रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले साँघु साप्ताहिकमा २०७७ चैत ९ गते घुमुवा राखेर असुली गरेको बारे समाचार प्रकाशित भएपछि आफूले कमाण्ड सम्हालेको छ महिना भएको र राम्रो काम गरेको दावी गरेका छन् । तर, एसपी शाहमाथि उनले चतुरतापूर्वक प्रहरी हेडक्वार्टरलाई गुमराहमा राख्ने प्रयास गरेको आरोप लागेको अर्को खबर प्राप्त भएको छ । खबर अनुसार, प्रहरी हेडक्वार्टरले साँघुमा समाचार प्रकाशित भएपछि दरबन्दी भएकै कार्यालय विराटनगरको रानी गणमा घुमुवा प्रहरी हरेन्द्र ठाकुरलाई रमाना दिन निर्देशन दियो ।
तर एसपी शाहले प्रहरी प्रधान कार्यालयले चासो राख्नासाथ घुमुवा प्रहरी हरेन्द्र ठाकुरलाई २० दिनको बिदामा पठाए । दरबन्दी भएको रानीमा नपठाई बिदामा पठाएर प्रहरी हेडक्वार्टरलाई उनले गुमराहमा पारेको आरोप लागेको छ । बिदा छाडेपनि उनी हरेक दिन भन्सारमा अतिरिक्त आम्दानी गर्न परिचालित भइराखेको प्रहरी स्रोत बताउछ । हेडक्वार्टरले चासो राखेको मितिभन्दा अघिल्लो दिनको पत्र ठाकुरलाई थमाएको खबर छ ।
घुमुवा हरेन्द्र ठाकुरका भाइ महेन्द्र ठाकुरलाई एसपी शाहले जिल्ला अदालतमा ड्युटी खटाएको पत्र समाचार प्रकाशित हुनुअघिकै मितिमा दिइएको श्रोत बताउछ छ । हेर्दा अदालतमा ड्युटी खटाएको भएपनि उनको काम पनि तस्करहरूसँग हरेक दिन दस्तुरी लिने नै रहेको श्रोतको दावी छ ।
यसैगरी पर्सा जिल्लाको सशस्त्र प्रहरी गणमा खटाइएका डीएसपी दीपेन्द्र थापाले सीमा क्षेत्रमा ५ जना घुमुवा परिचालन गरी अतिरिक्त रकम उठाउने गरेको गुनासो आएपछि प्रदेश २ का डीआईजी चन्द्रप्रकाश गौतमले २०७७ चैत १० गते मंगलबार सबैलाई बाहिनीमा तानेको खबर छ । डीएसपी थापाको कमाण्डमा परिचालित घुमुवाहरूमा राजाराम पटेल, हरिबहादुर थापा, विनोदप्रसाद यादव, राजकुमार पटेल, हरेन्द्र साह गोठ छन् ।
यी घुमुवाहरू विगतमा पनि तस्करी गर्नेहरूसँग मिलेमतो गरी विवादमा परेका हुन् । विगतमा बीओपीमा रहँदा उनीहरूको बारेमा धेरै गुनासो आएका थिए । भिस्वाका व्यापारी शशिकान्तसँग तस्करी गर्न छुट दिएर दररेटअनुसार लिने गरेको गुनासो गरेका छन् । शशीकान्तले सशस्त्रका घुमुवालाई मासिकरुपमा ५० हजार रुपैयाँ दिने गरेको तर त्यतिले पनि पुग्दैन, बाहिनीमा बुझाउनुपर्छ भन्दै थप रकम माग गरेको तर उनले दिन नसक्ने भनेपछि कवाडी कारखानामा छापा मारेर कर तिरेको र बिलबिजक भएको सामान पनि बरामद गरेको गुनासो गरेका थिए । त्यही गुनासोलाई आधार मानेर डीआईजी गौतमले उनीहरूलाई बाहिनीमा तानेर छानबिन सुरु गरेका छन् ।
प्रतिकृया दिनुहोस