• आइतबार-फाल्गुण-१६-२०७७

देवत्व र दानवत्वकरण अभियानमा युवाहरू !

 

जब सामाजिक सञ्जालका समयरेखा चिहाउन फोनको स्क्रिनमा नयन दौडन्छन्, तब सुरुमै देखा पर्छन् मनलाग्दी टिप्पणीका विश्रृंखलित पोस्टका अनुशासनहीन अक्षरहरू । झगडाका  दोहोरीहरू, असहिष्णुताका फोहोरीहरू र गाली वर्षाका लहरीहरू एकैपटक ।  एउटाले अर्कोलाई धुलाम्म्य बनाउँछ अक्षरको जोरजामबाट । अर्कोले बितृष्णाको हिलो  छ्याप्छ पोस्टबाटै, तेस्रोले प्रत्युत्तरमा असभ्यताको बञ्चरो प्रहार गर्छ । जवाफमा बम बारुद सबै पड्किने एक मात्र थलो बनेको छ सामाजिक सञ्जाल । 


मूलतः अहिले राजनैतिक विषयवस्तुले मुलुक तातेको छ । चिसो मौसमको राजनैतिक सर्गर्मीले युवाहरू नतातिने कुरै भएन । बाफ नै बनेर उम्लिरहेको हेर्न रत्नपार्क वा माइतीघर मण्डलामा पाइला टेकिरहनु पर्दैन ।  सामाजिक सञ्जालका समयरेखाहरूमा पदार्पण गरे रमिताको  राजनैतिक विषयवस्तुबारे आगो ओकलिरहेका युवाहरूको ताँती देख्न सकिन्छ । देख्न मात्र होईन समर्थन विरोध वा ऐक्यवद्धताको स्वर प्रतिक्रियाको रुपमा लेख्न पनि सकिन्छ । 


हाल युवाहरूमा उम्लिएको रगतमा भने बिद्यमान ब्यवस्था वा दुरावस्थाप्रतिको आक्रोस देखिदैन । यो त नेता मण्डलीप्रतिको भजनगान वा श्रापदानमा उर्लिइरहेको आक्रोस हो । तेरो भन्दा मेरो नेता महान भन्ने ब्यक्तिपूजक मनोविज्ञानले कुर्लिइरहेका जवानहरूको आवाज हो । सबै त होईन तर समस्टीमा बहुसंख्यक युवाहरू जो स्वदेशमा बेरोजगारीको समस्यासंग जुधिरहेका छन्  उनीहरूको उपभोग गरेर आफ्नो पक्षमा माहोल तताउन पैसाको खोलो बगाउने नेताहरूप्रतिको भक्तिभाव हो । 


प्राय युवाहरूको मस्तिष्क वैचारिक रुपमा शून्यजस्तै छ ।आफ्नै स्वायत्त विचारको अभाव छ ।  कुनै विषयवस्तुप्रतिको विचार निर्माण र  सो विषयलाई हेर्ने आफ्नै मौलिक  दृष्टिकोण छैन । अरूद्वारा प्रत्यारोपित विचारहरूलाई युवाहरूले आफ्नो विचार सम्झने भूल गरिरहेका छन् भने अरु भन्दा भिन्न हुने शोखका कारण समेत सामाजिक सञ्जालमा प्रत्यारोपित विचार पोख्न उद्दत देखिन्छन् । के सही के गलत, कुन व्यवस्था ठिक कुन बेठिक ? कुन ब्यवस्थाले बहुसंख्यक श्रमजीवी शोषित पीडित नागरिकहरूको हित गर्छ र कुन ब्यवस्थाले बिदेशी वस्तुको आपूर्तिमार्फत दलाली गरेर कमिशन खाने दलाल पुँजीपतिहरूको हित गर्छ ? कुन प्रणालीले  समतामूलक ब्यवस्था सहितको समन्यायिक समुन्नत समाजको परिकल्पना गर्छ ? कुन प्रणालीले निश्चित धनाढ्यहरूको पक्षपोषण गर्छ ? युवाहरूलाई चासो छैन ।   केबल आफ्नो नेता नारायण, विपक्षी हिरण्यकश्यपभन्दै नारा भट्टाउनेतर्फ केन्द्रित छन् नवजवानहरू ।  


युवाहरूमा राजनैतिक विचारधारात्मक प्रशिक्षणको अभाव देखिन्छ । आफूले बोकेको विचार वा आफूद्वारा समर्पित नेतादेवको राजनैतिक कार्यक्रम के छ? आर्थिक विकासको गुरुयोजना के हो? बिद्यमान विभेदकारी सामाजिक ब्यवस्था उन्मूलनका आधारहरू के के हुन् ? युवाहरूलाई चासो देखिदैन । केबल तेरो नेताको जुँगा सानो, मेरो नेताको दारी ठूलो, तेरो नेताले गरेको कार्यक्रम भन्दा मेरो नेतादेवले गरेको कार्यक्रमको जनसहभागिता यतिउति भन्ने बेतुकका बेअर्थी कुरामा युवाहरू सामाजिक सञ्जालमा मर्यादाबिहीन असामाजिक कुराहरू प्रदर्शन गरिरहेका छन् । मूलतः हाल नौटङ्की भर्सेस नाटक नै हो भन्ने दुई दारीको लडाइमा युवाहरू पनि पक्ष र बिपक्षमा कोकोहोलो मच्चाइरहेका छन् ।  युवाहरूको जुहारीमा न त घरकी बुहारीलाई न्याय दिने कुरो सुनिन्छ, न त पासपोर्टधारीलाई स्वदेशमै रोजगारीको ब्यवस्था गर्नुपर्ने चुरो बुझिन्छ ।  


वर्तमान युवा शक्तिले हाल देखा परेको संकट मूलतः बिद्यमान राजनैतिक ब्यवस्थाकै संकट हो भन्ने कुरा बुझ्न सकेको छैन । विगत सत्तरी वर्षदेखि अङ्गिकार गरिएको सीमित पुँजीपतिहरूको ब्यवस्थामा भ्वाङ परेको कुरा युवाहरूसंग षड्यन्त्रपूर्वक लुकाउने चेस्टा संसदवादीहरूले गर्दै आएका छन् ।  ब्यवस्था नभै ब्यक्ति खराव छ भन्ने तरिकाले प्रशिक्षित गर्दै केबल एक ब्यक्ति विरुद्ध युवामोर्चालाई केन्द्रित पार्न  युवाहरूका स्वघोषित नेतादेव केन्द्रित देखिन्छन् भने जसोजसो बाहुन बाजे उसैउसै स्वाहा भनेजस्तै गरी युवाहरू पनि उनीहरूकै  डमरू बनिरहेका छन् । जसरी बजायो उसै गरी बज्ने । 


 हाल अङ्गिकार गरिएको ब्यवस्थाले मूलतः नेपाली जनजीविकाका समस्या हल गर्न नसक्ने भएकाले यसभन्दा उच्चस्तरीय र बिज्ञान प्रविधिको उच्चतम उपयोग र प्रचुर उत्पादनमा आधारित ब्यक्तिको नभै समाजको स्वामित्व रहने  ब्यवस्था निर्माणमार्फत मात्र बहुसंख्यक नागरिकहरूको हित हुन्छ भन्ने तथ्य युवाहरूले  बुझ्नु जरुरी छ । पुँजीपति पार्टीका आर्थिक समूहको पक्ष र बिपक्षमा कुर्लिनु भन्दा बर्ग  सङ्घर्षको माध्यमबाट सही व्यवस्था निर्माण गर्ने विचारधारासंग  जोडिनु  युवा र समग्र राष्ट्रका निम्ति समेत उत्तम उपाय हुन सक्छ । 


 युवा आफूसंग एउटा स्पस्ट विचार हुनु जरुरी छ । राजनैतिक दर्शनशास्त्र, आर्थिक कार्यदिशाप्रतिको दृष्टिकोण, सांस्कृतिक चेतना र वैज्ञानिक विचारधाराले युवालाई सशक्त बनाउँछ । कुनै विषयवस्तुलाई नियाल्ने स्वायत्त दृष्टिकोण निर्माणका खातिर समेत युवाहरू अध्ययनशील हुनु जरुरी छ । युवाहरू नेताको भजनमण्डली नभै  जनजीविकाका समस्या समाधान गर्ने आन्दोलनमा सरिक हुनुपर्छ । सीमित नेतृत्व मण्डली नभै बहुसंख्यक उत्पीडित नागरिकका सवाल समाधान गर्न केन्द्रित हुनु आवश्यक छ ।  


नेता मण्डलीको चाकरीमा खर्चिने समय र उर्जा कुनै प्रगतिशील अग्रगामी काममा खर्चिन सकिए आफ्नो मात्र नभै समग्र मानव जातिको उत्थानमा टेवा पुग्न सक्छ । त्यसो त  पहाडलाई सम्याउने आँट राख्ने,  वायुको बेग समेत नियन्त्रण गर्छु भन्ने सहास बोक्ने जोशीला र उर्जावान सबै युवाहरू अध्ययनशील वा वैचारिक रुपमा अपरिपक्व छन्  भन्ने अर्थ पनि लगाउनु हँुदैन ।  उत्पीडित मानव जातिको मुक्तिको निम्ति निरन्तर सङ्घर्षरत युवाहरू पनि प्रशस्त नै छन् । ती युवाहरूले विचारबिहीन युवाहरूलाई सहीप्रशिक्षणको माध्यमबाट वैचारिक दृष्टिकोण प्रदान गर्दै आफूसंगै अग्रगमनको मार्गमा गोलबन्द गर्न सके कुनै नेतालाई देवत्व वा दानवत्वकरण गर्ने कार्यमा नभै राष्ट्रियता र जनजीविकाका समस्या समाधानमासम्पूर्ण युवाशक्ति परिचालित हुन सक्छ । 
 

प्रतिकृया दिनुहोस