँ चुनाव जितेपछि मात्र बनाउने हो कि अहिले नै केही तयारी छ ?


–हाम्रो नगरमा शिक्षाको अवस्था दिन प्रतिदिन बिग्रिंदै गइरहेको छ । वर्तमान मेयरले आफ्नो स्वार्थ अनुकूल शिक्षकको सरुवा गरेका कारण शिक्षा क्षेत्रमा समस्या बढेको हो । त्यसलाई कानूनी आधारमा मात्र खटनपटन गर्ने व्यवस्था गरिनेछ । क्षमतावानलाई अवसर प्रदान गरिने छ । कमजोरलाई तालिम र अन्य आवश्यक प्रशिक्षण दिएर क्षमतावान बनाइने छ ।

विद्यालयलाई प्रविधियुक्त बनाएर पठन पाठन गरिने छ । विद्यार्थीलाई अनौपचारिक शिक्षाका साथसाथै व्यवसायिक बनाउन पहल कदमी लिइने छ । यसको अलवा पाठ्यपुस्तकमा स्थानीय भाषा र संस्कृतिलाई विशेष जोड दिइने छ ।

स्वास्थ्यका क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेर विराटनगर र काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गरिने छ । यो योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर कार्यान्वयनमा लगिने छ र यी प्रतिवद्धता दुई वर्षभित्र पुरा गरिने छ । 


० बर्तमान शिक्षाले हामीलाई रोजगारीमुलक बनाउन सकेन, तपाईले लागू गर्ने भनेको व्यवसायिक शिक्षाचाहिँ कस्तो प्रकारको शिक्षा हो नि ? 


–यो प्रविधिमा आधारित र कृषि प्रणालीमा जोडिएको शिक्षा हो । यहाँको विद्यालयबाट उत्पादन भएका विद्यार्थीले आफ्नो व्यवसाय गरेर खान सक्ने बनाउने हो । हाम्रो शिक्षा प्रणालीलाई यही अनुरुप ढाल्नुपर्छ । हलेसी क्षेत्र त्रि–धार्मिक महत्व बोकेको क्षेत्र भएको हुनाले पनि यहाँ पयर्टनको राम्रो संभावना भएको क्षेत्र हो ।

हलेसी हिन्दू, बौद्ध र किरात तीनै धर्मको आस्थाको केन्द्रका रुपमा पूजा गरिन्छ । हिन्दूले महादेव, बौद्धमार्गीले गुरुपद्म संभवले ध्यान गरेर ज्ञान प्राप्त गरेको स्थानको रुपमा र किरातले सुम्निमा पारुहाङको रुपमा पूजा गर्ने गरिन्छ ।

 

यसको अलवा किरात संस्कृतिको उद्गमस्थलको रुपमा मानिएको तुवाचुङ क्षेत्र पनि यही छ । यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा राखिनु पर्छ भनेर हामीले आवाज उठाइरहेका छौं । जसबाट यो क्षेत्रको प्रवद्र्धनमा ठूलो टेवा दिने छ । विश्वभरिका हिन्दू बौद्ध र किरात धर्मको केन्द्र हुनेछ । यसबाट पर्यटनको विकास हुनेछ । हाम्रो व्यवहारिक शिक्षाले यसको भरपुर उपयोग गर्दै आय आर्जन गरेर नगर समृद्धिको दिशामा अगि बढ्ने छ । समग्र कृषि र होटल क्षेत्रको पवद्र्धनमा यसले टेवा पुर्याउने छ । यसबाट हाम्रो रोजगारी बृद्धि भइ आयआर्जनमा टेवा पुग्ने छ । 


० सडकलाई विकासको रुपमा हेरियो, यो विकास नभएर यतिवेला विकाराल समस्याको रुपमा देखा परेको छ, यसको परिवर्तित खाका तपाईंसँग अहिले कै जस्तो कि केही फरक छ ?


–हो, अहिले विकास भनेको बाटो हो भन्ने बुझियो । यो भन्दा अरु कुरालाई विकासको रुपमा हेरिएन । हाम्रो समस्या भनेको यही हो । बाटो खन्नमा हामीले डोजरको प्रयोग गर्यौ । डोजर किन्नका लागि हाम्रो अर्बौं रुपैयाँ विदेश गयो । त्यसमा प्रयोग हुने इन्धनको लागि भारतलाई छुट्टै रकम तिर्नुपर्ने हुन्छ । तसर्थ अवको विकास भनेको पैसा बाहिर जाने विकास होइन ।

गाउँको पैसा गाउँमा नै रहने किसिमको विकास आजको आवश्यकता हो । अबको विकासमा हामी डोजरको प्रयोग गर्ने छैनौ । त्यो सबै काम मानवबाट नै हुनेछ ।

यसबाट हाम्रो पैसा वेदेशिनबाट जोगिने छ र त्यो पैसा स्थानीयको घरघरमा हुने छ । साथै भू–क्षय पनि रोकिने छ । यसरी श्रम मैत्री योजना बनाउँदा काम र पैसा दुवैको खोजीमा भौतारिनु पर्दैन । यसबाट धेरै व्यक्तिले रोजगारी पाउने छन् । र सरकारले जनताको विकासका लागि दिएको पैसा गाउँमा नै रहने छ । 


०  निर्वाहमुखी कृषिलाई प्रवद्र्धन गर्ने तपाईंको योजना के छ ?


–अहिलेको कृषि निर्वाहमुखी कै रुपमा चलिरहेको छ । यसलाई प्रविधि र यन्त्रिकरणको प्रयोग बढाएर कृषि उत्पादन बढाइने छ । कृषकलाई समयमा मल, विउ र सिंचाइको  व्यवस्था मिलाइने छ । सिंचाइ नभएका स्थानमा वैकल्पिक सिंचाइ योजना लागु गरिने छ । उत्पादित वस्तुको बजारीकरण गर्न आवश्यक छ ।

किसानले उत्पादन गरेको वस्तु खेर गइरहेको छ । यसलाई कोल्डस्टोरको व्यवस्था गरेर नगरपालिकाले नै कृषि उपजको संकलन गर्ने व्यवस्था मिलाउने छ । यसरी संकलित वस्तुलाई बजारसम्म पु¥याउने काम गर्नेछ । 


 यसरी काम गर्दा किसानको उत्पादन खेर जाँदैन र आफुले उत्पादन गरेको वस्तुको सही मुल्य पनि पाउँछ । यसरी काम गर्दा कृषिमा सहभागिता बढ्छ र अहिले बाँझो रहेका जमिनको उपयोग पनि हुन्छ । यसले रोजगारी र अवसर दुवै प्रदान गर्छ । हामी यो काम गरेर नगरवासीलाई स्थाीय स्तरमा नै रोजगारीको अवस्था सिर्जना हुने वातावरण तयार गर्छौ र यसले अहिलेको निर्वाहमुखी कृषिलाई व्यवसायिक रुपान्तरण गर्न सहयोग गर्छ । 


० पाँच दलीय गठबन्धनको चपेटामा नेकपा एमाले चेपिएको छ, तपाईंको नगरमा गठबन्धनको अवस्था कस्तो छ नि ?


–हाम्रो नगरपालिकाका गठबन्धनको समस्या छैन । कुन दल को सँग कसरी मिल्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन । हरेक दलको आफ्नो नीति तथा कार्यक्रम र हैसियत हुन्छ । त्यही अनुरुप चुनावमा भाग लिने हो । अरु पार्टी भन्दा नेकपा एमाले राष्ट्रिय रुपमा पनि बलियो छ र स्थानीयमा पनि यो शक्ति प्रदर्शन गर्छ । त्यही भएर त विकास निर्माण वा राष्ट्रियताका सवालमा २०५१ सालदेखि हालसम्म आफ्नो शक्ति देखाएकै छ ।

त्यसो हुनाले कसैले कुनै पार्टीसँग गठबन्धन गर्दैमा आत्तिनु पर्ने अवस्था छैन । हाम्रो विश्वासलाई जनताले पनि आत्मसात गरेका कारण नै हामी हिजो र आज पनि शक्तिमा रहिरहेका छौ । यिनै कारणले गठबन्धनले हामीलाई कुनै असर गर्दैन र हामी डराउनु पर्ने आवश्यकता पनि छैन । 


० तपाईंको चुनावी राणनीतिक योजना के कस्ता रहेका छन ?


–रणनीतिक योजना भनेको नेकपा एमालेले जनताका लागि गरेका काम नै हुन । यसको अलवा हाम्रो कुनै छुट्टै रणनीतिक योजना छैन । यही कुरालाई हामी घरघरमा पु¥याउने छांै र हाम्रो प्रतिवद्धता भनेको विगतका सरकारले गरेको गल्ती कमजोरी गर्ने छैनौँ ।

हामी कसैलाई राजनीतिक आस्थाका आधारमा पक्षपात गर्ने छैनौँ । विकास निर्माण आवश्यकताको आधारमा हुनुपर्छ भन्ने विश्वव्यापी सिद्धान्तलाई अनुशरण गरेर काम गर्ने छांै । हामी यी विचारलाई प्रत्येक व्यक्तिमा  पु¥याउने छौं । 


अन्त्यमा, मतदाता तपाईंको आह्वान र सन्देश के छ ?


–सम्पूर्ण तुवाचुङनगरवासीमा हाम्रो आग्रह के हो भने हामी जनतालाई धोका दिने छैनौँ । हामी कुनै पनि प्रकारका गलत काम गर्ने छैनौँ । समृद्ध हलेसीको विकासको काम गर्ने हाम्रो प्रतिवद्धता छ ।

हामीले खानेपानीको व्यवस्थापन, सडकको स्तर उन्नतिका लागि काम गर्ने छौं । यी काम गर्नका लागि हामी सक्षम छांै र हाम्रो योजना र चासोको विषय पनि छ । मतदाताको मतलाई अवमूल्यन गर्ने छैन । त्यसो हुनाले हामीलाई मतदिएर विजय गराउन अनुरोध गर्दछु । 

प्रतिकृया दिनुहोस