• बुधबार-पौष-१०-२०८१

संघीयताप्रति नेताहरू फिटिक्कै इमान्दार छैनन्

‘जिम्मेवारी नदिए आफ्नै खेतीपाती स्याहार्छु’



(स्थानीय जनप्रतिनिधिमध्ये कमैलाई राष्ट्रिय चर्चा मिल्छ । इटहरी उप–महानगरपालिकाका मेयर द्वारिकालाल चौधरी यस्ता कमै भाग्यमानीमध्येका एक हुन् । पत्रकारसँगको भनाभन प्रकरणपछि चौधरी पहिलो पटक चर्चामा आए । जिब्रो नचपाइकन यथार्थ विषय राख्ने उनको शैली निकै रुचाइयो । चौधरी हालै सम्पन्न एमाले जिल्ला अधिवेशनमा अध्यक्षका रूपमा मैदानमा खडा थिए । तर, प्रतिस्पर्धीसँग निकै फराकिलो अन्तरले पराजित भए । जसले उनलाई पुनः चर्चामा ल्याएको छ । उनै चौधरीसँ जिल्ला अधिवेशनमा भएको पराजय, एमाले राजनीतिलगायत विषयमा केन्द्रित रहेर गरिएको संवाद : सम्पादक)


० नेकपा (एमाले) को सुनसरी जिल्ला अध्यक्षमा फराकिलो मतान्तरले पराजित हुनुभयो । यो परिणामलाई तपाईंले कसरी लिनु भएको छ ?


–निर्वाचनको परिणाम मेरो पक्षमा परेन । अन्य उम्मेदवार विजयी भए । तथापि, यो मत परिणाममा म सन्तुष्ट छु ।


० यति ठूलो राजनीतिक धक्का खाँदा पनि सन्तुष्ट हुनुहुन्छ ?


–परिणामप्रति मेरो कुनै गुनासो छैन । महाधिवेशनको सन्दर्भमा पनि नेताहरूले मलाई केन्द्रीय नेतृत्वमा आउन आग्रह गरेका थिए । कार्यकर्ताको चाहना पनि यस्तै थियो । केन्द्रीय सदस्यका निम्ति महाधिवेशनमा प्रचार पनि गरेको हुँ । तर, अन्तिममा सहमतिको कुरा आयो । सहमतिमा पदाधिकारी, केन्द्रीय सदस्य चयन गर्ने अध्यक्ष केपी शर्मा ओलीज्यूको चाहनाका कारण म परिनँ । अरू धेरै साथीहरूले पनि सहमतिका निम्ति त्याग गर्नुभयो ।


० पार्टीका नेता–कार्यकर्ताले चाहेका थिए भने चुनाव नै भिडिदिएको भए हुन्थ्यो होला नि त ?


–प्रतिस्पर्धा गर्ने विकल्प खुला थियो । तर, भर्खंरै विभाजनको पीडा खेपेको पार्टीमा सहमति जुटाएर अघि बढ्नु नै उपयुक्त र श्रेयस्कर हुन्थ्यो । त्यसैले म ‘ब्याक’ भएँ । अरू धेरै पदाधिकारी, केन्द्रीय सदस्यका आकांक्षी हुनुहुन्थ्यो, उहाँहरूले पनि त्यस्तै गर्नुभयो ।


० केन्द्रीय सदस्यको दाबेदार व्यक्तिले फेरि किन जिल्लामा लोभ गरेको त ?


–सबै क्षेत्रलाई समेट्दा पनि केन्द्रीय सदस्यमा हाम्रो नाम अटेन । त्यसका कारणहरु होलान् । छलफल पनि गर्दै जाउँला ।
अब प्रदेशको कुरा गरौं । यसको आयोजक कमिटी, अध्यक्ष, पदाधिकारीलगायतमा पनि मलाई कसैले सोधनी गरेन । परामर्श पनि लिएनन् । त्यसपछि मलाई लाग्यो, जिल्लामै दोहोरिएर एक पटक काम गरौं । विगतमा जिल्ला अध्यक्ष सन्तुलित ढंगले चलाएको पनि हुँ । त्यसैले फेरि जिल्लामै रहेर केही योगदान दिन उम्मेदवारी दिए । हेर्नुस्, एमालेमा हिजो गुटबन्दीका कारण समस्या थियो । अहिले पनि गुटरहित एमाले छजस्तो मलाई लाग्दैन । केन्द्रको यो रोग प्रदेश, जिल्ला हुँदै नगरसम्म चलेको छ ।


० गुटबन्दी गरेर चुनाव हराइयो भन्ने तपाईंको आशय हो ?


–एमाले गुटबन्दी केन्द्रदेखि स्थानीय तहसम्म झाँगियो । यसले एमालेलाई नोक्सानी हुन्छ । म सबैलाई मिलाएर लैजान्छु, अवसर दिनुस् भनेर नेताहरूलाई भनेको थिएँ । तर नेताहरूले यसप्रति गम्भीरता देखाउनु भएन । उहाँहरूले सहयोग नगरे पनि मेरो उम्मेदवारी रहन्छ भनेर मैले फिर्ता नलिई यथावत् राखेँ ।

मलाई मत देऊँ भनेर माग्दा पनि मागिनँ । मतदानको दिन म आफैं अनुपस्थित रहेँ । तथापि, प्रतिनिधि साथीहरूले माया गरेर १०० हाराहारीमा मेरो पक्षमा मतदान गर्नु भएको छ ।

जितेको भए देश र जनताको पक्षमा काम गर्थेँ । परिणाम आफ्नो पक्षमा नपरे पनि मेरो कुनै गुनासो र कुण्ठा छैन । म त्यस्तो नेचरको मान्छे पनि होइन ।

३० वर्ष मैले सक्रिय राजनीति गरेँ । अरूले यही राजनीति गरेर कुस्ता कमाइ गरेका छन् । महल ठडाएका छन् । मैले आधा पैतृक सम्पत्ति देश र जनताका निम्ति राजनीति गर्दा सकाएको छु । यसमा मेरो कुनै गुनासो छैन ।


० तपाईंजस्तो इमान्दार, निष्कलंक व्यक्तिलाई एमाले नेताहरूले किन नरुचाएका होलान् ?


–गुटबन्दी मेरा लागि अस्वीकार्य छ । म यसको सख्त विरोधी हुँ । म सधैं पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने मान्यता राख्छु । तर, नेताहरूलाई यो मन पर्दैन । जो गुटबन्दीमा लागेर रमाउँछ, त्यस्तालाई नेताले मन पराउँछन् । च्याप्छन्, हुर्काउँछन् । अहिले पनि हाम्रो पार्टी नेकपा एमालेमा गुटबन्दी छँदैछ । यसको म शिकार भएको हुँ, पराजित बनेको होइन ।


० उम्मेदवारी दिएर पनि प्रचार गर्नु भएन । नतिजामा पराजित भए पनि हार मानेको छैन भन्नुहुन्छ । उम्मेदवारी किन दिनुभयो त ?


–मेरो उम्मेदवारीको आफ्नै अर्थ छ । कुनै पनि कुरा सार्वजनिक गर्ने एउटा समय हुन्छ । उपयुक्त समयमा मेरो उम्मेदवारीको मक्सद के थियो, प्रष्ट हुनेछ ।


० माधव समूहसँग देखाएको निकटताको मूल्य चुकाउनु पर्यो पनि भनिँदैछ नि ?


–म जनताको प्रतिनिधि हुँ । जनप्रतिनिधि भनेको साझा हुन्छ । मेरो घरमा सबै थरीका मान्छे आउँछन् । रह्यो कुरा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको । उहाँ पहिले म आबद्ध दल एमालेमै हुनुहुन्थ्यो । वर्षौं नेतृत्व गर्नुभयो । पुरानो सम्बन्धका कारण आउनुभयो ।

पाहुना बनेर आएपछि स्वागत नगर्ने ? फेरि घरमा आउने सबै पाहुना विचारसँग सहमत मात्र हुन्छन् र ? विचार मिल्ने मात्र पाहुना हुन सक्छन् र ? पाहुना त सबै हुन सक्छन् नि । पाहुना आउँछन् । स्वागत गरिन्छ । यस्ता संकीर्ण सोचबारे मलाई केही भन्नु छैन ।

अहिले केन्द्र र प्रदेशमा गठबन्धन सरकार छ । प्रदेश १ मा  राई मुख्यमन्त्री हुनुहुन्छ । म स्थानीय तहको प्रतिनिधि हुँ । सबैसँग मेरो सम्बन्ध हार्दिकतापूर्ण छ । मुख्य कुरा इटहरीको विकास र समृद्धिको हो । मेरो घरमा आएका पाहुनामार्फत पुल, कल्भर्टलगायत योजना ल्याउन सकेँ भने त्यो इटहरीबासीका लागि खुसीको कुरा हो ।


० तपाईंले माथि भन्नुभयो कि राजनीतिमा लागेर करोडौं पैतृक सम्पत्ति सकाएँ । यो यथार्थ कुरा हो ?


–जीवनका ३० वसन्त मैले राजनीति गरेर बिताएँ । यसबाहेक म कतै आबद्ध छैन । जुवा कहिल्यै खेलिनँ । व्यापार पनि गरेको छैन । गरेको भनेको यही राजनीति हो । राजनीति गर्ने अरू नेताले उपार्जन गरेर महल ठड्याउँछन् । तर, मैले उल्टै बिगौं बिगाहा जग्गा बेचिसकेँ । मैले बेचेको जग्गाको मूल्यांकन गर्ने हो भने अर्ब नपुग्ला, तर करोडौं हुन्छ ।


० केन्द्रमा आश गर्नुभएको थियो । नेताले पत्याएनन् । प्रदेशमा पनि स्पेस नदिएपछि जिल्लामै होमिनुभयो । तर परिणाम अपेक्षित आएन । अब के गर्नुहुन्छ ?


–जिम्मेवारी दिए काम गर्छु । नदिए मेरो आफ्नो खेतीपाती छँदैछ, त्यसैलाई सम्हाल्छु । मेरो जग्गा जमिन प्रशस्त छ ।  गोठ पनि छ । तीन महिनापछि मेयरको कार्यकाल सकिन्छ । राष्ट्र सेवक कर्मचारी जागिर सकिएपछि अवकाश जीवन बिताउँछन् । म पनि त्यसैगरी ३० वर्ष लामो राजनीतिबाट बिदा लिएर रिटायर लाइफ जिउँछु ।


० मेयरमा नलड्ने अब ?


–३० वर्षे राजनीतिक यात्राको दौरान चार पटक चुनाव लडेँ । १० वर्ष गाउँ विकास समितिको अध्यक्ष भएँ । संविधान सभाको चुनाव पनि लडेँ । इटहरी उपमहानगरपालिकाको मेयरमा गत स्थानीय चुनावमा खडा हुँदा जनताले जिताइदिए । अब फेरि स्थानीय तह चुनाव आउँदैछ । साथीहरूले सोधेका छन्, तपाईं अब के गर्नुहुन्छ ? मैले भनेको छु, प्रधानसेनापति नियुक्त गरियो भने महाभारतमा अर्जुन लडेजस्तै गरी लड्छु । सारथिको भूमिका दिइयो भने श्रीकृष्णको जस्तो रथ चलाएर आफ्नो पक्ष र सेनापतिलाई विजयी गराउँछु ।


० संघीयताप्रति असन्तुष्टि बढ्दो छ । यसको कारण के होला ?


–संघीयताप्रति नेताहरू फिटिक्कै इमान्दार छैनन् । उनीहरू समावेशी लोकतन्त्रको कुरा गर्छन्, तर व्यवहार तदनुरूप छैन । समावेशी संघीय लोकतन्त्रप्रति नेताहरूको ओठे भक्ति मात्र कायम रहँदा असन्तुष्टि र अविश्वास चुलिँदो छ ।


० अधिकार बाँडफाँटबारे के भन्नुहुन्छ ?


–संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुरा छ । मालपोत, नापी स्थानीय तहमा ल्याउने भनिएको थियो । नेताले पनि यसमा प्रतिबद्धता जनाएका थिए । तर आयो त ? आएन । सबै केन्द्र मातहत राखिएको छ । बजेटमा पनि उत्तिकै थिचोमिचो छ । कुल बजेटको २० प्रतिशत पनि दिइएको छैन । संघीयता नाम दिइए पनि स्रोत र साधनमा सिंहदरबारको हालीमुहाली अद्यपि कायम छ ।


० यसको कारण के होला ?


–भाषणमा उनीहरू अधिकार प्रत्यायोजनको कुरा गर्छन् । व्यवहारमा अधिकार दिन तयार छैनन् । प्रशासक, कर्मचारीतन्त्र सबैको दिमाग सामन्ती मानसिकताले भरिएको छ । उनीहरू अझै पनि एकात्मक सोचबाट ग्रस्त छन् ।


० यही अवस्था रहे के होला ?


–२०५२ मा तत्कालीन माओवादी पार्टीले हतियार उठाएर सशस्त्र संघर्ष गरेको थियो । त्यसरी हतियार उठाउनुको कारण थियो, व्यवस्थाप्रतिको असन्तुष्टि । अहिले पनि व्यवस्थाप्रति असन्तुष्टि झाँगिदो छ । असन्तुष्टि झाँगिनु भनेको विद्रोहको बीउ रोप्नु हो ।

अहिलेका राजनीतिक दलहरूले विद्रोहको बीउ रोपिरहेका छन् । अर्थात्, विद्रोहका लागि स्पेस दिएका छन् । कुनै पनि बेला जनताले आवाज, हतियारमार्फत विद्रोहको आगो ओकले भने अन्यथा नमान्दा हुन्छ ।


० मेयरका रूपमा तपाईंले करिब करिब पाँच वर्ष पूरा गर्दै हुनुहुन्छ । सोचेको मेयर र भोगाइको मेयरबीच कति तादम्यता पाउनु भयो ?


–आम सर्वसाधारणको पहुँच प्रदेश र केन्द्रमा पुग्दैन । उनीहरूको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । त्यसैले स्थानीय सरकारसँग उनीहरूको अपेक्षा धेरै हुन्छ । विकास निर्माणदेखि समृद्धिसम्मका कुरामा जनताले स्थानीय तहसँग आश राखेका हुन्छन् ।

त्यसैले यसलाई साधन, स्रोत उपलब्ध गराएर अधिकार सम्पन्न बनाउनुको विकल्प छैन । हामीले राजनीतिक दलको कार्यकर्ता र जनप्रतिनिधिका हैसियतले यो विषय निरन्तर उठाएको उठायै छौं ।


० काम गर्न सजिलो अप्ठ्यारो के रहेछ ?


–जनताको पक्षमा काम ग¥यो भने अभूतपूर्व साथ र सहयोग हुने रहेछ । इटहरीको विकास यहाँको जनताको सहभागिताले गर्दा सम्भव भएको छ । साधन स्रोतको सीमितताबीच जे जति काम भएका छन्, यसमा म सन्तुष्ट छु ।


० स्थानीय तहका जनप्रतिनिधिलाई दबाब, हस्तक्षेप धेरै आउँछन् भन्ने सुनिन्छ नि ?


–सुरुसुरुमा तपाईंले भनेजस्तै मलाई पनि दबाब दिएका थिए । यसो गर्नुप¥यो र उसो गर्नुप¥यो भनेर आउँथे । मैले सुनिनँ । नीति–नियम हेरेर काम गरेँ । सुनुवाइ नगरेपछि दबाब दिनेहरू आफैं हारे र ब्याक भए । दलगत भावना भन्दा माथि उठेर काम गर्छ भन्ने सन्देश प्रवाह गरिदिने हो भने संघ, प्रदेश कतैबाट पनि दबाब आउँदैन ।


० इमान्दार, निष्कलंक नेताले नेपालमा स्पेस पाइराखेका छैनन् ?


–मानिसहरूले भन्ने गर्छन्, यो सतिले सरापेको देश हो । मलाई पनि कताकता त्यस्तै लाग्छ । यहाँ भीमसेन थापाजस्तो व्यक्ति सेरिएर मर्नु प¥यो । बहादुर शाहले देश तन्काए, तर अपमानको विष पिएर मरेँ ।


० राष्ट्रिय राजनीति जता जानुपर्ने हो त्यतै गइरहेको छ ?


–राजनीतिक दलहरू उदार हुनुपर्दथ्यो । केन्द्रमा उनीहरूले जनतालाई राख्नुपर्दथ्र्यो । तर त्यसो गरिरहेका छैनन् । स्वार्थको राजनीति अहिले देशमा चलिरहेको छ । सबै दल र गुटको स्वार्थमा लिप्त छन् । देश र जनताको स्वार्थ यहाँ कसैलाई मतलब छैन । आफ्नै समूह, घर परिवार पोस्ने राजनीतिबाट मुक्त नभएसम्म देश उँभो लाग्दैन ।


० दुई तिहाइ बहुमतनजिकको कम्युनिस्ट सरकार छिन्नभिन्न भयो । यसको कारण के होला ?


–नेपालीमा एउटा उखान छ–...लाई घिउ पच्दैन । कम्युनिस्टका लागि पनि सत्ता यस्तै हो ।


० अब छिट्टैनै विभिन्न तहका चुनाव आउँदैछ । अर्थात् दलहरू फेरि जनताबीच परीक्षा दिन जाँदैछन् । परिणाम के होला ?


–अबको चुनावमा कसैको पनि बहुमत आउनेवाला छैन । प्रतिस्पर्धा केवल को ठूलो बन्ने भन्नेमा मात्र हो ।


० एमालेको दाबी त दुई तिहाइ ल्याउने छ नि त ?


–बाहिर बाहिर भाषण गर्दा त म पनि दुई तिहाइ आउँछ भनेर गफ दिन्छु । तर, रियालिटी त्यस्तो छैन । अबको चुनावमा कुनै पनि दलको बहुमत आउँदैन ।

 

प्रतिकृया दिनुहोस