• शुक्रबार-बैशाख-१४-२०८१

कांग्रेसमा सिटौलाको भूमिका फेरि शंकास्पद 

 


काठमाडौं । पार्टीको चौधौं महाधिवेशन २०७७ फागुन ७ गते आउन ६ महिना मात्रै बाँकी हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेसम्म गठन नगरेका विभिन्न समिति तथा विभागमा फटाफट पदाधिकारी मनोनित गर्न थालेका छन् । सभापति देउवाले यसरी पार्टीका विभिन्न विभाग र समितिमा फटाफट पदाधिकारी मनोनयन गरेको प्रति संस्थापन इतर पक्षका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले आपत्ति जनाउँदै आएका छन् ।

 

देउवाको पछिल्लो कदम विधान र निर्वाचन आचारसंहिता विपरीत रहेको ठहर गर्दै उनीहरुले लिखित रुपमा नै आपत्ति प्रकट गरेका छन् । तर सभापति देउवाले यसरी महाधिवेशन नजिकिंदै आइराखेको अवस्थामा फटाफट गरेको मनोनयनप्रति भने तेस्रो गुटको नेतृत्व गर्दै आएका कृष्ण सिटौलाले कुनै प्रतिक्रिया जनाएका छैनन् । सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै र आलोचना गर्दै संस्थापन इतर पक्षस“ग केही समय यताबाट सिटौला नजिक हुन पुगेका छन् ।  


तर आगामी फागुन ७ गतेबाट हुने चौधौ महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि हुने निर्वाचनलाई प्रभावित पार्न सभापति देउवाले यसरी महाधिवेशन नजिक आइराखेको अवस्थामा समिति र संगठनका पदाधिकारीहरु मनोनित गरेको भनेर संस्थापना इतर पक्षले कडा आलोचना गरिरह“दा सिटौलाले भने अर्थपूर्ण मौनताको भूमिका निर्वाह गरिराखेका छन् । 


तेह्रौं महाधिवेशनमा जस्तै सभापति चयनको मामिलामा आगामी मंसिरमा हुने चौधौं महाधिवेशनमा पनि आफ्नो भूमिका निर्णायक बनाउनका लागि र आफूले नेतृत्व गरेको गुटलाई छिन्नभिन्न हुनबाट जोगाउनका लागि नेता सिटौला अहिले मौन बस्न थालेका हुन् भनिन्छ ।

 

सिटौलाले नेतृत्व गरेको कांग्रेसी गुटमा गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त झा र शिव हुमागाईंलाई ५ प्रमुख खम्बा मानिन्छन् । सिटौला गुटका यी ५ खम्बामध्ये ३ खम्बा गगन थापा, प्रदीप पौडेल र उमाकान्त झा संस्थापन इतर पक्षस“ग निकट छन् भने शिव हुमागाईं र भीमसेनदास प्रधान सभापति देउवासँग निकट छन् । 


यो स्थितिमा सिटौलाले अहिले नै आफ्नो भूमिका स्पष्ट पारे भने उनका यी ५ खम्बा उनलाई छाडेर आफूनिकट संस्थापना इतर पक्ष र सभापति पक्षमा जाने खतरा देखेर नै सिटौला अहिले मौन बसेका हुन् भन्ने विश्लेषण गरिदैछ ।

 

सिटौला तेह्रौं महाधिवेशनमा जस्तै आफूले पनि सभापतिमा उम्मेद्वारी दिने कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएको स्थितिमा दोस्रो चरणमा हुने निर्वाचनमा आफ्नो भूमिका महत्वपूर्ण हुने हुँदा त्यतिखेर ठूलै बार्गेनिङ गरेर राजनीतिक उपलब्धि प्राप्त गर्ने दाउमा  रहेको चर्चा कांग्रेसमा सुरु भएको छ । 


 यसैगरी यो गुटको प्रमुख खम्बा गगन थापाको कार्ययोजना भने चौधौ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित हुने र पन्ध्रौं महाधिवेशनमा सभापतिमा निर्वाचित भएर कांग्रेसको नेतृत्व गर्ने रहेकाले उनले पनि सभापतिमा उम्मेदवारी दिन्छु भन्न थालेका छन् ।

 

त्यसकारण महामन्त्रीको उम्मेदवार हुने प्रस्ताव आएको खण्डमा गगन थापाले सिटौलाको साथ छाड्ने सम्भावना बलियो रहेको उनी निकट कांगे्रसका युवा नेताहरु बताउँछन् ।
 

प्रतिकृया दिनुहोस