• मंगलबार-बैशाख-११-२०८१

देउवा ओलीको लाइनमा उभ्भिएपछि कांग्रेसमा तरंग

 

 

काठमाडौं । 'सरकारले चुनाव गराउने भएपछि सबैले भाग लिन्छन् । प्रचण्डजी पनि २०७७ वैशाखमा हुने निर्वाचनमा आउनु हुन्छ ।’

 

झट्ट सुन्दा यो भाषण प्रधानमन्त्री केपी शर्मा ओली वा उनीपक्षीय कुनै नेताको जस्तो लाग्छ । तर यो सत्तारूढ नेकपाका कुनै नेताले नभएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्त गरेको ताजा २०७७ पुस २६ गतेकाे अभिव्यक्ति हो ।

 

कांग्रेसका नेताहरू ओलीविरुद्ध संघर्षमा उत्रिनुपर्ने भाषणबाजीमा रमाइरहेका बेला कांग्रेस सभापति देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने प्रष्ट संकेत गरेका छन् । यसलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

कांग्रेस तरंग, प्रचण्ड–खिस्रिक्क

 

प्रतिनिधिसभा विघटनको निर्णयपछि काग्रेसमा पनि ध्रुवीकरण देखापरेको छ । देउवा समूह ओलीप्रति सफ्ट देखिएको छ भने रामचन्द्र पौडेल समूह संसद् विघटनविरुद्ध सडक संघर्षमै उत्रिएर ओलीलाई ठेगान लगाउनुपर्ने पक्षमा छ । तर पार्टीका माउ देउवा नै आन्दोलन नभएर निर्वाचनमा जानुपर्ने लाइनमा खुलेका छन् । यसले कांग्रेसमा तरंग सिर्जना गरेको छ ।

 

देउवाको अभिव्यक्तिपछि देउवाइतरसँग अब दुई विकल्प बाँकी छन् । पहिलो– प्रचण्ड–माधव नेपाल समूहसँग देउवाको सहभागिताबिनै आन्दोलनमा होमिने । अर्को– सभापतिकै लाइनअनुसार निर्वाचनमा सहभागी हुने । तर देउवाको सहभागिताबिनाको आन्दोलनको अर्थ नहुने र कथंकदाचित सहभागी बनेको अवस्थामा पनि पार्टीमा धाँजा पर्ने भएकाले कांग्रेस देउवाकै लाइनअनुसार अघि बढ्ने सम्भावना प्रवल देखिएको जानकारहरू बताउँछन् ।

 

‘लोकलाजका लागि आन्दोलन गरेजस्तो गर्ने तर वैशाखमा निर्वाचन भएको अवस्थामा सहभागी हुने नीति अब कांग्रेसले लिन्छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने । यही अवस्थामा निर्वाचन हुँदा कांग्रेसको अवस्था सुदृढ हुने भएकाले पनि कांग्रेसीलाई निर्वाचनले बढी लोभ्याएको ती नेताको भनाइ छ ।

 

प्रचण्ड–माधव हिस्स

 

केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्ड–माधव समूहले विपक्षीको साथ खोजेका छन् । यसका लागि उनीहरूले पटक पटक सर्वदलीय बैठक नै गरिसकेका छन् ।

 

अहिलेका दलमध्ये उसले सबैभन्दा भरोसा कांग्रेससँग राखेको देखिन्छ । कांग्रेससँग मिलेर अघि बढ्दा ओलीलाई किनारा लगाउने सहज हुने हिसाब प्रचण्ड माधव समूहको देखिन्छ । तर ओलीप्रति सुरुदेखि नै सफ्ट कर्नर राख्दै आइरहेका देउवा ओलीले घोषणा गरेको निर्वाचनको पक्षमा खुलेपछि अब हुने सडक संघर्ष उपलब्धिमूलक नबन्ने र ओली पक्ष प्रचण्ड माधवको तुलनामा बलियो हुने लख काट्न थालिएको छ । 

प्रतिकृया दिनुहोस