• बिहीबार-बैशाख-६-२०८१

पार्टी फुटको साक्षी बस्न कतै जान्नँ : वामदेव गौतम 

 

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली र प्रचण्ड–माधव समूह पार्टी फुटतर्फ अग्रसर भएकाले दुवैको भेलामा सहभागी नहुने बताएका छन् । 
 

संसद् विघटनको विरोधमा विज्ञप्ति जारी गरे पनि कुनै पनि पक्षमा  नखुलेका गौतमले कुनै पनि पक्षको भेलामा सहभागी नहुने बताएका हुन् । उनले अन्तिमसम्म एकताको पक्षमा लागिरहने जनाएका छन् । 
 

‘कमरेड केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरूले गर्नुभएको भेला नै किन नहोस् । ती सबै पार्टी फुटाउनका लागि भइरहेका छन्,’ गौतमले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म फुटको साक्षी बस्न सक्दिनँ ।’ 
 

आफू पार्टी एकता गराउनेमध्येको एक भएकाले पार्टी एकता बचाउन अन्तिमसम्म लागिरहने उनले बताएका छन् । 
 

मन्त्रिपरिषद्ले संसद् भंग र मध्यावधि निर्वाचनको सिफारिस गरेपछि राष्ट्रपतिलाई फोनमार्फत त्यस्तो सिफारिस स्वीकृत नगर्न आफूले आग्रह गर्न खोजे पनि  त्यो सम्भव नभएको र राष्ट्रपतिका प्रमुख स्वकीय सचिवमार्फत त्यस्तो सन्देश पठाएको पनि उनले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस