• शुक्रबार-चैत-१६-२०८०

सुनील थापा पार्टी प्रवेश गर्दा कांग्रेसमा असन्तुष्टि 

 

काठमाडौं । निर्वासन जीवन परित्याग गरी वि.सं. ०३३ पुस १६ गते मेलमिलापको नीति बोकेर बीपी कोइराला स्वदेश फर्किएको १ महिनापछि पोखरामा पूर्वपञ्चहरूले सभा आयोजना गरेका थिए । उक्त सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले  बीपीलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए । 

 

सूर्यबहादुरले माग गरेअनुसार बीपीलाई फाँसीको सजाय भएन । बरु, स्वदेश फर्किएका उनले गोडमेल गरेर कांग्रेस हुर्काए । कतिपयले भन्ने गरेका छन्, कांग्रेसी नेता अहिले तिनै बीपीेको लगानीको ब्याज खाइरहेका छन् । 

 

रोचक के छ भने कुनै बेला बीपीलाई फाँसीको सजाय माग गर्ने उनै सूर्यबहादुर थापापुत्र सुनीलसमेत कांग्रेसमा ओत लाग्न आइपुगेका छन् । राजीतिक विचार र दर्शन कसैको पेवा नहुने भएकाले यो अनौठो परिघटना  भए पनि अनैतिक र अस्वभाविक भने होइन ।

 

तर सुनीलको पार्टी प्रवेशलाई कतिपयले भने रुचाएका छैनन् । खासगरी कांग्रेसका संस्थापनइतर सुनीललगायत राप्रपाका नेताको प्रवेशबाट असन्तुष्ट छन् । सूर्यबहादुर थापापुत्रलाई पार्टी प्रवेश गराएकोमा भन्दा पनि समय छनोटमा उनीहरूको गुनासो छ । 

 

कांग्रेस नेता प्रकाशमान सिंहले मुखै फोरेर सुनील थापालाई गलत समयमा पार्टी प्रवेश गराइएको बताएका छन् । आगामी महाधिवेशनलाई प्रभावित पार्न आफूअनुकूलका व्यक्तिलाई पार्टी प्रवेश गराइएको उनको आशंका छन् । 

 

यही क्रममा कांग्रेसका असन्तुष्ट पक्षको छुट्टै बैठक बसेको छ । बैठकले पार्टीका पुराना नेतालाई कारबाही गरेर अन्य दलबाट गराइएको प्रवेश गलत भएको निष्कर्ष निकालेको छ । प्रवेश गराउनु उचित भए पनि छनोट गरिएको समय उपयुक्त नभएको ठम्याइ उनीहरूको छ । 

 

सुनीललाई सहमहामन्त्री वचन पार्टी सभापति शेरबहादुर देउवाले दिएको बताइएको छ । देउवाले यस्तो वचन दिए पनि सहज भने छैन । किनभने, पार्टीमा पर्याप्त छलफलबिनै देउवाले पद बाँडेकाले अन्य नेताहरूले यसमा असहमति जनाइरहेका छन् । 


 

प्रतिकृया दिनुहोस