• आइतबार-असार-१५-२०८२

सामाजिक सञ्जालमा छचल्किएको जातीय व्यवस्था !

 

काठमाडौंको बबरमहलमा भाडाको कोठामा  आमासँग  बस्दै आएकी चौविस वर्षीय इमेज टेलिभिजनमा पत्रकारितारत  रुपा सुनारमाथि भएको जातीय विभेदबारेका धारणा र  टिकाटिप्पणीले यस हप्ता सामाजिक सञ्जालमा  राम्रै बहस छेड्यो ।  कोठा खोज्दा जातकै कारण अस्वीकृत  भएपश्चात उनले सामाजिक सञ्जालमा अपलोड गरेको भिडियो क्षणभरमै धेरैको नजरमा प¥यो । उनीमाथि गरिएको विभेदबारे अनेकथरीका प्रतिक्रियाहरूले कमेन्ट बक्स भरिएका थिए ।  


एउटा विभेदमाथि  मिश्रित किसिमका प्रतिक्रियाहरूको वर्षाती देखेतापनि पंक्तिकारलाई अनौठो लागेन किनकि कमेन्ट बक्समा सही तर्क गर्ने भन्दा कुतर्कले अपराधलाई  सामाजिक वैधता प्रदान गर्न खोज्नेको जमात बहुमतमा हुन्छ भन्नेबारे  अनुमान लगाउन कुनै गाह्रो थिएन ।    मूलतः यस आलेखमा  मनुवादी जात ब्यवस्थाद्वारा प्रशिक्षित यिनै   प्रतिक्रिया बारे चर्चा गरिनेछ । 


रुपा सुनारमाथि  कामीकी छोरी भएबापत प्रधान थरकी महिलाद्वारा गरिएको विभेद कुनै नौलो घटना नभै विगतकै यथास्थितिवादी जात ब्यवस्थाको पुनरोत्पादन थियो ।   २०७८ बैशाख १३ गते सोमबारको स्तम्भमा साँघु साप्ताहिकमा प्रकाशित ‘बाबु के जातको पर्नुभयो कुन्नि’ भन्ने आलेखमा यस पंक्तिकारले  कोठा खोज्ने क्रममा हुने जातीय विभेद बारे चर्चा गरिसकेकाले यहाँ सो कुरा दोहो¥याउन जरुरी लागेन । 


रुपाभन्दा अगाडि पनि कैयौं दलित र गैरदलित भित्रको पनि कथित नमासिन्या मतवाली तप्काको एउटा समूह यस्ता विभेदजन्य उत्पीडनको सिकार हुँदै आएको थियो । रुपा र उनीहरूमा के फरक रह्यो भने रुपा सञ्चारकर्मी र राजनैतिक रुपमा समेत सचेत रहेकाले प्रहरी प्रशासनले उनको उजुरी जसरी पनि दर्ता गर्नुपर्ने बाध्यता आइलाग्यो । यदि उनी सचेत र आँटिली हुदिनथिन् भने प्रहरीले उनको मुद्दाबारे कुनै कारबाही प्रक्रिया अगाडि बढाउनेवाला  थिएन ।   


रुपा सुनारमाथिको अन्यायमा जति मानिसहरूले मानवमाथिको दमनविरुद्ध कदम चाल्नुपर्ने आवाज उठाएका थिए, त्योभन्दा कम थिएनन् जात ब्यवस्थाका पक्षपातीहरू पनि ।  केही प्रतिक्रियातर्फ नजर दौडाऔँ । 
“यो मिडियाले यो खबर अनुसन्धान नगरी त्यतिकै छापेको हो । भित्री कुरा जे पनि हुन सक्छ ।’’ रुटिन अफ नेपाल बन्दको पेजमा आएको यो कमेन्टले मानिसहरूले अरुको पीडालाई समेत बार्गेन गर्ने हतियार  भएको आरोप लगाउन खोजेको देखिन्छ ।  

 

यस्तै अर्को प्रतिक्रियामा भनिएको छ “पहिले तिम्रो घरभित्र दमाइलाई पसाल्ने आँट गर । अनि हामीसंग कोठा माग्ने हिम्मत गर।’’ यो प्रतिक्रियाले त झन जातीय विभेदलाई वैधानिकता दिनुपर्ने तर्कलाई भयाभह ढङ्गले समर्थन गरेको देखिन्छ । झट्ट सुन्दा   कतिपयलाई ठिकै पनि हो कि भन्ने लाग्ने  यो प्रतिक्रियाको समर्थनमा थुप्रै रिप्लाइहरू गर्दै सही हो भन्ने अभिब्यक्ति दिनुले समेत जात ब्यवस्थाबारेको ज्ञानबाट आफूलाई उच्च जातिका ठान्ने समुदायहरूको बेखबरीपनलाई दर्साउँछ । 

 


प्रतिक्रियामा  भनिएझैँ दलितभित्रका जातभित्र पनि जातीय बिभेद छ जुन बिभेद विगत हजारौँ वर्षदेखि समुदायको अगुवाई गर्दै आइरहेका र संरचनागत रुपमा कथित उच्च ठानिएका बाहुन क्षेत्रीभित्र पनि  जरा नहल्लिने गरी ठडिएर बसेको छ ।  जस्तो कि बाहुनभित्रको पनि जैशी कुमाई र उपाध्यायबिचको विभेदलाई लिन सकिन्छ ।  बाहुनले बाहुनलाई गर्ने विभेद, बाहुनले क्षेत्रीलाई गर्ने विभेद, क्षेत्रीले जनजातिलाई गर्ने विभेद ।  क्षेत्रीभित्रको पनि तहगत संरचना र जातबारे प्रत्येक बालबालिका जस्तै  म पनि प्रशिक्षित भएको थिएँ यद्यपि हाल त्यस्ता पर्खालहरूलाई लात्तीले हानेर ढलाउने अभियानमा संकल्परत हुनु बेग्लै कुरो भयो । यी जातहरूमा पानी नचल्ने स्तरको विभेद छैन, तर  जैशी र उपाध्यायकै विवाह वा बाहुन र क्षेत्रीबिचको वैवाहिक सम्बन्ध अस्वीकार भएका उदहारणहरू छ्यापछ्याप्ती पाइन्छ ।   


कथित उच्च जात ठहरिएकाहरूले दलितलाई  दलितभित्रको विभेद नहटेसम्म आफूहरूले विभेद गर्न पाउनुपर्ने कलुसित प्रतिक्रिया जनाउनु  भनेको अरुको कमजोरीको तिललाई  पहाड बनाएर आफ्ना गल्तीहरू ढाकछोप  गर्ने प्रपञ्च सिवाय अरु केही होइन । दलितभित्रको जात ब्यवस्था पनि ब्राम्हणवादद्वारा लादिएको र सो कै नक्कलमा सिर्जिएको विभेदकारी ब्यवस्था थियो ।  विगतमा  सामाजिक नियम बनाउने अधिकार नदिइएकाले दलितले आफूभित्र विभेदकारी नियम बनाउन सक्ने अवस्था थिएन । यो त  समाजका हर्ताकर्ता ठहरिएकाहरूको आदेश पालनालाई धर्म ठान्ने वा मालिकको करकमलबाट  गर्दनमा खुकुरी र कञ्चटमा बन्दुकको भेटी थापी टाउको झोलामा ज्यान खोलामा पार्ने भन्ने विकल्पको छनोटका क्रममा रोज्नुपरेको  बाध्यता थियो । जसको अगुवाई  शास्त्रधारी ब्राम्हण र शस्त्रधारी क्षेत्रीको नेतृत्वमा भएको थियो  भन्न हिच्किचाउनुपर्ने जरुरत छैन । 


“जात हाम्रो पहिचान हो । पहिचानको रक्षा गर्नुपर्छ । पुर्खाले चलाएको चलन बचाउनु पनि पर्छ । तर  हेलाँहोँचो चाहिं हुनु हुदैन’’ । अर्को खाले प्रतिक्रियाको सारांश थियो यो  । झट्ट सुन्दा राम्रै जस्तो सुनिने यो  प्रतिक्रियाले जात ब्यवस्थालाई पहिचान मान्छ । पुर्खाहरूले चलाइरहेको चलनलाई मान्नुपर्ने तर्क दिंदै जातीय विभेद गर्नुलाई आफ्नो कर्तब्य ठान्ने यो जमात पनि सामाजिक सञ्जाल र समुदायमा उल्लेख्य रुपमै छ । 


यो तप्काले जातीय विभेद गर्न नहुने मत जाहेर गरेता पनि पुर्खाको चलन मान्नुपर्ने तर्क दिंदै यस ब्यवस्थालाई समूल अन्त्य गर्न नहुने मत जाहेर गरेको देखिन्छ । जातलाई पहिचानसंग जोड्नु अघि पहिचानबारे प्रस्टता आवश्यक पर्छ । अन्य ब्यक्ति वा समुदायमाथि  उत्पीडन नहुने गरी निर्माण गरिएको संस्कृति पहिचान हुन सक्छ तर जातकै आधारमा विभेद हुने गरी निर्माण गरिने चलनलाई पहिचान मान्न मिल्दैन । कान्तिपुर दैनिकको  २०७८ फागुन ९ गतेको आहुतिको स्तम्भ “पञ्चायती’’ मा प्रकाशित आन्दोलनको संस्कृति शीर्षकको लेखबाट यसबारे थप प्रस्टता आउँछ ।  

 
“तिमीहरूलाई कोटा पनि चाहिएको छ अनि कोठा पनि पाइएन  भन्छौं ? जबसम्म आरक्षण र विशेष सुविधा हुन्छ, तबसम्म छुवाछुत त राज्यले नै कोटा दिएर गर्न बाध्य पारिरहेको छ ।’’  दलित समुदायप्रति  अश्लील र तथानाम गालीहरूसहितको आक्रोसित प्रतिक्रिया पढी नसक्नुको पनि भेटियो । यस प्रतिक्रियाले सारा विभेदको जड समस्या आरक्षणमा देखेको थियो । र, छुवाछुतलाई बाध्यतासंगको साइनो लगाएर गैरप्रगतिशील समावेशिता विरोधीहरूको भरपुर समर्थन जुटाएको थियो ।  समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्तको  छेउटुप्पो नबुझेका भुत्ते चेतनाका चाटुकारहरूको यो प्रतिक्रियाले  सामाजिक सञ्जालमा यति समर्थन पाएको थियो कि सो कमेन्ट मन पराउनेहरू नै सय जना भन्दा धेरै थिए ।  यस प्रतिक्रियाको समर्थनमा गफ्फिनेहरू समावेशितालाई आफ्नो भाग खोसिएको अर्थमा  ब्याख्या गरिरहेका थिए र प्रतिस्पर्धा गर्न नसक्ने अल्छीको ट्याग  दलितमाथी लगाइदिन तछाड मछाड गरेको देखिन्थ्यो ।  


आरक्षणको मर्मबारे अनविज्ञहरूले मच्चाइरहेको डरलाग्दो कोकोहोलोले आफ्नै अज्ञानताको परिचय दिइरहेको जस्तो लाग्थ्यो ।  उनीहरू यसरी तर्क गर्दै थिए कि मानौँ आरक्षणको  अन्त्य बिना असमानता अन्त्य गर्नु हँुदैन  ।  २०६३ पहिले आरक्षणको ब्यवस्था नहुँदा दलितहरूमाथिको विभेद र जात ब्यवस्थाको चकचकी कस्तो थियो, एकचोटी  बुझ्ने प्रयास नगर्ने यो तप्का डरलाग्दो रुपमा सामाजिक सञ्जालमा दलितलाई शत्रु  करार गर्न उद्दत देखिन्छ । 


 माओवादीले भन्ने गरेको जनयुद्ध र  २०६२÷०६३ को जनआन्दोलनद्वारा  स्थापित आरक्षणले एकल जातीय प्रभुत्वलाई  केही हदसम्म कम गरेकोमा उनीहरू मुर्मुरिइरहेको प्रतित हुन्छ । विगतमा भएको दमनको ऐतिहासिक विश्लेषण  नगरी हजारौँवर्षदेखि  पढ्ने लेख्ने र सम्पत्ति राख्नेलगायतका  अधिकारबाट दलित समुदायलाई  धार्मिक ग्रन्थहरू,   जयस्थिति मल्लको मानव न्यायशास्त्र र जङ्गबहादुरको मुलुकी ऐन र सम्बद्ध जात ब्यवस्थाको संस्कृतिले  प्रतिबन्ध लगाई आफू मात्र अगाडि बढ्ने ब्राम्हणवादी सड्यन्त्रविरुद्ध  चुँ पनि नगर्ने तथाकथित  कम्युनिस्टको बर्को ओडेका पार्टीका दास कार्यकर्ताहरूको भुकाई अरुको तुलनामा अझ बढी देखिन्छ ।  “आफू विश्वकर्मा कामी दमाई भन्न लाज लागेर बाहुनका थर चोर्दै हिंड्छौ अझ विभेद भयो भन्न लाज छैन?’’ प्रतिक्रियाको अर्को झटारो ।  


बाहुनको थर पौड्याल वा घिमिरे जस्तै दलित समुदायका मानिसहरूको थर  मेल खानु कुनै नौलो विषय होइन । यसबारे थरहरूको उत्पत्तिबारे घोत्लिनु बुद्धिमतापूर्ण होला  । जस्तो कि पुख्र्याैली थलो पोखरा भएकाहरू पोखरेल कहलिए ।  विभेद झाँगिदै जादा र कथित समाजको नियम तोडेकै आधारमा  उनीहरूमध्ये केहीलाई सन्तान दरसन्तान सहित  बहिस्करण गर्दै अन्त्यमा अछुतको उपमा दिइयो ।  अचेल पनि केही ठाउँमा अन्तर जातीय विवाह गरेबापत  कथित उपल्लो जातमा जात घटाउने चलन ब्याप्त नै छ । यी प्रतिनिधिमूलक प्रतिक्रिया मात्र हुन् । यस्ता सयौँ प्रतिक्रियाहरू सामाजिक सञ्जालमै भेट्न पाइन्छ ।    
यस्ता प्रतिक्रियाहरू मूलतः गैरदलित तप्काबाट बढी आएको देखिन्छ । आफूले त्यो स्तरको विभेद सामना गर्नु नपरेकाले मजाक बनाउने असंगठित र विचारविहीन जमात   सामाजिक सञ्जालदेखि विश्व विद्यालयका कक्षाकोठासम्म छरपस्टै पाइन्छ  ।  यो जमातसंग न त अध्ययनको संस्कृति छ, न यथास्थितिविरुद्ध धावा बोल्ने आँट नै ।  


बिस्तारै परिवर्तन भैहाल्छ नि, हामीले किन टाउको दुखाउने भन्ने अर्को शिक्षित कहलिएको जमातले पनि अनेकौँ झुट र कागजका पानामा लेखिएका कानुनका कुराहरूको सहारा लिएर विभेद अन्त्य भैसकेको दावी गर्छ ।  कानुनको विद्यार्थी भएता पनि यस पंक्तिकारको निम्ति संविधान र सम्बद्ध ऐन नियम र नियमावलीहरू  प्रगतिशील विचारक विमल निभाको शब्द सापट लिएर भन्नुपर्दा रमाइलो चुट्किला जस्ता देखिएका छन् ।  कार्यान्वयन गर्नका निम्ति नभै मानिसको आँखामा छारो हालेर सत्ता टिकाउने शासकको कुटिल चालबाजीको रुपमा प्रकाशित पार्टीका घोषणापत्रहरू जस्ता ।


रुपा सुनारले यस विषयलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेपश्चात उनीबाट प्रेरणा लिने ब्यक्तिहरूको जमात पनि  बढेको छ । कमेन्टमा अब त म पनि आफू विरुद्धको विभेद सार्वजनिक गर्छु भनेर आँट गर्नेहरू पनि फाट्टफुट्ट देखा पर्न थालेका छन् । विभेदविरुद्ध चुप बस्न हुन्न भन्ने चेतनाजात ब्यवस्थाबाट प्रभावितहरूको मस्तिष्कमा अङ्कुरण भएको छ । यसलाई सही तरिकाले मलजल  गर्न सकिए प्रतिरोधको  निम्ति यो तप्का अग्रपङ्कितमा देखा पर्न सक्छ ।    


 जात ब्यवस्था मा आधारित पितृसत्तात्मक पुँजीवादले थोपरेको  अमानवीय क्रुरतमम संयन्त्रविरुद्ध ब्यवस्थित वैज्ञानिक र समालोचनात्मक एवं प्रगतिशील चेतना  निर्माणमार्फत  टाउकोले टेकेर उभिएको ब्यवस्थालाई उल्ट्याएर खुट्टाले  टेकेर सबैको शिर ठड्याउन सकिने ब्यवस्थामा संक्रमणका खातिर  सशक्त प्रतिकारात्मक  हस्तक्षेपकारी भूमिका  निर्वाह गर्नु  अबको अपरिहार्यता हो । 

प्रतिकृया दिनुहोस