• शुक्रबार-बैशाख-७-२०८१

कोरोनाले जनताको ज्यान लिँदै : ५२० शैयाको वीरको नयाँ भवन रित्तै  

 

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन दोब्बर संख्याले बढिरहेको छ । सरकारले काठमाडौं उपत्यकाका अस्पतालहरू सबै कोरोना संक्रमितले भरिइसकेको भनि हात उठाएको छ । नागरिकको उपचार गर्ने दायित्वबाट हात उठाएको सरकारले ५२० शैयाको वीर अस्पतालको नयाँ भवन सञ्चालन गर्न भने उदासिनता देखाउँदै आएको  थियाे । प्रधानमन्त्री केपी  ओलीकाे २०७८ वैशाख २० गते सम्बाेधनपछि सञ्चालमा आउला कि भन्ने अपेक्षा गरिएकाे छ ।  वीर अस्पतालको मूल भवन अगाडि अत्याधुनिक क्षमताको ५२० शैयाको अस्पताल निर्माण सम्पन्न भइसकेको छ । 


 २०७७ फागुन ५ गते नै उक्त अस्पताल सरकारलाई हस्तान्तरण गर्न ठेकेदार शर्मा एण्ड कम्पनी तयार थियो । तर, निर्माण सम्पन्न हुन बाँकी रहेको धरहरा र महान्यायाधिवक्ताको कार्यालय उद्घाटन गर्न हतार गर्ने प्रधानमन्त्रीले जनताको स्वास्थ्यसँग जोडिएको र कोरोना महामारीले देश आक्रान्त भइरहेको अवस्थामा उक्त अस्पताल सञ्चालन गर्न चासो नदिनुको पछाडि के कारण छ ? वीर अस्पतालका एक चिकित्सको प्रश्न छ ।

 

सरकारले चाहने हो भने २ सय शैया मनिटरसहित राख्न १ अर्ब बजेट भए पुग्छ । प्रतिशैया २ लाख खर्च गरेर कम्तीमा २ सय शैया वीर अस्पतालको नयाँ भवनमा राख्नेतिर सरकारको ध्यान जान सकेको छैन । 


संविधानसभा सदस्य रामकृष्ण चित्रकार कोरोना महामारीका बेला अस्पतालमा बेड नपाएर बिरामीहरू मृत्युवरण गर्नुपरेको र तयार भएको अस्पताल सञ्चालन गर्न पनि चासो सरकारले नदिएको बताउँछन् । धरहरा उद्घाटन र राष्ट्रिय सभाको चुनाव अहिलेको आवश्यकता होइन । कोरोना महामारीले नागरिकहरूले अस्पतालमा बेड नपाएर मृत्युवरण गर्ने अवस्था निम्तिन नदिनु सरकारको दायित्व हो । तर सरकार यो दायित्वबाट पन्छिएर चुनाव र धरहरा उद्घाटनमा व्यस्त छ । रामसीताको रथयात्रा हजारौं भिडको जम्मा गरी गर्दै आएको छ ।

 

जसका कारण कोरोना फैलिन मद्दत पुगेको भनि सरकारको आलोचना भइराखेको छ । वीर अस्पतालको यो नयाँ भवन ३ अर्ब लागतमा बनेको हो । जुन भवनको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

 

बिजुली, पानीलगायतका अत्यावश्यक कुरा पनि व्यवस्थापन भइसकेको छ । अब शैया राखेर कर्मचारी परिचालन गरी अस्पताल सञ्चालन गर्न मात्र बाँकी छ । तर सरकार तयारी हालतको अस्पताल सञ्चालन गर्न चासो देखाइराखेको छैन । 


कोरोना संक्रमित बिरामीहरू अस्पतालको आकस्मिक कक्षमा बेड नपाएर छट्पटाइरहेका छन् । अक्सिजन दिनुपर्ने कोरोनाका बिरामीहरू आईसीयू बेड अभावमा आकस्मिक कक्षमै मृत्युवरण गरिरहेका छन् । कोरोना संक्रमित गरिब बिरामीका लागि निजी अस्पताल आकाशको फल जस्तै भएका छन् । सरकारी अस्पतालमा आईसीयू कहीँ खाली छैन ।

 

आकस्मिक कक्षमा बेड खाली हुने प्रतिक्षा गर्दागर्दै धेरैले ज्यान गुमाइसकेका छन् । आकस्मिक कक्षमा समेत बिरामी भरिभराउ भएर एम्बुलेन्समै ज्यान गुमाउनुपर्ने दूर्भाग्यपूर्ण अवस्था छ ।

सरकारले बेड छैन, थप बेडको व्यवस्था गर्न सकिँदैन भन्दै विज्ञप्ति जारी गरेर पन्छिने कि तयार भएको अस्पताल सञ्चालन गर्न तदारुकताकासाथ लाग्ने हो ? यो प्रश्न वीर अस्पतालका कर्मचारीहरूले गर्दै आएका छन् । 


  यो विषम परिस्थितिमा नागरिकको जिउज्यान जोगाउनु सरकारको प्रथम दायित्व हो । बालुवाटारमा बसेर दूरदराजका सडक शिलन्यास गर्ने अहिलेको आवश्यकता होइन । अहिलेको आवश्यकता कोरोना संक्रमितको लागि जतिसक्दो अक्सिजनसहितको आईसीयूको व्यवस्थापन गर्ने हो । तर सरकार यो दायित्वबाट पन्छिएर हल्काफुल्का शिलान्यास र उद्घाटनमा व्यस्त भएको देखिन्छ ।

 

अहिले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने भन्दा पनि जनताको जिउज्यान जोगाउनु मुख्य दायित्व हो भन्ने बोध सरकारमा नहुँदा कोरोना महामारीले अस्पतालमा उपचार नपाएर धेरैको ज्यान जाने सम्भावना सन्निकट देखिन्छ । 
 

प्रतिकृया दिनुहोस