• शुक्रबार-चैत-१६-२०८०

कोरोनाबाट आक्रान्त सुदूरपश्चिममा प्रदेश सरकारप्रति असन्तुष्टि

 


धनगढी, २१ वैशाख (रासस) : कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण आक्रान्त बनेको सुदूरपश्चिममा प्रदेश सरकारले जनताप्रति जिम्मेवारी प्रस्तुत नगरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ । 


सङ्क्रमण तीव्र रूपमा फैलँदा पनि प्रदेश सरकारले कुनै जिम्मेवारी नलिएको भन्दै प्रदेश सरकारको आलोचना बढेको हो । भारतबाट आउनेहरूको उचित व्यवस्थापन र अस्पतालहरूमा भएको अक्सिजन अभाव पूर्तिका लागि कुनै ठोस कदम नलिएको गुनासो बढेको छ ।


पहिलो चरणको कोरोना कहरको समयमा पनि आलोचित बनेको प्रदेश सरकार यसपटक झनै आलोचित बन्न पुगेको छ । सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले महामारीका बेला जनताको पक्षमा उभिएर भाइरस रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने सरकार समस्याबाट बेखबर रहेको टिप्पणी गर्नुभयो ।


नेकपा (एमाले) कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य रतनबहादुर थापाले प्रदेश सरकार जनताको समस्यामा लाचार भएको आरोप लगाउँदै  नाकाबाट भित्रिने नेपालीका लागि होल्डि¨ सेन्टर बनाएर केहीदिनको होल्डपछि परीक्षण गराइ सम्बन्धित पालिकामा पठाउने काम गर्नुपर्नेमा त्यो पनि नभएको बताउनुभयो ।

 

सरकारले तत्काल रोकथाम तथा न्यूनीकरणका लागि काम अघि नबढाए जनताले क्षमा नदिने भन्दै अक्सिजनको व्यवस्थासहितका आइसोलेशनहरुको व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिनुभयो ।   


प्रदेश सरकारले व्यवस्थापन नगरेपछि अस्पतालहरूमा अक्सिजन र अक्सिजन सिलिन्डर सहयोग गरिरहेको ह्युमिनिटी फाउन्डेसनका सदस्य तथा पत्रकार दीर्घराज उपाध्यायले प्रदेश सरकारले जनताको लाश गन्ने काम मात्र गरेको आरोप लगाउनुभयो ।


प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भने प्रदेश सरकार नागरिकको समस्यामा गम्भीर भएर लागेको बताउँदै सरकार आफ्नै तरिकाले काम गरिरहेको जिकिर गर्नुभयो । राज्य जनताको अभिभावक भएको हुँदा आफ्ना नागरिकको समस्यामा सरकार गम्भीर छैन भन्नु हास्यास्पद भएको उहाँको भनाइ छ । मुख्यमन्त्री भट्टले आरोप लगाउनेहरू कहिल्यै नथाक्ने भएकोले आरोपहरू सुन्न भन्दा पनि काम गर्न लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस