• आइतबार-फाल्गुण-१६-२०७७

अर्थात जेमन्त : शरदराज गौतम

 

मुलुकमा बुख्याँचा जतिखेर पुत्ला हुन पुग्छ 
विश्वविद्यालय परिसरमा प्रहरी हस्तक्षेप गर्दछ ।
पुत्ला भन्ने जिनिश पक्कै सरकार नै हुनु पर्दछ ।
नत्र प्रहरी ‘फोर्स’ हुँदैन र रहँदैन पनि, भतुवा हुन्छ ।
पुलिस बुख्याँचालाई पुत्ला देख्नै सक्तैनन, आदेश मात्रै देख्ने हुन ।
देख्ने त त्यसको राजनैतिक नेतृत्वकर्ताले मात्रै हो ।
पत्रकार बुख्याँचा हुन्नन्, विघटनलाई असंवैधानिक भन्छन् ।
राष्ट्रपति कार्यालय पत्रकारहरूलाई पुत्ला देख्दछ ।
नत्र, पत्रकारको महाअधिवेशनमा राष्ट्रपति नपुग्ने कारण हुन सक्तैन ।
प्रश्न त उठ्छ नि,
यो मुलुकको राज्य प्रणालीमा ‘भुँइ मान्छे’को सत्ता इकाई कहाँ छ भनेर ।
भुँइ मान्छे र राज्य संयत्र बिच बिचौलियाको दह्रो रजगज छ भनेर बुझ्दा हुन्छ ।
को कसको लागि राज्यसत्ता चलाइ रहेको छ
र, को कसका लागि राष्ट्र प्रमुख भएको छ भनेर ।
बालकोटलाई व्यक्तिको यौनिकतासित कोइ किन जोड्छ ।
तिनको चेत, र तिनको सोचको घेरा चाल पाइन्छ ।
नत्र, यो मुलुकमा जे जति बुझिदैन नि 
तिनले नबुझ्ने र नचिन्ने भनेकै बिचौलियाको अनुहार मात्रै हो ।
आजको दिनमा सिंहदरबार कहाँ छ भनेर नसोधौं ।
बिचौलियाका डेरा कहाँ छ , शहरका मानिस प्याट्टै भनि दिन्छन् ।
खटनपटनको चुबुर्को  मात्रै विरोध गर्ने सिंहदरबारको उर्दीमा
सामन्त मात्रै गन्हाउँदैन, तानाशाही ठस्ठस् गन्हाउँछ ।
मुलुकसित संवैधानिक र कानुनी संयत्रहरू साँगुरिदै गएका छन ।
र, साँगुरिएका विकल्प रहँदा, डर त हुन्छ हुन्छ ।
मर्ने डर होइन, कसैलाइ मार्नै पर्ने भो भन्ने डर ।
यस्तोमा मुलुकमा कोही, हिंसा उठ्दैन भनेर भन्छ भने, ऊ लाक्षी मानिने छ ।
कमजोड संविधानले मुलुकमा राजनैतिक संयत्रहरू कमजोर नै जन्माउँछ ।
कमजोड संयत्रबाट जन्मिने भनेकै चाकरहरू हुन ।
चाकरहरूले मुलुक चल्ने भए, तानाशाहहरू किन तैल चित्रमा टंगिन्थे ।
त्यतिसम्मको आख्यान कोइ बुझ्दैनन् भने,
यिनलाई राजनीतिकर्मी होइन, सामन्त भन्दा हुन्छ ।
यतिखेरको राजनैतिक उहापोहमा जन्मिने एउटै थोक छ ।
डरको सन्नाटा ।
र, यो डरको सन्नाटा पढे लेखेका र अनलाइनका सम्बाद हेर्नेमा बढी छ ।
यसलाई गाउँघर र शहरबजारमा प्रिटेस्ट गरेर हेरिबस्नुस्
मलाई लाग्छ, चित्र भिन्न आउँछ ।
धनकुटा बजारदेखिस्याउला नओइलिने  दुरीमा छ
साङ्तान गाउँ ।
एक अपरान्ह तीन बटुको छ्याड्ड तन्काएर न मातेर बस्नुस्
धरँेधर्म यो मुलुकको राज्य संयत्रको बेहिसाब तपाईलाई दुख्ने छैन ।
आजभोलि सबथोक सुनसान सुनसान,खालिखालि छन,खम्बेला ।
पेटी, चौतारा, फलैंचा र पीढीहरू सबका सब 
ती केवल अस्ताउने घामका साक्ष मात्रै छन ।
हन, यति बिघ्न मानिस गाउँखाली गराएर कहाँ गए होलान ।
प्रश्न त उठ्छ नि ।
जवाव घाम उदाउँदै देखिने बाक्लो तुवाँलोसम्मले दिन सक्तैन ।
यो बाक्लो तुवाँलोमा भिर गाउँ पुरै छोपिएको छ ।
सिंहदरबार भुँइ मान्छेको छायाँमा छोपिएको छ ।
कि होइन भने, भुँइ मान्छे सिंहदरबारको छायाँमा ।
तस्बिर दुबै धमिला छन, सिंहदरबारको पनि, भुँइ मान्छे को पनि ।
बिचौलियाहरू मुकुण्डो नाचमा थरिथरिका अनुहार लिएर डबलीमा देखिन्छन ।
अब तपाई यस्तोमा शीतल निवासको ठेगाना सोध्नु हुन्छ भने ।
मित्र, पहिरो त घर मुनिको कान्लोमै जाने हो त ।
हातमा क्यै नहुनेहरू आबाज लिएर उठेको देखिन्न कतै ?
के भाको तपाइंको चेतलाई ।
सप्पै त्यस्तै सोध्छन त, हौ ।

 

प्रतिकृया दिनुहोस