• शुक्रबार-बैशाख-१४-२०८१

सेनाको दुई रथी पद एकसाथ रिक्त हुँदै, कसले मार्ला बाजी ? 

भावी रथी-उपरथीद्वय बालकृष्ण कार्की र सरोजप्रताप राणा

काठमाडौं । नेपाली सेनाको नेतृत्व रथीमध्येका वरिष्ठबाट चुन्ने परम्परा छ । त्यसैले नेपाली सेनाको प्रधानसेनापतिभन्दा मुनिका दुई रथीलाई सम्भावित प्रधानसेनापतिका रूपमा हेरिन्छ । संयोग कस्तो भने प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाश मिति नजिकिँदै गर्दा सेनाको रथीको दुवै दरबन्दी रिक्त हुँदैछन् । 

 

प्रधानसेनापति पूर्णचन्द्र थापाले ०७८ भदौ २४ बाट अनिवार्य अवकाश लिँदैछन् । यद्यपि, प्रधानसेनापति थापाको स्वभाविक अवकाश नहुने गाइँगुइँ पनि योबीचमा नचलेका होइनन् । यद्यपि थापा स्वयंले सेनाको नेतृत्व हस्तान्तरण स्वभाविक ढंगले थालिसकेको बताएका छन् । सेनाको नेतृत्व स्वभाविक ढंगले हस्तान्तरण गर्न लागिएकाले ०७८ साउन २४ बाट थापा अवकाश बिदा बस्नेछन् । सेनामा अवकाशको १ महिनाअघि प्रधानसेनापति अवकाश बिदा बस्ने परम्परा छ । जसलाई हालसम्मका प्रधानसेनापतिले पछ्याउँदै आएका छन् भने थापाले पनि त्यहीअनुरूप गर्ने वचन आफ्नो १००० दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा दिइसकेका छन् । 

 

थापा अवकाश बिदा बस्ने र अर्का रथी त्यहीँ आसपासमा अवकाश हुने भएकाले १ नम्बरका रथी प्रभुराम शर्मा प्रधानसेनापतिमा निर्विवाद देखिन्छन् । उनी ०७८ साउन २४ बाट कायममुकायम प्रधानसेनापति हुनेछन् । ०७८ भदौ २४ मा थापा अनिवार्य अवकाश भएपछि भने उनी रथीबाट प्रधानसेनापतिमा बढुवा भएर पूर्ण रूपमा सेनाको नेतृत्वमा आउनेछन् । 

 

शर्मापछिको वरीयताका रथी हुन्, ईश्वर हमाल । । ०७७ असार ६ मा रथीमा पदोन्नति भएका हमाल अहिले संयुक्त राष्ट्रसंघ (यूएन) मा फोर्स कमाण्डर छन् । हमाल प्रधानसेनापति थापाभन्दा अघि नै उमेरहदका कारण अवकाश हुँदैछन् । सेवाबाट अवकाश भए पनि फोर्स कमाण्डरको भूमिकामा भने उनलाई थप १ वर्ष निरन्तरता दिने निर्णय मन्त्रिपरिषदले गरिसकेको छ । फोर्स कमाण्डरको भूमिकामा रहे पनि उनको अवकाशपछि अर्को थप १ रथी पद पनि रिक्त हुनेछ । 

 

दुवै रथी पद रिक्त हुने भएकाले नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद्ले यसबारे निर्णय लिनेछ । यसमा उपरथीमध्येका सिनियर दुई जनाले अवसर पाउनेछन् । हाल बालकृष्ण कार्की र सरोजप्रताप राणा उपरथीमध्येका वरिष्ठ हुन् । रथीको उमेर हद ५८ वर्ष भएकाले कार्की र राणा दुवै प्रभुराम शर्माभन्दा पहिले नै अवकाश हुनेछन् । अर्थात् उनीहरू दुवै जनाले सेनाको नेतृत्व लिने अवसर पाउने छैनन् । 
 

प्रतिकृया दिनुहोस