• शनिबार-बैशाख-८-२०८१

ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ


लन्डन।युरोपेली संघ (ईयू)सँग ब्रेक्जिट पछिको व्यापार सम्झौतामा पुग्न चाहेको बेलायत सरकारले आइतबार बताएको छ ।

 

बेलायतले सम्झौताको लागि गत हप्तासम्मका लागि ईयू शिखर सम्मेलनको म्याद थपेको थियो । तर प्रधानमन्त्री बोरिस जोनसनले ईयूले राखेका शर्तमा नै सम्झौता गर्न बेलायत तयार नभएको बरु सम्झौताहीन अवस्थामा ब्रेक्जिटका लागि तयार हुने बताउनुभएको थियो । 

 

यद्यपि वरिष्ठ मन्त्री माइकल गोभले आइतबार आफू अझै पनि ईयूसँग व्यापार सम्झौताका लागि आशावादी रहेको बताउनुभयो । उहाँले बेलायती एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सम्झौताका लागि ढोका ‘खुला’ रहन्छ तर यसका लागि ईयूले आफ्नो अडान बदल्नु पर्ने बताउनुभयो । 

 

दुवै पक्ष निष्पक्ष प्रतिस्पर्धाका नियमहरूमा असहमत छन्, यी नियमहरू कसरी लागू हुन्छन् र युरोपेली युनियन सदस्य राष्ट्रले बेलायतको पानीमा माछा मार्ने कति पहुँच पाउँछन् भन्ने विषयले सम्झौता हुने वा नहुने कुराको निर्धारण गर्ने देखिएको छ । 

 

बेलायतले आफ्नो पानीमाथि सार्वभौमिकता पुनःस्थापित गर्न चाहन्छ र यस सम्झौतामा बेलायतले ईयू–क्यानडाबीच भएको जस्तो साधारण व्यापार सम्झौता चाहन्छ । ईयूले बेलायतको अवस्था क्यानाडाभन्दा बिल्कुलै फरक रहेको बताउँदै आएको छ ।

 

गोभले स्काई न्यूजसँग भन्नुभयो, “म सम्झौताको पक्षमा छु र एउटा निष्कर्षमा पुग्न चाहन्छु तर त्यसो हुनको लागि दुवै पक्षले केही छोड्न र मध्यमबाटो अवलम्वन गर्न आवश्यक छ । ईयूले अहिले त्यस्तो गरिरहेको छैन ।” सम्झौतामा पुग्न उनीहरू (ईयू–सदस्य राष्ट्रहरू) गम्भीर नबनेको उहाँको आरोप छ ।

 

युरोपेली आयोगका प्रमुख वार्ताकार मिशेल बार्नियर र उहाँका बेलायती समकक्षी डेभिड फ्रस्ट सोमबार वार्ताको संरचनाको बारेमा छलफल गर्ने कार्यक्रम रहेको ईयुले उल्लेख गरेको छ ।“बल उहाँको हातमा छ,” गोभले बार्नियरप्रति सङ्केत गर्दै भन्नुभयो । 

 

सम्झौता गर्न असफल भएमा बेलायत र युरोप उच्च कर र कोटाहरूको साथ विश्व व्यापार संगठनको शर्तमा फर्किनेछन् जसले महामारी पहिले नै कमजोर अर्थतन्त्रलाई थप सङ्कटतर्फ धकेल्ने सम्भावना छ ।  (रासस÷एएफपी) 
 

प्रतिकृया दिनुहोस