• शुक्रबार-बैशाख-१४-२०८१

भ्रष्टाचार भएको भन्दै  खगेन्द्र नवजीवन केन्द्रमा तालाबन्दी

 


काठमाडौँ, १२ असार (रासस) : गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार भएको भन्दै एक हप्तादेखि तालाबन्दी छ । 

 

शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालीम एवं व्यावसायिक सीपको विकास गर्ने उद्देश्यले विसं २०२५ मा खगेन्द्रबहादुर बस्नेतले स्थापना गर्नुभएको हो ।

 

अपाङ्गता भएकालाई जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले स्थापना भएको केन्द्रमा भ्रष्टाचारका घटना बढ्न थालेपछि तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक रामप्रसाद कोइरालाले बताउनुभयो ।

 

संस्थालाई सरकारले शिक्षा र अपाङ्गता पुनःस्थापनाका लागि अनुदान दिँदै आएको छ । गुठी संस्थानले समेत केन्द्रका लागि जग्गा उपलब्ध गराएको छ । यसरी जम्मा भएको अनुदान एवं भौतिक सम्पत्तिमा सङ्घका पूर्वअध्यक्ष मोहन महर्जनलगायत कार्यसमितिका पदाधिकारी, लेखा अधिकृत गोपाल गौतम, स्टोरकिपर किशोर पाण्डेलगायतको मिलेमतोमा अनियमितता भएको उहाँले बताउनुभयो ।

 

संस्था सञ्चालनसम्बन्धी सामान्य नियमको समेत पालना नगरी भवन अन्य संस्थालाई कार्यक्रम सञ्चालन गर्न दिने, सङ्घको नाममा रहेको कित्ता नं. १, १७ र १८ को करोडौँ रुपैयाँ पर्ने जग्गा पर्खाल बाहिर पारी मौखिक रुपमा भवन बनाउन दिएको सङ्घर्ष समितिको आरोप छ । तीन कित्ताको जग्गा गत कात्तिकमा केन्द्रको पर्खाल बाहिर पारिएको हो । जहाँ ग्रील पसल सञ्चालनमा छ । 

 

घर भाडाबाट आउने लाखौँ रुपैयाँ संस्थाका पदाधिकारीले घुमघाम गरेर सिध्याएको आरोप लगाइएको छ । घरभाडाको रकम लेखा अधिकृत गौतम, स्टोर किपर पाण्डेले संस्थाको खातामा दाखिला नगरी आफ्नै खातामा राख्ने गरेको प्रमाणसमेत फेला पारिएको समितिले जनाएको छ । 

 

सरकारले विशेष शिक्षा परिषद्बाट शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि वार्षिक रु ७० लाखसम्म उपलब्ध गराउँछ । केन्द्रले सञ्चालन गरेको विशेष विद्यालयमा २०० विद्यार्थी अध्ययन गरिरहेकामा ३५ जनामात्र शारीरिक अपाङ्गता भएका छन् । ती विद्यार्थीका लागिसमेत राम्रो व्यवस्था हुन नसकेको जनाइएको छ ।

 

सङ्घले सञ्चालन गरेको नेपाल अर्थोपेडिक अस्पतालमा पनि अनियमितता भएको सङ्घर्ष समितिको आरोप छ । अस्पताल सञ्चालन समितिको अध्यक्षसमेत रहनुभएका बेला महर्जनले सङ्घको अपाङ्ग कल्याणकारी कोषबाट रु ४८ लाख लिई संस्थाको नाममा गाडी किनी व्यक्तिगत रुपमा प्रयोग गर्नुभएको आरोप लगाइएको छ । 

 

संस्थामा विवाद भएपछि नगर प्रमुख सन्तोष चालिसेको संयोजकत्वमा समन्वय समिति गठन भएको थियो । केन्द्रमा आएको विवाद समाधानका लागि प्रयास गरेको उहाँले बताउनुभयो । प्रयास गरिरहेकै बेला अदालतबाट समन्वय समितिलाई कुनै काम नगर्नु भनी ‘स्टे अर्डर’ आएकाले पछि केही नगरेको नगरपालिकाले जनाएको छ । विद्यालय भने नगरपालिकाअन्तर्गत नै सञ्चालनमा रहेको छ । 

 

वडा नं. ६ का अध्यक्ष रमेश अर्यालको संयोजकत्वमा गठन भएको छानबिन समितिले पनि अनियमितता भएको ठहर गरेको थियो । केन्द्रको रु २५ लाख सहकारीमा राखी बढी ब्याज लिएर संस्थाको आयमा भने कम देखाएको तथ्य छानबिनका क्रममा भेटिएको अध्यक्ष अर्यालले राससलाई जानकारी दिनुभयो । यस विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

 

केन्द्रका अध्यक्ष धनजुजु श्रेष्ठ आफू अध्यक्ष हुनुभन्दा अघिको गतिविधिलाई लिएर अहिले तालाबन्दी भएको बताउनुहुन्छ । संस्थामा गलत क्रियाकलाप गर्नेलाई कानुनी कारवाहीको दायरमा ल्याउन आफू तयार रहेको उल्लेख गर्नुहुँदै उहाँले सङ्घर्ष समितिले तालाबन्दी खोल्नुपर्ने बताउनुभयो ।

 

वार्ताका माध्यमबाट समस्या समाधानका लागि आफूले पहल गरिरहेको उहाँले बताउनुभयो । केन्द्रमा अनियमितता भएको भन्दै पटक पटक तालाबन्दी गरी विरोध भए पनि समस्या समाधान हुन सकेको छैन ।
–––

प्रतिकृया दिनुहोस