• मंगलबार-असोज-२९-२०८१

मोहन्याल गाउँपालिकाका मृत्यू भइसकेका अध्यक्षका साथै उपाध्यक्षसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, मोहन्याल गाउँपालिका, कैलाली

 

काठमाडाैं । मोहन्याल गाउँपालिका, कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारवीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगबाट अनुसन्धान हुँदा त्यस गाउँपालिकाका पदाधिकारीहरू मोहन्याल गाउँपालिका, कैलालीका अध्यक्ष स्वर्गीय नवल सिहं रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना तथा एक निर्माण कम्पनीविरूद्ध उपर राजस्व चुहावट गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको ठहर गर्दै अख्तियारले  आरोप-पत्र दायर गरेकाे छ ।


   मुद्दा चलाइएकाहरूमा  मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं. २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं. ४ का वडा अध्यक्ष टेक वहादुर बोगटी, वडा नं. ६ का वडा अध्यक्ष टीकाराम भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराईसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर (VAT) बापतको रकम गरी जम्मा रू.५४,१८,५६८।०९ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारकाे अनुसन्धानबाट खुलेकाे छ ।


    निजहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ बमोजिमको हुँदा सोही ऐनको दफा ७ र दफा १७ मुताविक निजहरूको हकमा बिगो रु.५४,१८,५६८।०९ (चौवन्न लाख अठार हजार पाँचसय अठ्सठ्ठी रुपैयां नौ पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (ज) बमोजिमको सजाय हुन तथा हानिनोक्सानी (चुहावट) भएको राजस्व रकमको सोही ऐनको दफा ७ बमोजिम दोब्बर जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम निजहरुबाट बिगो असुलउपर गरी मोहन्याल गाउँपालिकालाई भराई पाउन समेत  अख्तियारले मागदाबी लिएको छ ।

 

  साथै घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकर बहादुर शाहसमेतले पहिलो किस्ताबापतको कबोल अंक रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको, प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँकार्यपालिकाबाट निर्णयसमेत गराई मिनाहा गराएको रकम, सोबापतको मुल्य अभिबृद्धि कर (VAT) रकम र गाउँपालिकामा पहिलो किस्ता मानी ढिलो गरी बुझाएको रोयल्टीबापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मूल्य अभिबृद्धि कर (VAT) मध्ये नबुझाएको रकम गरी जम्मा रू. ५६,००३४८।६१ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राईटर मकर बहादुर शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन पनि अख्तियारले  मागदाबी लिएको छ ।

 

   मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष स्वर्गीय नवल सिहं रावलसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर  (VAT) बापतको रकम गरी जम्मा रू.५४,१८,५६८।०९ सार्वजनिक सम्पात्तिको हानिनोक्सानी गरेको देखिएको र निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको छ । 

 

     सोही ऐनको दफा ७ तथा सोही ऐनको दफा ७ र दफा १७ ले उल्लेख गरेबमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको सजाय हुनुपर्नेमा निजको मृत्यु भएको अनुसन्धानबाट देखिए पनि अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्वान्तको रुपमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ को उपदफा (२) र १५८ को उपदफा (२) सहितको कानूनी व्यवस्था बमोजिम निजलाई कैद र सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ उपदफा (२) र दफा १५८ उपदफा (२) बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले स्व. नवल सिहं रावलको मृत्यु भईसके पनि निजको हकमा प्रचलित कानूनबमोजिम निजको हक खाने अंशियारबाट विगो रू.५४,१८,५६८।०९ असुलउपर हुनाका साथै हानिनोक्सानी भएको सार्वजनिक सम्पत्ति विगो रू.५४,१८,५६८।०९ (चौवन्न लाख अठार हजार पाँच सय अठ्सठ्ठी रुपैयां नौ पैसा) समेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर गर्ने प्रयोजनका लागि मात्र मागदाबी लिइएको छ ।

 

   साथै मोहन्याल गाउँपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेशदत्त ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम, ठेकेदारबाट शर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाई सम्झौता गरेको र दोस्रो र तेस्रो किस्ता बापतको कार्यसम्पादन जमानतबापत राखिएको रकम फुकुवा गरी गाउँकार्यपालिकाबाट निर्णय भई मिनाहा गरिएको रकम, सोबापतको मुल्य अभिबृद्धि कर (VAT) रकम र गाउँपालिकामा पहिलो किस्ताबापतको (रकम नलिई सम्झौता गरेको) मानी ढिलो गरी बुझाएको रोयल्टीबापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मूल्य अभिबृद्धि कर (VAT) रकम गरी जम्मा रू.५६,००३४८।६१  (छपन्न लाख तीन सय अठचालीच रुपैयाँ एकसठ्ठी पैसा) सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको फेला परेकाे छ ।

    निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोमा सोही ऐनको दफा ७ र दफा १७ मुताविक निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को देहाय (ज) बमोजिमको सजाय हुन साथै हानिनोक्सानी भएको सार्वजनिक सम्पत्ति बिगो रकम सोही ऐनको दफा ७ बमोजिम दोब्बर जरिवाना र सोही ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर गरी मोहन्याल गाउँपालिकालाई भराई पाउन समेत मागदाबी लिई २०७९ वैशाख २ गते  अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगबाट विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।   

 

 

प्रतिकृया दिनुहोस